शंकर केसी
सल्यान, चैत १५ गते । चालू आर्थिक वर्ष २०८२–०८३ मा सल्यानमा २० हजार ९५० मेट्रिकटन अदुवा उत्पादन भएको छ । पछिल्लो दुई वर्षयता अदुवाले राम्रो मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित बनेका छन् । कृषि विकास कार्यालयका अनुसार जिल्लामा एक हजार ४२० हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा सोही क्षेत्रफलबाट २० हजार ९०९ मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष उत्पादन बढेको हो ।
बजारमा मूल्य सुधारसँगै किसानको आकर्षण बढेको छ । यस वर्ष अदुवा प्रतिकिलो ४० देखि ५० रुपियाँसम्ममा बिक्री भएको किसानहरुले जनाएका छन् । बागचौर नगरपालिका–७ का किसान दीपेश डिसीले गत वर्ष ३५ क्विन्टल बिक्री गरेको अदुवा यस वर्ष ५० क्विन्टल पुगेको बताउनुभयो । “मूल्य केही स्थिर हुन थालेपछि खेती बढाउने हिम्मत आएको छ,” उहाँले भन्नुभयो, “तर मूल्य अझै भरपर्दो छैन ।” बिउ नछानेको अदुवा प्रतिक्विन्टल पाँच हजार ५०० र बिउ छानेको चार हजार ५०० रुपियाँ क्विन्टल बिक्री गरेको डिसीको भनाइ छ । उहाँले अबको खेतिमा ४५ डोको अदुवाको बिउ लगाउने तयारी रहेको बताउनुभयो ।
विगतमा उत्पादन बढी हुँदा मूल्य घट्ने समस्या रहे पनि पछिल्लो दुई वर्षदेखि भने बजार र मूल्य दुवैमा सुधार आएको किसानहरू बताउँछन् । छत्रेश्वरी गाउँपालिका–२ का डम्बर महरले पनि अदुवाबाट राम्रो उत्पादन पाएको बताउनुभयो । उहाँले एक क्विन्टल बिउबाट छ क्विन्टलसम्म उत्पादन भएको जनाउँदै आगामी अब खेती विस्तार गर्ने तयारी गरेको बताउनुभयो ।
सल्यानमा उत्पादित अदुवा दाङ, सुर्खेत, नेपालगन्ज हुँदै भारतसम्म निर्यात हुँदै आएको छ । बजार सुनिश्चितता कायम रहे अदुवा खेती अझै विस्तार हुने कृषि प्राविधिकहरूको भनाइ छ ।