• १२ असार २०८१, बुधबार

नेपालको हवाई सुरक्षामा सुधार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १४ गते  ।  नेपालको हवाई आकाश सुरक्षित बन्दै गएको छ । अन्तर्राष्ट्रिय हवाई सुरक्षासम्बन्धी नियमन निकाय आइकाओले गरेको सम्परीक्षण (अडिट)का आधारमा नेपाली आकाश सुरक्षित रहेको जनाइएको हो ।  

पछिल्लो पाँच वर्षयता नेपालको हवाई गुणस्तर वृद्वि भएको जनाउँदै आइकाओले समग्रमा परिपालन भार ७१.१ प्रतिशत पुगेको देखाएको छ । सन् २०१७ मा यस्तो गुणस्तर ६७.७६ प्रतिशत थियो ।

आइकाओको १० सदस्यीय सम्परीक्षक टोली (अडिट टिम)ले चैत ३० देखि वैशाख १२ गतेसम्म गरेको यूएसओएपी अडिटको क्रममा आठ क्षेत्रमा उडान सुरक्षाको नियामक निकायका रूपमा नेपालले पालना गरे गराएका कार्य र तिनको प्रगतिबारे समीक्षा गरेको थियो ।

आइकाओले विशेष गरी लिजिस्टेसन (एलईजी), अर्गनाइजेसन (ओआरजी), पर्सनल लाइसेन्स (पीईएल), फ्लाइट अपरेसन (ओपीएस), एयरवर्दिनेस (एयर), एयर नेभिगेसन सर्भिस (एएनएस), एरोडोमी एन्ड ग्राउन्ड एड्स (एजीए) र दुर्घटनाको अनुसन्धानलाई आधार बनाएर हवाई सुरक्षाको गुणस्तर मापन गर्दै आएको जनाएको छ ।

हालको अडिटअनुसार नेपालको हवाई सुरक्षाको स्तर विश्व औसत भारभन्दा तीन प्रतिशतमाथि छ । आइकाओले उडान सुरक्षा निगरानीको स्तर मापन गरी निरन्तर सुधारको टेवा दिने उद्देश्यले निरन्तर निगरानीको सिद्वान्त अवलम्बन गर्दै यूएसओएपी अडिट कार्यक्रम लागू गर्दै आएको छ । 

प्रतिवेदनअनुसार १९३ सदस्य राष्ट्रहरूको औसत परिपालन भार ६७.२ प्रतिशत रहेको देखिन्छ । नेपालको औसत परिपालन भने ७१.१ प्रतिशत पुगेको छ । 

त्यस्तै मध्यएसिया प्रशान्त क्षेत्रको औसत परिपालन भार ६१.४ प्रतिशत रहेको छ । यसअघि आइकाओले सन् २००९, २०१३, २०१६ र २०१७ मा नेपालको हवाई अडिट गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्ला वर्ष नेपालले हवाई सुरक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेख्य सुधार हुँदै गएको अडिटले देखाएकाले नेपाली आकाश सुरक्षित बन्दै गएको देखिनु महìवपूर्ण उपलब्धि रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कानुनी, संस्थागत, लाइसेन्स, उडान, एयर नेभिगेसन सर्भिस र ग्राउन्ड ह्यान्डलिङको क्षेत्रमा नेपाललाई महत्त्वपूर्ण सफलता मिलेको छ । निकट भविष्यमै नेपाली जहाज युरोप, अमेरिकाको आकाशमा उडाउन पछिल्लो अडिटले मद्दत गर्छ ।” अहिले नेपालका वायुसेवालाई सन् २०१३ देखि युरोपेली सङ्घ  (ईयू)अन्तर्गतको युरोपेली आयोगको सुरक्षा सूचीमा राख्दै आएको छ ।