• ८ वैशाख २०८२, सोमबार

बाल अधिकार उल्लङ्घन भए रिपोर्टिङ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १५ गते । राष्ट्रिय बाल अधिकार परिषद्ले स्थानीय तहको निर्वाचनमा बाल अधिकार उल्लङ्घनका घटना भएमा तुरुन्त रिपोर्टिङ गर्न सकिने गुगल फारम तयार गरेको छ । निर्वाचन अनुगमनमा जाने पर्यवेक्षक, सङ्घ संस्था, नागरिक समाजले समेत बाल अधिकारको उल्लङ्घनका विषयमा यस फारममा भरेर परिषद्लाई पठाउन सकिने व्यवस्था गरिएको छ ।  

परिषद्द्वारा बुधबार आयोजित स्थानीय तह निर्वाचन–२०७९ मा बाल अधिकार अनुगमन औचित्य तथा प्राथमिकता विषयक छलफल कार्यक्रममा उक्त फारमबारे जानकारी दिइएको हो । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले निर्वाचनमा बालबालिकाको प्रयोग हुनु बाल अधिकारको हनन हो भन्दै त्यहाँ हुल दङ्गालगायत भिडन्तसमेत हुन सक्ने खतरा हुने भएकाले बालबालिकालाई जोखिमबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । 

२०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन केन्द्रीय बाल कल्याण समितिले गरेको अध्ययनमा निर्वाचनका बेला विभिन्न कामका लागि बालबालिकाको दुरुपयोग भएका आठ सयभन्दा बढी घटनाको अभिलेख छ । यस पटक यस्ता घटना न्यूनीकरण गर्न र घटना भइहाले घटनाका प्रकृति, स्थान र बालबालिकाको सङ्ख्यालगायतका बाल अधिकारको घटनाको विश्लेषण गर्न उक्त फारममार्फत परिषद्लाई घटना भएकै स्थानबाट सूचित गर्न सकिने व्यवस्था गरिएको परिषद्ले जनाएको छ ।