• ५ जेठ २०८१, शनिबार

उड्डयन क्षेत्रमा सुधार

blog

झन्डै एक दशकअघिदेखि नेपाली हवाई क्षेत्रको सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरबाटै विभिन्न प्रश्न उठ्दै आएको थियो । यसैको परिणामस्वरूप नेपाली वायुसेवा कम्पनीहरू युरोपेली मुलुकमा उडान भर्न असमर्थ थिए । यसबाट नेपाली हवाई उड्डयनको क्षेत्रमा एक किसिमको सङ्कुचन तथा अवरोधको अवस्थाको सिर्जना भएको थियो । यसबाट नेपाली उड्डयन क्षेत्रमा निराशा पैदा हुनु स्वाभाविक मान्न सकिन्छ । यसबाट नेपाली वायुसेवा कम्पनीहरूको विकास एवं विस्तारमा प्रतिकूल प्रभाव परिरहेको थियो । 

राष्ट्रसङ्घीय विशेष निकायका रूपमा रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) तथा युरोपेली सङ्घअन्तर्गतको युरोपेली आयोगको सुरक्षा सूचीमा रहेका कारण सन् २०१३ देखि नेपाली विमानहरूका लागि अमेरिका तथा युरोपेली मुलुकका आकाश प्रतिबन्धित छन् । यसको अन्त्यका पटक पटक प्रयास भए पनि आशातीत सफलता प्राप्त हुन सकेको थिएन । हालसम्म पनि यो प्रतिबन्ध हटाउने कार्य सफलीभूत हुनसकेको छैन । प्रतिबन्ध हटाउन आईकाओले नागरिक उड्डयनका विभिन्न पक्षमा सुधारको सर्त पनि अगाडि सारिरहेको बेलाबखत आइरहेकै हो ।

यावत् प्रयासहरूको सन्दर्भमा खुसीको खबरसमेत सम्प्रेषित भएको छ । आईकाओले झन्डै दुई हप्ता लगाएर चैत ३० गतेदेखि वैशाख १२ गतेसम्म गरेको परीक्षणबाट नेपालको हवाई सुरक्षामा प्रगति हुँदै गएको आँैंल्याइएको छ । आईकाओले गरेको सम्परीक्षण (अडिट) ले पछिल्लो पाँच वर्ष यता नेपालको हवाई गुणस्तरमा वृद्धि भएको देखाएका छ । सन् २०१७ मा नेपालमा सुरक्षा परिचालन भार ६७.७६ प्रतिशत रहेकोमा पछिल्लो अडिटबाट यो ७१.१ प्रतिशत पुगेको प्रतिवेदनले देखाएको छ । यस तथ्याङ्कबाट नेपालले हवाई सुरक्षा गुणस्तर वृद्धिजस्ता कार्यमा निरन्तर प्रयास अगाडि बढेको स्पष्ट हुन्छ । प्रमाणिक तथ्याङ्कहरूले यही कुरा देखाइरहेको छ । अडिटका सिलसिलामा उडान सुरक्षाको नेपालले पालना गरे गराएका कार्य र तिनको प्रगतिलाई आधार बनाएको देखिएबाट समेत नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र विश्वसनीय हुँदै गएको देखिन्छ । 

नागरिक हवाई उड्डयन क्षेत्रमा विश्वभरि नै नियामक रूपमा काम गर्दै आइरहेको राष्ट्रसङ्घीय विशेष निकायको विशिष्टकृत कार्य सम्पादन गर्दै आइरहेको छ । त्यसक्रममा आईकाओले विशेषतः लिजिस्टेसन ( एलईजी), पर्सनल लाइसेन्स (पीईएल), फ्लाइट अपरेसन (ओपीएस), एयर नेभिगेसन सर्भिस (एएनएस), एरोडमी एन्ड ग्राउन्ड एड्स (एजीए) लगायतका आठ विषयवस्तुलाई केन्द्रबिन्दुमा राखेर हवाई उड्डयनको व्यवस्थापन एवं सुरक्षाको गुणस्तर मापन गरिरहेको छ । यो सन्दर्भमा नेपालको अनुगमन गहन रूपमा भइरहेको देखिन्छ । 

नेपालको हवाई सुरक्षाको स्तरलाई केलाउँदा सन् २०१७ मै पनि औसत विश्व आँकडाभन्दा माथि नै देखिएको छ । विश्व औसत हवाई सुरक्षाको भार ६७.२ प्रतिशत रहेकोमा नेपालको ६७.७६ प्रतिशत थियो । यस तथ्यबाट नेपाली वायुयानलाई युरोप, अमेरिकामा प्रतिबन्ध लगाउने निर्णय उपयुक्त थिएन भन्ने समेत स्पष्ट हुन्छ । पछिल्लो अडिटअनुसार नेपालमा औसत परिपालना भार ७१.१ प्रतिशत पुगेको पाइएको छ । कुल १९३ सदस्य राष्ट्र रहेको आईकाओका राष्ट्रहरूको औसत हवाई सुरक्षा भार ६७.२ प्रतिशत रहेको छ । यसरी नेपालले विगत र वर्तमानमा समेत हवाई सुरक्षा परिपालनमा कुनै कमी नगरेको प्रमाणित भएको छ । 

पछिल्ला वर्षमा नेपालले नागरिक हवाई उड्डयनका क्षेत्रमा पूर्वाधार विकासलाई आन्तरिक रूपमा निकै अगाडि बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल थपेको छ । पूर्वाधार विकासमा ध्यान दिएको छ । त्यसक्रममा हवाई सुरक्षामा उल्लेखनीय सुधार गर्दै आइरहेको सन्दर्भमा अहिलेको उपलब्धि प्राप्त भएको हो तर यतिमै प्रगति रोकिनु हुँदैन । अब इयु र आईकाओले नेपाली विमानलाई अमेरिका र युरोपको आकाशमाथि लगाइरहेका प्रतिबन्ध छिटोभन्दा छिटो हटाउनु उपयुक्त देखिन्छ । त्यसतर्फको प्रयाससमेत अगाडि बढाउनु पर्नेछ ।

प्रतिबन्ध खुला भए नेपाली हवाई उड्डयनको विकासमा निकै सकारात्मक प्रभाव पर्ने निश्चित छ । नेपालको पर्यटन विकास हवाई क्षेत्रमा गरिने विकास, विश्वास र गुणस्तरमा निर्भर रहनेछ । कोरोना (कोभिड–१९)का कारण विश्वभर पर्यटन खुम्चिएको छ । यो प्रतिकूल प्रभाव नेपालमा समेत स्वाभाविक रूपमा परेको छ । देशको हवाई क्षेत्रको बढ्दो विश्वासले नेपालको पर्यटनलाई फेरि नयाँ तवरले अगाडि बढाउन सकिने निश्चित छ ।