• ७ पुस २०८१, आइतबार

जस्ता प्वाल पर्ने गरी परेकाे असिनाले बालीनाली नष्ट

blog

सङ्खुवासभा, वैशाख १७ गते । शुक्रबार राति चिचिला गाउँपालिकाको विभिन्न स्थानमा परेको असिनाले घरको छानोमा क्षति पुर्याएको छ । साे असिनाका कारण बालीनाली नष्ट हुनुकाे साथै चौपाया समेत मारिएका छन्। 

हावा हुरी सहितको असिनाले चिचिला गाउँपालिका–४ को कप्ताने, सिरुबारी, धजे, मत्स्यपोखरी लगायतको क्षेत्रमा क्षति पुर्याएको छ । त्यस्तै वडा नम्बर ५ को देउराली, माङ्मायामा लगायतको क्षेत्रमा पनि क्षति पुर्याएको छ । शुक्रबार साँझ करिव ३० मिनेटसम्म परेको असिनाले घरमा लगाएको जस्ताको छानोमा क्षति पुगेको छ । असिनाले कप्ताने, देउराली, माङ्माया र धजेमा घरको छानोमा क्षति पुर्याएको हो । पुरानो जस्ताको अधिकांश छानो दुलो परेको छ भने नयाँ छानो कुच्चिएको छ । त्यस क्षेत्रमा रहेको सवै घरको सोलारको प्यानल, डिसहोमको एन्टेना लगायतका सामग्रीहरु पुर्ण रुपमा क्षति भएको हो ।



चिचिला गाउँपालिका ४ को मत्स्यपोखरी गाउँमा असिनाले कुटेर २ वटा भेडा मरेको छ भने दर्जन भन्दा बढी गाई भैंसी घाईते भएको चिचिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । मत्स्यपोखरी गाउँमा स्थानीय राजधन गुरुङको त्रिपालको गोठमा बाँधेर राखेको भेडा असिनाले मारेको अधिकृत राईले जानकारी दिनुभयो । गोठ बाहिर राखेको तथा कमजोर छानो भएको गोठको गाई भैँसी घाईते भएको राईले जानकारी दिनुभयो । 

असिनाले गोड्ने बेला भएको मकैलाई पुर्ण रुपमा नष्ट गरेको छ । त्यस क्षेत्रमा लगाईने पाखेधान (ताकमारु) धानको बिउ समेत नष्ट गरेको छ । जेठमा रोपिने पाखे धानको उम्रिदै गरेको बिउलाई असिनाले कुटेर नष्ठ बनाएको हो । त्यस क्षेत्रमा प्रमुख नगदे बालीको रुपमा रहेको अलैचीलाई पनि नष्ट गरेको छ भने लसुन, प्याज, र खोर्सानी बोटलाई पनि नष्ट गरेको छ ।

स्थानीयको अनुसार यस क्षेत्रमा यस अघि पनि असिना पर्ने गरेको थियो । तर यस पटक निक्कै ठुलो आकार लामो समय परेकोले धेरै क्षति गरेको स्थानीय बताउछन् । यस पटकको जस्तो असिना परेको थाहा नभएको चिचिला ५ माङ्मायाका ८२ बर्षीय नन्दकुमार गुरुङले बताउनुभयो । असिनाले लागेर  रुखहरुको हाँगा नै भाचिएर भुई भरी झरेको छ भने रुखको बोक्राहरु उप्किएका छन् । असिना राति परेकोले मानवीय क्षति भने हुन नपाएको चिचिला गाउँपालिकाको पुर्व अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनुभयो । 



असिनाको क्षति सम्बन्धी गाउँपालिकाले अनुगमन गरि क्षतिको बिवरण संकलन सुरु गरेको गाउँपालिकाले जनाएको छ । नेपाल प्रहरीको प्रतिनिधी, जनप्रतिनिधी र कर्मचारीहरु घटना स्थलमा नै पुगेर अनुगमन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । घटनाको बिवरण संकलन गरिसकेपछि असिना पिडितहरुका लागि राहत प्याकेज ल्याईने वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष सिर्जमान राईले जानकारी दिनुभयो ।

चिचिला गाउँपालिकामा गत कात्तिक ८ गते पनि असिना परेपछि करिव आठ सय रोपनीमा लगाएको धान नष्ट गरेको थियो । उक्त असिना पिडितहरुलाई गाउँकपालिका खाद्यन्न, बिउँविजन लगायतको राहत उपलब्ध गराएको छ । त्यस्तै गरी सोलुखुम्बुको सोताङ लगायत विभिन्न क्षेत्रमा परेको असिनाले पनि नगदेवाली आलु र मकैमा क्षति पुर्याएको छ । 



Author

ध्यान कुलुङ