• १२ साउन २०८१, शनिबार

बहुमुखी व्यक्तित्व र कृतित्व

blog

आधुनिक नेपालीय भोजपुरी साहित्यको विकास तथा संवर्धनमा निकै ठुलो भूमिका निर्वाह गर्ने र आफ्नो जीवनको अन्तिम कालसम्म भोजपुरी भाषा र साहित्यकै समृद्धि तथा सम्पन्‍नताका लागि चिन्ता र चिन्तन गरिरहने साहित्यकार पं. दीपनारायण मिश्रको जन्म आजभन्दा ८९ वर्षअघि यो धर्तीमा भएको थियो । ब्राह्मण कुलमा जन्मेका पं. मिश्रले पाएको ८५ वर्षको आयुमा आफ्नो वैयक्तिक जीवनका साथै सार्थक साहित्यिक जीवन बाँचेको पाइन्छ । यिनको वैयक्‍ितक एवं साहित्यिक जीवनको मूल्याङ्‍कन यिनलाई भोजपुरी समाजले यिनी मृदुभाषी हुनाका साथै आफ्नो भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धनका लागि निरन्तर चिन्तन गर्ने व्यक्तित्व पाएको र यिनको साहित्यिक सेवाको उच्च कदर तथा मूल्याङ्‍कन गरेर नै यिनलाई ‘भीष्मपितामहका रूपमा चिन्ने गरेको पाइन्छ । भोजपुरी भाषामा पत्रिका प्रकाशन गरेक‍ो र पत्रिकामा लेखिएको एउटा कविता ‘राजा के मान में प्रजा के शान बा’ को भाव गलत ढङ्‍गले अथ्र्याइएको नाताले तत्कालीन व्यवस्था अनुरूप दिनभरि अञ्चलाधीशको कार्यालयमा लगभग कैदी सरह रहेका ‘मिश्र’ ले भोजपुरी भाषा र साहित्यको उन्नयनका लागि, एक किसिमले आफ्नो सम्पूर्ण जीवन नै अर्पित गरेको देखिन्छ । 

नेपालमा भोजपुरी भाषा र साहित्यको संवर्धन र विकासका लागि जेजे काम गर्न सकिन्छ, त्यो त्यो काम गर्दै जीवनयापन गर्ने पं. मिश्रले काव्यसाधना, पत्रिकाको सम्पादन, प्रकाशन, साहित्यिक संस्थाको गठन गर्नुका साथै २०४४ सालदेखि बाँचुन्जेल प्रत्येक वर्ष गोपाष्टमीको अवसरमा ‘भोजपुरी कवि सम्मेलन’ गराउने कार्यको सम्पादन गरेको पाइन्छ । यति मात्र होइन, भोजपुरीको उद्‍गमस्थल भारतका विभिन्न ठाउँमा आयोजना हुने भाषिक तथा साहित्यिक सङ्गोष्ठीहरूमा नेपालका तर्फबाट सहभागी भई नेपाल र भारतका भोजपुरी साहित्यिक जगत्का बिच सूत्रधारका रूपका कार्य गर्दै नेपालीय भोजपुरी भाषा र साहित्यको विकासमा महìवपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । 

प्रारम्भिक दिन

दीपनारायण मिश्रको जन्म सन् २ मार्च १९३५ अर्थात् विसं १९९१ साल फागुन २ गतेका दिन हाल मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज, रेशमकोठीमा माता स्व. राजकली देवी र पिता स्व. रघुनन्दन मिश्रको कोखबाट भएको थियो । यिनी ब्राह्मण कुलमा जन्मेका नाताले आफ्ना आमाबुवाबाट प्राप्त गरेको धार्मिक संस्कारबाट पूर्णरूपेण गुम्फित थिए । यिनी मध्यम वर्ग परिवारमा जन्मेका र यिनको पिताले आफ्नो जीवन कर्मकाण्डी ब्राह्मणकै रूपमा बिताएका नाताले यिनको बाल्यकाल अन्य मध्यम वर्गीय परिवारका बालबालिकाहरू झैँ सामान्य रूपमै बितेको थियो । यिनले संस्कृतमा साहित्याचार्य गरेका थिए र आजीवन शिक्षण पेसामा आबद्ध रही विसं २०७६ वैशाख २० गतेका दिन आफ्नै निजी निवासमै मृत्यु वरण गरेका थिए । शिक्षणका साथै यिनको जीवन पण्डित्याइँ कर्म र साहित्य साधना कर्ममा बितेको थियो । 

