• १३ साउन २०८१, आइतबार

बागी उम्मेदवारी फिर्ता लिन आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १५ गते  ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका नेता–कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गर्नुभएको छ । 

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता साझेदार दलबीच तालमेलको विषयमा पार्टीले निर्णय गरिसकेकाले उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “जसले स्वतन्त्र उम्मेदवार हाल्नुभएको छ । सबै साथीलाई महामन्त्रीको यो जिम्मेवारीबाट आग्रह गर्न चाहन्छु, तपाइँहरूका बारेमा फेरि हामी छलफल गर्छौं । अहिलेका लागि आफ्नो उम्मेदवारी फिर्ता लिनुहोस् ।”

उहाँले पार्टीभित्र सैद्धान्तिक र व्यावहारिक विषयमा छलफल गरेर नेता–कार्यकर्तालाई उचित स्थान दिने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “समय आउँछ सबै कुराको हिसाब हुन्छ । म यति मात्रै आग्रह गर्छु, तपाइँले आफ्नो आवेगलाई नियन्त्रण गर्नुपर्नेछ ।”

आवधिक निर्वाचनमा नागरिकले पछिल्लो पाँच वर्षको समीक्षा गर्ने बताउँदै महामन्त्री थापाले स्थानीय सरकारले जनतासँग जोडिएका समस्या समाधान गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपाली काँग्रेसको सङ्कल्प पत्रमा लेखिएको कुरा गफ होइन । स्थानीय तहमा जितेर आएपछि सबैलाई बोलाएर राष्ट्रिय कार्यशाला गर्छौं । प्रशिक्षित गर्छौं । एक वर्षपछि फेरि बोलाउँछौँ र प्रगति प्रतिवेदन बनाउँछौँ ।”

ओलीलाई जवाफ

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको घोषणापत्रबारे गरेको टिप्पणीप्रति आपत्ति प्रकट गर्नुभयो । अध्यक्ष ओलीको भनाइको जवाफ दिँदै थापाले भन्नुभयो, “जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो ।” 

उहाँले झुटलाई चुनौती दिने मान्छेलाई ओलीले पागल करार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केपी ओलीले झुट बोल्नुहुन्छ । यदि कुनै आँट भएको मान्छेले तपाइँ झुट बोल्दै हुनुहुन्छ भन्यो भने सनक्क सन्किएर भन्नुहुन्छ, “तपाइँ पागल । कहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कहिले गोविन्द केसीलाई पागल भन्नुभयो । अहिले हामीलाई ।” 

महामन्त्री थापाले घोषणापत्रको विषयवस्तुमाथि ओलीले केही नबोलेको बताउँदै प्रशंसाको एकालाप सुन्ने बानी भएकाले एकपछि अर्को झुटको पर्दाफास गरेकाले ओलीले सहन नसकेको टिप्पणी गर्नुभयो । उहाँले घोषणापत्रको विषयवस्तुबारे महिनौँसम्म अध्ययन गरिएको प्रस्ट पार्नुभयो । उहाँले यो घोषणापत्रमा म्याजिक छैन, लजिक छ भन्नुभयो ।