काठमाडौँ, असार ४ गते। पछिल्लो समय डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (ईडिसिडी) का अनुसार डेंगु सङ्क्रमण पाँच जिल्ला बाहेक सबै जिल्लामा फैलिसकेको छ।
ईडिसिडीअन्तर्गत किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार सन् २०२४ सुरु भएदेखि आजसम्म ७२ जिल्लामा एक हजार १७५ जनामा डेंगु पुष्टि भइसकेको छ।
प्रदेश अन्तर्गत सबैभन्दा बढी बागमती प्रदेशमा ४०३ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी, कोशी प्रदेशमा २७७, मधेश प्रदेशमा ३४, गण्डकी प्रदेशमा १८७, लुम्बिनी प्रदेशमा १३९ कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिममा ११८ जनामा डेंगु पुष्टि भएको डा. दाहालले बताउनुभयो।
जिल्ला अन्तर्गत काठमाडौँमा सबैभन्दा बढी १२२ जनामा डेंगु पुष्टि भएको छ। झापा १११, चितवनमा ७४, मकवानपुरमा ५६, सिन्धुपाल्चोकमा ४४, तनहुँ ४६, ओखलढुङ्गामा ४१, रुपन्देहीमा २८, डोटीमा ३०, भक्तपुरमा २७ जनामा डेंगु पुष्टि भएको दाहालको भनाइ छ।
नेपालको केही वर्षको तथ्याङ्कले नेपालमा डेंगुले महामारीका रूपमा देखापर्दै आएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा, सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४, र सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु पुष्टि भएको थियो।
यो वर्ष पनि समय नै डेंगु बनाउने लामखुट्टे नियन्त्रण नगर्ने हो भने डेंगुले महामारीको रूपले लिने धेरैकाे अनुमान छ।
डेंगु नियन्त्रण गर्ने गोल्डन समय
डेंगु नियन्त्रण गर्ने गोल्डेन समय भएकोले सबै सरोकारवाला निकायले ध्यान दिन सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले आग्रह गर्नुभएको छ।
उहाँले भन्नुभयो, ‘अब छिट्टै लामखुट्टेको जोखिम बढ्छ। यो समय डेंगु सङ्क्रमण गर्ने लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन समय भएकाले सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्छ।’ उहाँका अनुसार घाम पानी घाम पानी भएको बेला डेंगु बढ्ने सम्भावना बढी हुन्छ। लामखुट्टे बढ्दै गएपछि डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने जोखिम बढ्छ।
बैलैमा नियन्त्रण ध्यान नदिने हो भने आगामी दिनमा डेंगुको जोखिम बढ्ने उहाँको भनाइ छ। उहाँका अनुसार अघिल्लो वर्षमा पोष्ट मनसुनपछि डेंगुका बिरामी ह्वात्तै बढेका थिए।
सरकारले यो वर्ष डेंगु सङ्क्रमण फैलिन नदिन के गर्दैछ ?
यो वर्ष डेंगु सङ्क्रमणले महामारीको रूप नलियोस् भनेर काम अगाडि बढाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउनुहुन्छ। उहाँका अनुसार मन्त्रालयले डेंगु रोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ।
डा.बुढाथोकीले मन्त्रालयले स्वास्थ्य संस्थामा फोकल प्वाइन्ट तोक्ने र डेंगुको उपचारमा चाहिने सामग्री तयारी अवस्थामा राखेको जानकारी दिनुभयो।
उहाँ भन्नुहुन्छ, “सामान्य सङ्क्रमण भएमा हामीले काम गर्दै आएका छौँ। यदि सङ्क्रमणले महामारीको रूप लिएमा तयारी अवस्थामा छौँ।”
व्यक्ति स्वयम् जिम्मेवार हुनुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँ भन्नुहुन्छ, “डेंगु नियन्त्रण गर्न घरबाट नै काम सुरु गर्नुपर्छ। जबसम्म डेंगु सङ्क्रमणले मलाई पनि समस्या पार्न सक्छ भनेर आत्मबोध गर्न सकिँदैन तबसम्म यो सङ्क्रमणलाई निर्मूल पार्न गाह्रो हुन्छ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी ।
डेंगु रोग कस्तो रोग हो ?
सरुवारोग विशेषज्ञ डा. पुनका अनुसार डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ।
एक्कासि तीनदेखि पाँच दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, खानामा अरुचि हुने। जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने पेटको समस्या हुने जस्ता लक्षण देखिने डा. पुन बताउनुहुन्छ।
डेंगु रोग भाइरसको कारण लाग्ने हुँदा यसको उपचार नभएकोले ज्वरोका लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीबाट परामर्श लिन चिकित्सकको सुझाव छ।
कसरी उपचार हुन्छ ?
डेंगुबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाइ बच्ने हो। डेंगु सङ्क्रमण भएपछि चिकित्सकको सल्लाह बिना कुनै पनि औषधीको सेवन नगर्ने डा. पुनको सुझाव छ।
उच्च ज्वरो आएमा कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्ने डेंगुको उपचार हो। डेंगु भाइरस भएका बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती तथा रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई गम्भीर असर पर्ने हुँदा विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन्।
लामखुट्टेको टोकाइबाट कसरी बच्ने
लामखुट्टेको टोकाइबाट जोगिन पुरा शरीर ढाकिने गरी कपडा लगाउने राती सुत्ने बेलामा झुलको प्रयोग गर्न, लामखुट्टेको धूप बाल्ने, मलम लगाउन चिकित्सकको सुझाव छ।
घर वा कार्यालय वरपर पानी जम्न नदिने, खाल्डा खुल्डीहरु पुर्ने र घरआँगन सफा राख्ने। लामखुट्टेलाई फुल पार्न नदिनका लागि एउटै ठाउँ भाँडोमा पानी जम्मा गरेर नराख्ने। पुराना टायर, पानी जम्न सक्ने भाँडाकुँडा, बट्टा आदिमा पानी जम्मा हुन नदिने गरी विसर्जन गर्ने। ढोकामा जाली लगाउने, पानी राख्ने भाँडाहरू सधैँ छोपेर राख्ने। गमला फूलदानी, एयर कुलर जस्ता पानी जम्ने सामग्रीको पानी हप्तामा एकपटक नियमित सुख्खा हुने गरी सफा गर्दा लामखुट्टे नियन्त्रण गर्न सकिने किटजन्य प्रमुख डा. दाहालको भनाइ छ।