• ४ जेठ २०८१, शुक्रबार

एसियाडका लागि एथलेटिक्स, कराते र बक्सिङ खेलाडी छनोट

blog

करातेको महिला एकल कातामा प्रदर्शन गर्दै निर्मला तामाङ । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख १७ गते । चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि, एथलेटिक्स, कराते र बक्सिङ खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । नेपाल एथलेटिक्स संघले विभिन्न ६ स्पर्धामा छनोट प्रतियोगिता आयोजना गरी २० खेलाडीको प्रारम्भिक छनोट गरेको संघका केन्द्रीय सचिव आरके विष्टले जानकारी दिनुभयो । 

संघका अनुसारम्याराथनमा कृष्ण बस्नेत, खडकबहादुर खड्का, नरेन्द्र रावत, होमलाल श्रेष्ठ, पुष्पा भण्डारी, विन्द्राधन्के श्रेष्ठ र रेखा विष्ट तथा १० हजार र ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्की, दीपक अधिकारी, सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र फुलमती राना छनोट हुनुभएको छ । 

५ हजार मिटर दौडमा मुकेशबहादुर पाल, गजेन्द्र राई र नागेश्वर अहिर तथा ८ सय र १५ सय मिटर दौडमा अजितकुमार यादव, सुनिल सुनुवार, सोमबहादुर कुमाल, तेजबहादुर कार्की र सन्जिव नेपाली छनोट हुनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार र शुक्रबार आयोजना गरिएको  दुईदिने छनोटमा प्रतियोगितामा दुई  सय ५० खेलाडीको सहभागिता रहेको थियो । 

करातेमा १२ खेलाडी छनोट 

कराते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न तीन स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी पाँच स्पर्धाका खेल छनोटको अन्तिम शनिबार (आज) हुनेछ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका स्वनिम मानन्धर पहिलो, नेपाल आर्मीका प्रवीण मानन्धर दोश्रो तथा नेपाल प्रहरीका महशुस मोक्तान र बाग्मती प्रदेशका यानुज महर्जन तेश्रो हुनुभयो । 

सोही स्पर्धाको महिलामा प्रहरीकी निर्मला तामाङ पहिलो, प्रहरीकी चन्चला दनुवार दोश्रो तथा प्रहरीकी सरु कार्की र गण्डकी प्रदेशकी संगिता मगर तेश्रो हुनुभयो । नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष ८४ केजीमुनि र ८४ केजीमाथि प्रहरीका विप्लव श्रेष्ठ, बाग्मतीका आशिष थापा तथा प्रदेश १ का रोजन खड्का र आर्मीका विपिनराज सिंह जर्जी क्रमशः शीर्ष तीन स्थानमा रहनुभयो । 

बक्सिङमा ३२ खेलाडी 

एीसयाडका लागि बक्सिङतर्फ ललितपुरको सातदोबाटोमा तीन दिनसम्म भएको छनोट खेलबाट विभिन्न तौल समूहबाट महिला र पुरुषतर्फ समान १६ जना गरी ३२ खेलाडीको प्रारम्भिक छनोट गरिएको छ ।  

छनोट प्रतियोगिताबाट महिलातर्फ ५१ केजी तौल समुहमा मिनु गुरुङ, ललिता महर्जन, सुस्मा तामाङ र रिता दर्लामी, ५७ केजीमा चन्द्रकला थापा, विमला श्रेष्ठ, हेमा राई र निशा तामाङ, ६० केजीमा संगीता सुनार, पुनम रावल, देचेन शेर्पा, वर्षा श्रेष्ठ तथा ६९ केजीमा सरस्वती रानामगर, सविना श्रेष्ठ, विनीता थापा मगर र निरु गुरुङ छनोट हुनुभएको छ । 

पुरुषतर्फ ५२ केजीमा चन्द्रबहादुर थापा, प्रदिप महर्जन, लक्ष्मण राई र प्रेम चौधरी, ६७ केजीमा सुरज महर्जन, पुरन राई, ईन्द्र बहादुर सुनार र शम्भु राजवंशी, ६३ केजीमा भुपेन्द्र थापा, लालु आले, निशान दाश र सोनाम सार्की तथा ७५ केजीमा दीपक श्रेष्ठ, सनिल शाही, दिपेश लामा र साजन तामाङ छनोट हुनुभएको छ । छनोट भएका खेलाडीलाई राखेपसँग समन्वय गरी छिट्टै बन्द प्रशिक्षण शुरु गरिने नेपाल बक्सिङ संघले जनाएको छ ।