• २० असार २०८१, बिहिबार

युवालाई फर्निचर निर्माण तालिम

blog

हुम्ला समाचारदाता

हुम्ला, असार १८ गते । बेरोजगार युवालाई फर्निचर निर्माण गर्ने तालिम प्रदान गरिएको छ । सिप सिकाएर युवालाई स्वरोजगार बनाउन उक्त तालिम प्रदान गरिएको हो । 

तालिमका सहभागी हिक्मत बोहराले फर्निचर निर्माणसम्बन्धी सिप विकास तालिम प्राप्त गरेको बताउनुभयो । दक्ष सहजकर्तामार्फत तालिम लिएका कारण उहाँले आफू छ प्रकारका सामग्री निर्माण गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो । 

उहाँले आफूले तालिम लिएकै फार्निचर उद्योगमा कामसमेत पाएको बताउनुभयो । अर्का सहभागी सोन बोहराले तालिम निकै उपयोगी र रोजगारी पाउन सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । सदरमुकाम सिमकोटमा मात्र चार वटा फर्निचर उद्योग रहेका छन् । 

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा प्रमुख प्रदीप रेग्मीले चालु आर्थिक वर्षको सिप विकास कार्यक्रम अन्तर्गत १० जना बेरोजगार युवालाई फर्निचर निर्माणसम्बन्धी ४५ दिन तालिम दिइएको बताउनुभयो । तालिम अवधिमा सहभागीले टेबल, चोक्छे (बस्ने), खाट, बेन्च, बेलना र पिर्का निर्माण गरेको उहाँले बताउनुभयो ।  तत्काल रोजगारी पाउनका लागि फर्निचर तालिम निकै उपयोगी देखिएकै कारण अन्य सिप विकासभन्दा फर्निचरको तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । 

तालिम सञ्चालनमा लागि कार्यालयले पाँच लाख रुपियाँ खर्च गरेको छ । जुन कच्चा पदार्थ खरिद, सहजकर्ता खर्च र सहभागीको खाजा खर्चमा प्रयोग भएको हो ।तालिमका सबै सहभागीलाई रन्दा, करौती, घन, छिना, ह्याम्मर, स्केललगायतका १० हजारका सामग्री पनि प्रदान गरिएको छ ।