काठमाडौँ, भदौ १० गते । सभामुख देवराज घिमिरेले मौलिक संस्कृति जोगाउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ । हरितालिका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले आफ्ना मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो ।
तीज पर्वले लैङ्गिक समानता, सामाजिक सदभाव र पारिवारिक मिलनको महत्वलाई उजागर गर्दै आएको बताउँदै उहाँले यस्ता पर्वबाट सामाजिक अवरोध हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिनुपर्ने विचार व्यक्त गर्नुभएको छ । सभामुख घिमिरेले शुभकामना सन्देशमा भन्नुभएको छ, “नेपाल भौगोलिक विविधता, धार्मिक र सांस्कृतिक समृद्धि, बहुजातीय र बहुभाषिक संरचना, सहिष्णुता र सहअस्तित्वको परम्परा र सामाजिक सद्भावसहित अनेकतामा एकता भएको मुलुक हो, हाम्रो संविधानले धार्मिक स्वतन्त्रता, सांस्कृतिक हक र लैङ्गिक समानताको सुनिश्चितता गरेको छ ।” रासस