• २१ कात्तिक २०८२, शुक्रबार

विद्यार्थीको पर्खाइमा शिक्षक

blog

विद्यार्थी कुर्दै गरेका गङ्गा माविका शिक्षक ।

बाजुरा समाचारदाता

बाजुरा, कात्तिक २१ गते । बाजुराको हिमाली गाउँपालिकाका विद्यालयमा शिक्षक नियमित आउने गर्छन् तर विद्यार्थी भने नआउने गरेको पाइएको छ । वडा नम्बर १ को बिच्छ्याबौडीमा कात्तिक सुरु भएदेखि यहाँ निकै चिसो बढ्न सुरु हुन्छ । यहाँ मङ्सिर, पुस र माघमा बाक्लो हिमपात हुन्छ । 

यो ठाउँ जेठ, वैशाखको गर्मी महिनामा पनि धेरै चिसो हुने ठाउँमा पर्छ । हिउँदमा त झन् जाडो हुने नै भयो । बैडीमा जनजाति भोटे सुमदायको बसोबास बढी छ । उनीहरू जडीबुटी सङ्कलन तथा भेडाबाख्रा पालनसमेत गर्ने गर्छन् । 

हिउँदमा ती भेडाबाख्रा लिएर उनीहरू बेँसी (औल) लिएर जाने गर्छन् । यस क्रममा उनीहरूका घरमा कोही नहुने भएकाले बालबालिकासमेत अभिभावकसँग औल जान बाध्य हुने भएकाले बालबालिकाको विद्यालय छुट्ने गरेको छ । 

कोही जडीबुटी सङ्कलन तथा कोही भेडाबाख्रा लिएर बेँसी जाने गरेकाले पछिल्लो समय यहाँका अधिकांश विद्यालय पनि खाली हुने गरेका हुन् । 

यहाँ गत कात्तिक ११ देखि नै विद्यालय सञ्चालनमा आएका हुन् तर हिमाली गाउँपालिका–१ का सामुदायिक विद्यालयमा भने अझै विद्यार्थी जाने गरेका छैनन् । केही दिनअघि यहाँका अधिकांश बालबालिका जडीबुटी ल्याउन व्यस्त भएका थिए । यही बेला उनीहरू विद्यालयमा आएनन् । 

नियमित विद्यालयमा आएर विद्यालय खोल्ने गरेको गङ्गा आधारभूत विद्यालयमा प्रधानाध्यापक वाल्मीकि पाण्डेले बताउनुभयो । उहाँले भन्नभुयो, “हामीले बालबालिका विद्यालय किन नआएको भनेर यहाँका अभिभावलाई पत्राचार गरेपछि अहिले फाट्टफुट्ट रूपमा विद्यार्थी आउने गरेका छन् ।” 

बर्खाको समय यहाँ सबै विद्यार्थी विद्यालयमा आउने गरे पनि हिउँद लाग्नेबित्तिकै यहाँका विद्यालय खाली हुँदै गएका छन् । कुनै ठाउँमा विद्यार्थी शिक्षकको पर्खाइमा रहन्छन् । यहाँ भने हामी सधैँ बालबालिकाको पर्खाइमा रहने गरेको शिक्षक पाण्डेले बताउनुभयो । 

विद्यालय सञ्चालन भएपछि पढाइको बारेमा अनुगमन गर्न जाँदा प्रायः सबै विद्यालयमा शिक्षक छन् । विद्यार्थी भने एक जना पनि नआएको हिमाली गाउँपालिकाका वडाध्यक्ष जोक्या भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको अवस्था बुझ्न जाँदा धेरै जसो सामुदायिक विद्यालयमा शिक्षक भेटिन्छन् तर विद्यार्थी भने कोही छैन् ।”

यहाँ प्रायः शिक्षक ढिला आउने गरेकाले आफ्नो वडाभित्रका विद्यालयमा कात्तिक १६ सम्म उपस्थित नहुने शिक्षक तथा कर्मचारीलाई नियम अनुसार कारबाही गर्ने भनेर पत्राचार गरिसकेको उहाँले बताउनुभयो । “कात्तिक १८ गते सबै विद्यालयमा स्थलगत अनुगमनमा जाँदा हिमाली गाउँपालिका–३ को बौडीगाउँमा रहेकोे गङ्गा आधारभूत विद्यालयमा जाँदा त्यहाँ शिक्षक र कर्मचारी मात्र उपस्थित भएको भेटिए तर विद्यार्थी सङ्ख्या भने शून्य थियो,” भण्डारीले बताउनुभयो ।