२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नेपालका विभिन्‍न भाषामा साहित्य सिर्जनाका लागि अनुकूल वातावरण सिर्जित भयो । विसं २००९ मा वीरगन्जमा ठाकुरराम कालेज (वर्तमानमा ठाकुरराम बहुमुखी क्याम्पस) को स्थापना भएपछि र त्यसमा हिन्दीका प्राध्यापकका रूपमा रामदेव द्विवेदी ‘अलमस्त’ को आगमन र उनको अगुवाइमा वीरगन्जमा हिन्दी र भोजपुरी कवि गोष्ठीको आयोजना प्रारम्भ हुन थालेपछि यिनको रूझान साहित्य साधना आकर्षित भएको देखिन्छ । पं. दीपनारायण मिश्रको साहित्यिक सिर्जनाको सुरुवात विसं २००९ को दशकदेखि भएको पाइन्छ । आज यी दुवै साहित्यिक मनीषी भौतिक रूपमा हामीबिच नभए पनि आफ्नो साहित्यिक सुकर्मकाट जीवित छन् ।

साहित्यिक व्यक्तित्व 

पं. दीपनारायण मिश्र बहुआयामिक प्रतिभाका धनी थिए । यिनी भोजपुरी, नेपाली र हिन्दी भाषामा समान अधिकारले कलम चलाउने गरेका थिए । यिनका भोजपुरी र हिन्दी भाषामा लेखिएका साहित्यिक कृतिहरू प्रकाशित छन् । यिनका प्रकाशित साहित्यिक कृतिहरूका आधारमा हेर्दा यिनी मूलतः काव्य प्रतिभा थिए भन्ने तथ्य प्रमाणित हुन्छ । यद्यपि यिनको कलम आख्यान र साहित्येतर क्षेत्रमा चलेको पनि पाइन्छ । यहाँनिर ‘मिश्र’ को साहित्यिक व्यक्‍ितत्वबारे यस प्रकार चर्चा गरिएको छ । पं. दीपनारायण मिश्र मूलतः कवि हुन् । यिनका प्रकाशित कृतिहरूमा अधिकांश काव्यकृति नै रहेका छन् । यिनले फुटकर कविताका साथै खण्डकाव्य पनि लेखेका छन् । पं. दीपनारायण मिश्रद्वारा लेखिएको यो उनको पहिलो प्रकाशित कृति हो । विसं २०१५ मा प्रकाशित ‘अजामिल’ (खण्डकाव्य) लाई नेपालीय भोजपुरी साहित्य जगत्मा पहिलो खण्डकाव्य हुने श्रेय प्राप्त रहेको छ (अश्क ः २०७९, पृ.सं. १००) । यस खण्डकाव्यमा कवि ‘मिश्र’ ले’ ऋषि अजामिलको जीवनवृत्तिलाई विषयवस्तु बनाएको पाइन्छ । पं. दीपनारायण मिश्रले कथा, निबन्ध, लेख आदि लेखे पनि मूल रूपमा एक काव्य प्रतिभा नै थिए । यिनको कवि व्यक्‍ितत्व फुटकर काव्य लेखनदेखि लिएर खण्डकाव्यसम्म विस्तृत रहेको पाइन्छ । यहाँनिर यिनका प्रकाशित काव्यकृतिबारे सङ्‍क्षिप्तमा यस प्रकार चर्चा गरिएको छ । 

