• १५ असार २०८१, शनिबार

सडक निर्माणको काममा ढिलाइ

blog

निर्माण कार्य अलपत्र परेको बल्दे आटिचौर सडक । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्कीे

बाजुरा, असार १२ गते । बाजुराको सेरा आटिचौर सडक अन्तर्गत पर्ने बल्देदेखि धुरासैन सडक निर्माणको काममा ढिलाइ भएको छ । सडक निर्माण कामको जिम्मा लिएको जयदेवि एस,एस निर्माण सेवा प्रालिको लापरबाहीका कारण सडक निर्माणको काममा ढिलाइ भएको हो ।

सेरा आटिचौर सडक निर्माणको जिम्मेवार लिएको सो ठेकेदार कम्पनीले, समयमै काम पूरा नगरेपछि अहिले सो सडक निर्माणको काममा ढिलाइ भएको बूढीगङ्गा नगरपालिका –२ का स्थानीय बहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक स्तरोन्नत नहुँदा बह्रमतोला, कुँडी, डुग्री, आटिचौर र डोगडीका स्थानीयलाई हिउँद बर्खामा आउजाउ गर्न सास्ती खेप्दै आउनुपरेको छ ।” बर्खाको समय सधैं बाटो अवरुद्ध हुने गरेकोले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको बहादुर थापाले बताउनुभयो ।

वि.स २०६५-०६६ सालमा सडक डिभिजन कार्यालय अछामले सेरा आटिचौर सम्मको कच्ची सडकको निर्माण कार्य सम्पन्न गरेपछि छोटाे दूरीका सवारी साधन सञ्चालनमा आएका थिए । यो सडकले बूढीगङ्गा नगरपालिकाको–२ को बल्देदेखि खप्तड छेडेदह गाउँपालिकाको आटिचौर डोगडी हुँदै बझाङ छोएको छ । पहिला कच्ची सडकमा लगातार चलिरहने गाडी अहिले ठाउँ ठाउँमा रोकिँदै आउने गरेका छन् । 

उता डोगडीदेखि आटिचौर लगायतका स्थानीयहरु यही सडकबाट दैनिक कामकाजका लागि साँफे मार्तडीलगायतका विभिन्न ठाउँमा आउजाउ गर्ने गर्दछन् । लामो समयको निर्माणाधीन यो सडकले हिउँद बर्खाको बेला बाटो अवरुद्ध हुँदा यहाँका स्थानीय व्यापारीलाई दैनिक उपभोग्य सामान ढुवानी गर्न निकै समस्या हुने गरेको छ ।

ठेकेदारको लापरबाहीले सेरा आटिचौर सडकको कालोपत्रे काममा निकै ढिलाइ भएपछि अहिले यहाँका स्थानीयवासीलाई आउजाउमा समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका स्थानीय हर्कबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र सङ्घीय सरकारले गाउँको विकास छिटो गर्ने गरी स्थानीयलाई उपलब्ध गर्दै आएका अधिकांश योजना ठेकेदारको लापरबाहीका कारण सधै यसरी नै अलपत्र पर्ने गरेकोले यहाँका स्थानीयलाई सधै यसरी नै सास्ती खेप्दै आउनुपरेको छ ।”

कोरोनाका कारण सामान महँगी हुँदा सडक निर्माणको काममा ढिलाइ भएको जयदेवी एस.एस प्रालिका प्रतिनिधि वीरेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्ष पहिला कोरोनाको कहर तथा मूल्य वृद्धि र गिट्टी नभएकोले समयमा काम गर्न नसकेको शाहीले बताउनुभयो ।

२०७९ साल चैत मसान्तमा काम सम्पन्न गर्ने गरी २०७७ साल असारमा जयदेवि एस,एस निर्माण सेवा प्रालिले बल्देदेखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माणको जिम्मा लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।

२०७९ सालमा सेरा आटिचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक असारसम्म कालोपत्रे गर्ने गरी २०७७ सालको असारमा झण्डै  ११ करोडमा जिम्मा लिएको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्धबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७७ साल असारमा सेरा आटिचौर सडक अन्तर्गत बल्देदेखि धुरालसैन सम्मको झण्डै ६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७९ चैत मसान्तसम्म पूरा गर्ने गरी जिम्मा लिएको हो ।”

गत वर्ष २०८० को असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी फेरी म्याद थपिए पनि अहिलेसम्म काम सम्पन्न नभएकोले पुनः काम गर्न लगाउने गरी पत्राचार गरेको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख बोगटीले बताउनुभयो ।