नवराज नेपाली
बागलुङ (गलकोट), चैत १५ गते । हार्भेस्टिङ अस्ट्रेलिया कालिका कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ऐतिहासिक चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षण भएको पुरुष भलिबलअन्तर्गत भएको सेमिफाइनल खेलमा गौंडाकोट युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै घले हार्भेस्टिङ फाइनलमा पुगेको हो ।
राष्ट्रिय खलाडी रेशम छन्त्यालको कप्तानीमा रहेको घले हार्भेस्टिङले ३—० को सोझो सेटमा जित निकाल्दै उपाधि होडमा एक कदम नजिक पुगेको हो ।
अधिकांस नेपाल पुलिस क्लबबाट व्यवसायिक खेल खेल्ने खेलाडीहरुले भरिएको घले हार्भेस्टिङले पहिलो सेट २५—११ दोस्रो सेट २५—१६ र तेस्रो सेट २५—१६ ले जित्दै फाइनलको यात्रा तय गरेको हो ।
आइतबार सिद्धार्थ चस्मा घर बागलुङ र आदित्य होल्डिङ तित्याङको बिच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग घले हार्भेस्टिको उपाधि भिडन्त हुनेछ । घले हार्भेस्टिङको टिममा कोसी प्रदेश टिमका क्याप्टेन विष्णु बस्नेत समेत सहभागी छन् ।
सिद्धार्थ चस्मा घरले गण्डकी प्रदेशको सेट टिम उतारेको छ भने आदित्य होल्डिङ तित्याङमा एपिएफका सुरेन्द्र केसी लगायतका खेलाडी सहभागी छन् ।
सेमिफाइनल जित्ने टिम उपाधिका लागि घले हार्भेस्टिङसँग प्रतिस्पर्धा गर्दा पराजित टिमले गौंडाकोट भलिबलसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । कालिका कप खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
द्वितीय हुनेले नगद एक लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद पाँच हजारले पुरस्कृत गरिनेछ ।महिलातर्फको उपाधिका लागि शान्ता मावि र इलाइट भलिबल भिड्ने चैत्राष्टमी मेलामा आयोजना गरिएको खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शान्ता मावि पोखरा र इलाइट भलिबल एकेडेमी पोखराबिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार भएको सेमिफाइनल खेलमा दुबै टिमले आ—आफ्नो प्रतिस्पर्धीलाई पन्छाउँदै उपाधी भिडन्त पक्का गरेका हुन् । महिला भलिबलको पहिलो सेमिफाईनल खेलमा शान्ता माविले सृष्टि फर्निचर धौलागिरि विरेन्द्र माविलाई ३—२ ले पन्छाउँदै फाइनल पुग्यो ।
२—० सेटमा पछि परेको अवस्था उल्ट्याउँदै शान्ता फाइनल पुगेका हो । शान्ताले पहिलो सेट २५—१५ र दोस्रो सेट २६—२४ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५—११ ले जित हात पारेको शान्ता चौथो सेटमा पनि २५—२२ ले अगाडि रह्यो । २—० को अवस्थाबाट २—२ बराबरी सेटको अवस्थामा खेल पुर्याएको शान्ताले निर्णायक पाँचौं सेट १५—१० ले जित्दै फाइनल पुगेको हो ।
महिला भलिबलको दोस्रो सेमिफाइनल खेलमा भने इलाइट भलिबल एकेडेमी पोखराले जैमिनी नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै शान्ता माविसँग उपाधि भिडन्त पक्का गर्यो । इलाइट भलिबलले पहिलो सेट २५—१६, दोस्रो सेट२५—११ र तेस्रो सेट २५—२१ ले जित्न सफल भयो । सेमिफाईनलमा पराजित भएका जैमिनी नगरपालिका र सृष्टि फर्निचार धवि माविको बिचमा तेस्रो स्थानका लागि आइतबार प्रतिस्पर्धा हुनेछ ।यस अघि लिग चरणमा भएको खेलमा इलाईट भलिबल शान्ता मावि र बडिगाड गाउँपालिकालाई पराजित गर्दै ग्रुप टप गरेर सेमिफाइनल पुग्दा शान्ता मावि गु्रपमा दोस्रो हुँदै सेमिफाइनल पुगेको थियो । धवि माविले जैमिनी नगरपालिका र पञ्चमुल पिउने पानीलाई पराजित गरेर ग्रुप टप गर्दा जैमिनी दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो । ग्रुप ए को सेमिफाईनलिष्ट उपाधिका भिडन्त गर्दा ग्रुप बी का सेमिफाइनलिष्ट भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र पाउने भलिबल प्रतियोगिताका संयोजक अर्जुन खड्काले जानकारी दिए । महिला भलिबलमा पनि विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजारका दरले पुरस्कृत खेल संयोजक अर्जनु खड्काले बताउनुभयो ।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा भैरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनका लागि जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ ।
शनिबार मेला सक्ने आयोजकको योजना रहे पनि भलिबल खेल बाँकी रहेको मेला एक दिन लम्बिएको मेला आयोजक मूल समिति संयोजक भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।