कवि व्यक्तित्व

विसं २०३९ मा भोजपुरी पुस्तक माला, रेशम कोठी, वीरगन्जबाट प्रकाशित ‘अंजुरी के फूल’ लाई कवि पं. दीपनारायण मिश्रले नेपाल राष्ट्रिय भोजपुरी कविता सङ्कलन भनेर उद्‍घोष गरेका छन् । यस काव्य सङ्‍ग्रहमा ‘नेपाल माई’, जगत में सुनर आपन देश, हिमाल, नया वर्ष के शुभकामना, विनय, मन हो अबहुँ अँखिया खोल, बुरा एकरा से का होला, पहिचान, के हमनी के राह देखाई, विधि के प्रपंच, मन के लालसा, शान्ति के सन्देश, राम राज, सच्चा सपुत, देशवासी से निहोरा, मानवता अब काँप रहल बा, कर्मवीर, विकास गीत, किसान भाइ, प्रकृति के प्रिय पात्र, देश में नयाँ जीवन लहरा दीं, बनऽ तु सच्चा वीर जवान, ना मालुम आगे का होई, राजमुकुट, राष्ट्रिय पर्व पुस १४ गते, पुष्पाञ्जली, विकास प्रेमी श्री ५ वीरेन्द्र, उदार राजमाता ऐश्वर्य राजलक्ष्मी, प्रजावत्सल श्री ५ महेन्द्र, स्व. श्री ५ महेन्द्र प्रति, राष्ट्रिय पर्व, श्री ५ त्रिभुवनप्रति, धरती के सरग बना देहलन, इ राष्ट्रिय पर्व महान्, श्री पृथ्वी नारायण शाह देव, भानु भक्त, सीता मइया र बलभद्र थापा शीर्षकका कविताहरू सङ्‍गृहीत रहेका छन् । कविताहरूको शीर्षकबाट नै सम्बन्धित कविताहरूको विषयवस्तुबारे मोटामोटी रूपमा थाहा हुन जान्छ । यस काव्यकृतिका सङ्कलित रहेका कविताहरूमा नेपाल देश, नेपालको सर्वोच्च शिखर हिमालय, राजमुकुट, राष्ट्रिय पर्व पुस १४ गते, विकास प्रेमी श्री ५ वीरेन्द्र, उदार राजमाता ऐश्वर्य राज्यलक्ष्मी, प्रजावत्सल श्री ५ महेन्द्र, स्व. श्री ५ महेन्द्रप्रति, श्री ५ त्रिभुवनप्रति, श्री पृथ्वी नारायण शाह देव शीर्षक कविताहरूमा राजपरिवार र राजाहरूको गुण गाइएको पाइन्छ । बाँकी कवितामा कतै वीरता, कतै समाजबाट हराइरहेको मानवता, कतै आदिकवि भानुभक्‍त आचार्यको गाथा त कतै सीता र बलभद्र थापाको गाथा गाइएको देखिन्छ । 

कविवर पं. दीपनारायण मिश्रका भोजपुरी कविताहरूको सङ्‍ग्रह फूलझरी विसं २०४६ मा भोजपुरी पुस्तक माला, रेशमकोठी, वीरगन्जबाट प्रकाशित भएको पाइन्छ । यस काव्य सङ्‍ग्रहमा मानवता के राह, शिवजी से निहोरा, लक्ष्मी तोहरा के गोहराई, गाई के माई समझिले, भइया उहे सभ्य कहावे, केहु तरे मन्त्री हो पइतीं, समय के फेरा, के इमरी रस घोरे, भइया मालो माल हो जाई, इ हई नारद के नानी, दहेज, चमचा, का कहीँ कुछ कहल ना जाता, चारु ओरे दुनिया में ये लो के चानी बा, लोकगीत, दर्पण, नकली नयका नेता, बापु मर के अमर भइलन, रिमझिम बरसे कारी बदरिया, नयाँ जुग के नया अर्थ र नेपाल माँ के गोहार शीर्षकका कविताहरू सङ्कलित रहेका छन् । यस काव्यकृतिमा सङ्कलित कविताहरूको विषयवस्तुमा विविधता पाइन्छ । कतै मानवताको बाटोबारे चर्चा गरिएको छ (मानवता के राह), कतै भगवान् शिवजीसँग अनुनय विनय गरिएको छ (शिवजी से निहोरा), कतै धनको देवी लक्ष्मीको प्रार्थना गरिएको छ (लक्ष्मी तोहरा के गोहराई) भने कतै गाईलाई आमा मान्दै त्यसको गुण गाइएको छ) गाई के माई समझिले । साथै यस काव्यसङ्ग्रहमा सङ्कलित रहेका केही कविताहरूमा सामाजिक र राजनीतिक विसङ्‍गतिलाई रेखाङ्‍कित गरिएको छ । ‘दहेज’ शीर्षकको कवितामा तराई मधेशमा व्याप्त रहेको दाइजो प्रथाको विकृति भाव बनेर आएको छ भने चमचा शीर्षक कवितामा आफ्नो स्वार्थ सिद्ध गर्ने चमचागिरी प्रवृत्तिलाई विषय बनाइएको छ । प्राकृतिक अवयवहरूलाई पनि काव्यको विषयवस्तु बनाइनुका साथै (रिमझिम बरसे कारी बदरिया) नयाँ युगको नयाँ अर्थलाई पनि रेखाङ्‍कित गरिएको छ (नयाँ जुग के नयाँ अर्थ) । यहाँसम्म आई पुग्दा कविको मन मस्तिष्क सामाजिक तथा राजनीतिक यथार्थबाट आलोकित भएको पाइन्छ । 

