• १५ असार २०८१, शनिबार

निःसन्तान दम्पतीको खुसी आइभिएफ

blog

काठमाडौँ, असार ११ गते। पछिल्लो समय निःसन्तानको समस्या बढेसँगै धेरै दम्पतीको रोजाइमा इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) विधि पर्ने गरेको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रक्षा पराजुली आइभिएफ निः सन्तान दम्पतीको लागि बच्चा जन्माउने उपयुक्त विधि भएको बताउनुहुन्छ। 

चिकित्सकका अनुसार अस्पतालमा दैनिक निःसन्तान समस्या लिएर ५० बढी दम्पती आउने गर्दछन् जसमध्ये दुईदेखि तीन जनालाई मात्र आइभिएफ विधि आवश्यक पर्ने गर्छ।  डा.पराजुलीका अनुसार आइभिएफ भनेको ल्याबमा भ्रूण बनाउने प्रक्रिया हो। सुरुवाती चरणमा अण्डा भए नभएको जाँच गरेर अण्डाको उत्पादन नभएमा औषधीको माध्यमबाट अण्डा बढाउने गरिन्छ। 

यो प्रक्रिया गर्दा महिलालाई अण्डा बढाउन दैनिक अस्पतालमा गएर सुईको माध्यमबाट औषधी लगाउनुपर्छ। 

अल्टासाउण्डको माध्यमबाट अण्डा बढेको नबढेको जाँच गर्ने उहाँ बताउनुहुन्छ। महिलालाई बेहोस बनाएर अण्डा निकाल्ने उहाँ बताउनुहुन्छ। 

उहाँका अनुसार अण्डा १८ देखि २० एमएम भएपछि सुईको माध्यमबाट बाहिर निकालेर ल्याब लगेर श्रीमानको शुक्राणु मिसाएर भ्रूण बनाउने गरिन्छ।

उहाँ भन्नुहुन्छ, ‘आइभिएफ दुई प्रकारका हुन्छन्। अण्डा र शुक्राणु मिसिनसाथ भ्रूण बन्ने गर्छ। अर्को भनेको अण्डामा राम्रो शुक्राणु छानेर सुईबाट भित्र छिराउने गरिन्छ। भ्रूण बनिसकेपछि महिलाको पाठेघरमा राख्ने गरिन्छ।’ 

यो विधि सुरक्षित भए पनि झन्झटिलो र खर्चिलो भएको उहाँको भनाइ छ। यो विधि २० देखि ३० प्रतिशत मात्र सफल हुने उहाँको भनाइ छ। मापदण्ड अनुसार गुणस्तरको भ्रूण एक पटकमा  एउटा मात्र राख्ने गरेको उहाँ बताउनुहुन्छ। 

‘मापदण्ड अनुसार गुणस्तरको भ्रूण एक पटकमा एउटा राख्ने गरिन्छ। अलि कम गुणस्तरको छ भने एक-पटकमा दुई वटासम्म भ्रूण राख्ने गरेका छौँ’, उहाँ भन्नुहुन्छ । यदि राम्रो गुणस्तरको भ्रूण धेरै वटा बनेको छ भने फ्रिजमा स्टोर गरेर राख्न मिल्ने उहाँले बताउनुभयो। 

आइभिएफ विधिमार्फत एक पटक गर्भवती भएमा अन्य गर्भवतीले जस्तै समय समयमा चिकित्सकको परामर्शमा बस्नुपर्छ। प्राकृतिक रूपमा जन्मिएका बच्चा र आइभिएफ माध्यमबाट जन्मिएका बच्चामा कुनै अन्तर्गत नहुने उहाँको भनाइ छ। 

आइभिएफ कस्तो विधि हो, यसबाट कसरी बच्चा जन्माउन सकिन्छ भन्‍ने विषयमा केन्द्रित भएर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रक्षा पराजुलीसँग गोरखापत्र अनलाइनका लागि गरिएको भिडियो संवाद :

भिडियो : केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।