• १७ असार २०८१, सोमबार

सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना चाप

blog

नवराज कट्टेल

विराटनगर, वैशाख १७ गते । भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अध्ययन तथा अध्यापनको वातावरण निर्माण गर्न सकिए सामुदायिक विद्यालयमा विद्यार्थीको कमी हुँदैन भन्ने उदाहरण विराटनगरको पोखरीया माध्यमिक विद्यालय बनेको छ ।

विराटनगर–३ स्थित पोखरीया माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री सिकाइ अवलम्बन गरेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले शुक्रबार कक्षा ६, ७, ८ र ९ कक्षामा भर्ना आह्वान गरेको थियो । यद्यपि एक हजार ४७० जना विद्यार्थीले भर्ना परीक्षामा सामेल भएका छन् । विद्यालयका प्राचार्य खेमराज भट्टराईका अनुसार चार तहका लागि ३६५ कोटा मात्रै छ । 

विद्यालयको तथ्याङ्कअनुसार कक्षा ६, ७ र ८ मा ३०० जना विद्यार्थी भर्ना गरिने छ । जसमा कक्षा ६ मा ३०७, कक्षा ८ मा ३७८ र कक्षा ८ मा ५०१ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका छन् । ६५ जना विद्यार्थी भर्ना लिनका लागि लिइएको कक्षा ९ मा २८४ जनाले प्रवेश परीक्षा लेखेका हुन् । 

“परीक्षामा सामेल भएका विद्यार्थीमध्ये २५ प्रतिशत मात्रै भर्ना हुने गरी उत्तिर्ण गर्नुपर्नेछ”, प्राचार्य भट्टराईले भन्नुभयो । “सर्वोत्कृष्ट नम्बर ल्याउने विद्यार्थी मात्रै भर्ना लिनुपर्ने बाध्यता छ ।” 

विद्यालयको भौतिक संरचनाका कारण सरकारी विद्यालयमा भर्ना हुन आउने सबै विद्यार्थीलाई पठनपाठनको अवसर दिन नसक्ने अवस्था रहेको प्राचार्य भट्टराईको गुनासो छ । विद्यालयको नयाँ संरचना निर्माणका लागि सङ्घीय सरकारको विद्यालय सुधार योजनाअन्तर्गत १२ करोड रुपियाँ बजेट प्राप्त भएको थियो तर विराटनगर महानगरपालिकाले उपलब्ध गराएको सार्वजनिक (गुठी)को जग्गामा भवन निर्माण सुरु गरेपछि अवरोध भएको छ । 

कक्षा ६ देखि ९ सम्म शुक्रबार प्रवेश परीक्षा लिएको विद्यालयले कक्षा १–५ सहित कक्षा ९ को प्राविधिक धारका लागि आगामी १९ गते अर्को परीक्षा लिने भएको छ । यसका लागि ७१७ जना विद्यार्थीले फाराम बुझाइसकेका छन् । अझै फाराम बुझ्ने विद्यार्थीको सङ्ख्या दैनिक बढ्दो छ । पोखरीयामा कम्प्युुटर इन्जिनियरिङतर्फको प्राविधिक धारमा ४८ जना विद्यार्थी भर्ना गर्नका लागि परीक्षा लिइने भएको छ । बिहीबारसम्म ११७ जनाले यस समूहको फाराम बुझेका हुन् । 

विराटनगरका निजीस्तरका ठूला विद्यालयमा अध्ययन गरेकादेखि सरकारी विद्यालयमै अध्ययन गर्ने अन्य विद्यालयका विद्यार्थी पोखरीयालाई रोजेर भर्ना हुन चाहन्छन् । प्रवेश परीक्षा लेखेकामध्ये ७५ प्रतिशत विद्यार्थीले भर्ना हुने अवसरका लागि पूर्वाधार निर्माणको टड्कारो आवश्यकता परेको प्राचार्य भट्टराई बताउनुहुन्छ । 

विद्यालयका बिहानी र दिवा गरेर दुई सिफ्टको अध्ययन अध्यापन गराउने गरिएको छ । पोखरीयामा गत शैक्षिक सत्रमा दुई हजार ८६५ विद्यार्थी भर्ना भएका थिए । जसमध्ये ४१३ जना विद्यार्थीले एसईई परीक्षामा सहभागी भएका प्राचार्य भट्टराईले जानकारी दिनुभयो । विद्यालयमा अङ्ग्रेजी र नेपाली दुवै माध्यमको पढाइ हुने सुविधा रहेको छ ।