• १२ असार २०८१, बुधबार

शिक्षालाई सीपसँग जोड्न शैक्षिक मेला

blog

शैक्षिक मेलामा पुगेका विद्यार्थी । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, जेठ २७ गते। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले शैक्षिक मेलाको उद्देश्य शिक्षालाई सीपसँग जोड्नु रहेको बताउनुभयो। 

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराका साथ जेठ २५ गतेदेखि काठमाडौँको टुँडिखेलमा सुरु भएको शैक्षिक मेलामा शैक्षिक गुणस्तरको सुधारका साथै विद्यार्थीले विभिन्न क्याम्पस तथा शैक्षिक विषयमा जानकारी लिएको उहाँको भनाइ छ।

उहाँले यो पटक काठमाडौँ महानगर र हिसानको सहकार्यमा आयोजना गरिएको शैक्षिक मेलाबाट यसखाले  मेला गर्नुपर्छ भन्ने कुरा पुष्टि भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “यो काठमाडौँ महानगरपालिका र हिसानको सहकार्यमा गरिएको हो। यसले एउटा कुरा के पुष्टि ग¥यो भने मेला गर्नुपर्छ भन्ने विषयमा विगतमा जुन गलत बुझाइ थियो, त्यो कुरा अहिले करेक्सन भयो।” यसअघि यसखाले शैक्षिक मेलाले नराम्रो गर्छ भन्ने खालको बुझाइ रहेपनि अब त्यो अवस्था नरहेको उहाँको भनाइ छ।

उहाँले मेलामा महानगरभित्र कस्ताकस्ता क्याम्पस रहेका छन् र यसमा के के पढाइ हुने रहेछ भन्ने कुराको जानकारी प्राप्त भएको बताउनुभयो।



उहाँले भन्नुभयो, “काठमाडौँ महानगरभित्र कुन कुन कलेजहरू छन् ? के के पढाइ हुन्छ ? यसले सिङ्गो शिक्षाको र काठमाडौँ महानगरपालिकाको नै ब्राण्डिङ गर्छ। हाम्रो यहाँको र राजधानी बाहिरबाट आउने मान्छेलाई सहयोग पुर्‍याउनेछ भनेर मेला आयोजना गरिएको हो। एकै ठाउँमा विभिन्न स्कुल, कलेजका बारेमा जानकारी लिन विद्यार्थी सक्षम हुन्छन्, यो नै यसको सोन्दर्यता हो भन्ने मलाई लाग्छ।”

उहाँले मेलामा दुई दर्जनभन्दा बढी विद्यालय सहभागी भएको जानकारी दिनुभयो। विद्यार्थी, शिक्षक र अभिभावकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उहाँको भनाइ छ।

उहाँले यस शैक्षिक मेलाको भनेजस्तो प्रचारप्रसार गर्न नसकिएको गुनासो गर्नुभयो।

उहाँले भन्नुभयो, “यद्यपि के छ भने यसलाई अलि लामो विज्ञापन गरेर हामी अगाडि जान सकिएन। किनभने, अस्ति भर्खर शुक्रबार मात्रै यो अन्तिम रूपमा टुङ्गियो। यसले प्रचारप्रसारको क्रमलाई अलि तीव्र बनाउन नसकेको हुनाले जति अपेक्षित लक्ष्य चाहिँ हासिल गर्न सकेन। तर, एउटा भविष्यको निम्ति सहकार्य गरेर अगाडि बढौँ भन्ने खालको परिणाम यसले निकालेको छ। यो सकारात्मक कुरा हो।”


उहाँले मेलाको उद्देश्य शिक्षालाई सीपसँग जोड्ने र रोजगारी सिर्जना गर्नु रहेको उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, “महानगरसँग मिलेर गरेका छौँ, यसका दुई, चार वटा कुरा भविष्यमा पनि सहकार्य गर्ने भनेर भनेका छौँ। कसरी बढीभन्दा बढी यो शिक्षासँग सीपलाई जोड्न सकिन्छ, रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ। हामीसँग भएको स्ट्रेन्थ र काठमाडौँ महानगरसँग भएको स्रोत, साधन कसरी दुवै पक्ष मिलेर सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने भएको छ। यसलाई हामीले सकारात्मक नै मान्नुपर्छ।” 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।