• १३ असार २०८१, बिहिबार

ट्याक्टरबाट खसेर एकको मृत्यु, एक बेवारिसे शव फेला

blog

मीना कँडेल

कावासोती, असार ७ गते । नवलपुरमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका –२ नन्दपुरस्थित नारायणी नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको हो ।

शुक्रबार २ः४० बजेको समयमा नाम थर नखुलेको अन्दाजी ३२ बर्षको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

शव  फुलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटना कसरी भयो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

 यसैबिच नवलपुरको बुलिङटारमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।  बुलिङटार –५, सान्डाँडाबाट खहरेतर्फ जाँदै गरेको लु ५ त ६५९ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँका १८ वर्षीय वीरमाया सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले खेतमा धान लिन जाने क्रममा ट्याक्टरमा सवार बिरमाया सारु ट्याक्टरबाट खसेको र सोही ट्याक्टरको पछाडिको चक्काले किचेर ज्यान गएको बताउनुभयो । ट्याक्टरका साहु सम्पर्कमा आएको र चालक फरार रहेको उहाँले बताउनुभयो ।