• ३२ असार २०८२, बुधबार

सुशासन कायम गर्न कुलिङ पिरियड : सञ्चारमन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ राष्ट्रियसभा बैठकमा बोल्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३१ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड राखिएको बताउनुभएको छ । राष्ट्रिय सभामा निजामति विधेयकबारे सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले अभ्यासका क्रममा देखिएका खोटहरु फाल्न यो व्यवस्था गरिएको बताउनुभयो । उहाँले रिटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने पद्दतिले गुड गभर्नेन्समा असर पर्ने बताउनुभयो । प्रजातन्त्र र व्यवस्थाप्रति लोयल नभइ आफ्नो स्वार्थका लागि राजीनामा दिएर नियुक्ति खाने परिपाटी अन्त्य गर्न यो व्यवस्था ल्याइएको जिकिर गर्नुभयो । 

मन्त्री गुरुङले भन्नुभयो, ‘कुलिङ अफ पिरियडको व्यवस्था किन गर्न खोजेको हो भने अभ्यासमा त हामीले देखिरहेका छौँ । हाम्रो अभ्यासमा देखिएका खोटहरुलाई हामीले फाल्न खोजेको हो । रिटायर भएको भोलिपल्टै अख्तियार प्रमुख, राजदुत भएर जाने वा कुनै पनि सरकारी निकायमा रहने कुरा स्वार्थका आधारमा उसले आजको दिनमा डेमोक्रेसीप्रति र हाम्रो व्यवस्थाप्रति लोयल नभइकन आफ्नो स्वार्थप्रति काम गर्ने परिस्थिति बन्दा गुड गभर्नेन्समा असर गर्छ भनेर त्यस्तो चिजबाट मुक्त ब्युरोक्रेसी खोजेको हो ।’ मन्त्री गुरुङले रिटायर भएको भोलिपल्ट अर्को निकायमा जाने कुराले गुड गभर्नेन्समा असर पर्ने बताउनुभयो ।