• १३ जेठ २०८१, आइतबार

म्यादी प्रहरीलाई सुरक्षा निकायका आगामी भर्नामा प्रथमिकतामा राख्न गृहमन्त्री खाणको निर्देशन

blog

काठमाडौँ, वैशाख १७ गते । गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले उपलब्ध स्रोत र साधनको उपयोग गरेर सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । 

‘स्थानीय तह निर्वाचन सम्बन्धमा’काे सुरक्षा गोष्ठीमा उहाँले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो । 

‘निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभव प्राप्त हुन्छन्,’ गृहमन्त्री खाँणले भन्नुभयो, ‘आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरुप भएका भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला ।’

 त्यस्तै गृहमन्त्री खाणले निर्वाचन सम्पन्न हुने बेलासम्म देखिने सबै प्रकारका चुनौति उपलब्ध स्रोत र साधन उपयोग गरेर सामना गर्न तयारी अवस्थामा रहन समेत निर्देशन दिनुभयो ।

उहाँले सीमित स्रोत साधन उपयोग गरेर अहिलेसम्म जिल्ला जिल्लामा भएको निर्वाचनको सुरक्षा सम्बन्धमा भएको तयारी प्रशंसायोग्य रहेको पनि बताउनु भयो । 

गृहसचिव पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य ध्यय भएकाले त्यसै अनुरुप काम गर्न निर्देशन दिनुभयो । सबै जिल्लाका प्रजिअ र सुरक्षा समितिका रहेका पदाधिकारीहरूले सीमित स्रोत र साधनलाई उपयोग गरेर कुशलता प्रदान गरी उदाहरणयोग्य काम गर्ने अपेक्ष मन्त्रालयले राखेको गृहसचिव पाण्डेले बताउनुभयो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठी सम्पन्न भएको छ । 

गृह मन्त्रालयमा भएको गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, तथा गृह मन्त्रालयका सहसचिवहरू फणिन्द्रमणि पोखरेल, टेकबहादुर केसी, प्रदीप कोइराला भौतिकरूपमा सहभागी हुनहुन्थ्यो । 

गोष्ठीमा निर्वाचन सुरक्षा सम्बन्धमा देखापरेका चुनौती र ती चुनौतीको समाधान कसरी गरेर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।