• ४ असार २०८१, मङ्गलबार

प्राचीन मानिसको साथी फ्याउरा

blog

प्राचीन कालमा हाम्रा पूर्वजले कुकुर पाल्न सुरु गर्नुअघि फ्याउरा पाल्ने गर्दथे । फ्याउराले पनि कुकुरले जस्तै सुरक्षा दिने गर्थे । खेतीपातीको युगअघि प्राचीन मानिस जङ्गली अवस्थामा थिए । उनीहरूले शिकार, जङ्गली फलफूल र कन्दमूल खाने गर्दथे र त्यही शिकार फ्याउरालाई दिएर पाल्ने गरेको प्रमाण फेला परेको छ । 

दक्षिण अमेरिकामा यसको पुरातात्त्विक प्रमाण भेटिएको छ । त्यहाँ प्राचीन समाजमा फ्याउरालाई निकै पवित्र मान्ने गरिएको अनि मृत्यु भएपछि मानिस र फ्याउरालाई नजिकै गाड्ने गरिएको थाहा भएको छ । 

अर्जेन्टिनाको पाटागोनिआमा १५ सय वर्ष पुरानो चिहानमा एउटा फ्याउरो पनि गाडिएको फेला पर्दा वैज्ञानिकहरू आश्चर्यचकित भएका थिए । त्यो फ्याउरो मानिसको ‘प्यारो साथी’ वा आफूले पालेको जनावर भएकाले त्यसो गरिएको विश्लेषण गरिएको छ ।

त्यसको डिएनए विश्लेषण गर्दा फ्याउरोले प्रागऐतिहासिक शिकारीहरूसँगै आहारा खाने गरेको र उनीहरूको समूहमै बस्ने गरेको पत्ता लाग्यो । 

“खानेकुराका लागि शिकार र सङ्ग्रह गर्ने मानिसहरूको समूहसँग  फ्याउरोको निकट सम्बन्ध भएको देखिने यो निकै दुर्लभ प्रमाण हो,” युनिभर्सिटी अफ अक्सफोर्डका डा. ओफेली लेब्रासरले भनेकी छन् । 

‘डुसिक्योन एभस’ प्रजातिको त्यो फ्याउरो मध्यम आकारको र १०–१५ केजी तौलको हुने विश्वास गरिएको छ तर पाटागोनिआमा घरपालुवा कुकुर आइपुगेको केही सय वर्षपछि अर्थात् आजभन्दा झन्डै पाँच सय वर्षअघि त्यो प्रजाति मासियो । एक दशकअघि अर्जेन्टिनाको अर्को भागमा अझ पुरानो चिहानमा सोही प्रजातिको फ्याउरोको कङ्काल फेला परेको थियो । दक्षिण अमेरिकामा अहिले पनि १० प्रजातिका फ्याउरा छन् ।