कवि दीपनारायण मिश्रको काव्यसाधनाको उद्देश्य समाजबाट हराइरहेको आदर्शवादलाई पुनः स्थापित गर्नु रहेको देखिन्छ । उनका अधिकांश कविताहरूमा कुनै न कुनै उपदेश दिएको भेटिन्छ, जब कि काव्यमा उपदेश होइन सन्देशको ठाउँ हुनु पर्दछ । कवि ‘मिश्र’ को जात, उनमा रहेको संस्कारका साथै उनले हासेल गरेका शिक्षा एवं जीवनयापनका लागि अख्तियार गरेको क्षेत्र ‘शिक्षण क्षेत्र’ र ‘कर्मकान्ड जजमानीबाट उनको काव्यसाधना प्रभावित रहेको अन्दाज लगाउन सकिन्छ । पं. दीपनारायण मिश्रद्रवार विरचित नीतिगत दोहाहरूको सङ्कलन ‘दोहा नीति सार’ विसं २०४९ मा भोजपुरी पुस्तक माला, रेशमकोठी, वीरगन्जबाट प्रकाशित देखिन्छ । शीर्षकबाट नै विषय प्रस्टिन्छ । यस काव्यसङ्‍ग्रहलाई कवि मिश्रले नै ‘दोहा छन्द में नीतिसम्बन्धी विषय के सङ्कलन’ (अर्थात् दोहा छन्दमा नीतिसम्बन्धी विषयको सङ्कलन) भनी उद्‍घोष गरेको नाताले विषयवस्तुको बारेमा धेरै अलमल हुनुपर्ने सवालै रहेन । यस दोहा सङ्‍ग्रहमा करिब ८७८ वटा दोहा सङ्कलित छन् ( मिश्रः २०४९, मन्तव्यबाट) । यस काव्यकृतिमा सङ्कलित दोहाहरूमा कविका विभिन्न शास्त्रसम्बन्धी अध्ययन र जीवनसम्बन्धी विभिन्न अनुभवको सार रेखाङ्‍कित छन् । यसमा नीति, धर्म, राजनीति, काम, मानव स्वभाव एवं वर्तमान समयको सामाजिक यथार्थ प्रतिविम्बित रहेको छ । यति मात्र होइन, यस कृतिमा कतै हितोपदेश त कहीँ चाणक्यनीति आदि संस्कृत ग्रन्थहरूमा अभिव्यक्‍त भाव तथा विचारलाई पाउन सकिन्छ । 

विसं २०६० मा पं. दीपनारायण मिश्र वाङ्‍मय संस्थान, वीरगन्जबाट दीर्घ व्यङ्‍ग्य कविताको कृति ‘ए घरी के घरनी प्रकाशित भएको पाइन्छ । ‘ए घरी के घरनी’ को नेपाली शब्दानुवाद हो– हिजोआजका श्रीमतीहरू । यस काव्यकृतिमा मुख्य रूपमा आधुनिक नारीहरूको भावभङ्गीमा तथा आफ्नो घर, श्रीमानप्रति उब्जेको वितृष्णा क्षोभ आदिलाई विषयको रूपमा प्रतिपादित गरिएको छ । आज आधुनिक नारीको विभिन्न रूपरङको जीवन्त चित्रण गरिएको प्रस्तुत काव्यकृति व्यङ्‍ग्य रसमा ओतप्रोत रहेको रहेको छ । कवि स्वयंले भनेका छन्– यतिखेरको आधुनिक र प्राचीन वातावरणमा हुर्केका केही महिलाको स्वभाव, परिवारप्रति उदासीनता आदि जीवनको रूपरेखालाई व्यङ्‍ग्यात्मक शैलीमा चित्रण गरिएको छ । 

प्रस्तुत काव्यकृतिमा प्रतिपादित विषय र त्यसको निर्वहनलाई हेर्दा कवि मिश्र परम्परावादी सोचबाट ग्रसित भएको व्य‍क्तिका रूपमा देखिन्छन् । यो स्वाभाविक पनि हो । उनको पारिवारिक र सामाजिक पृष्ठभूमिकाट यो सिद्ध पनि हुन्छ । नेपालीय भोजपुरी साहित्यजगत्मा दीर्घकविता रूपमा यस काव्य कृतिले प्रथम हुने श्रेय पाएको छ । 

पं. दीपनारायण मिश्रका हास्यव्यङ्ग्य कविताहरूको सँगालो असली नेता हम कहाईं विसं २०६० मा भोजपुरी पुस्तक माला, रेशमकोठी, वीरगन्जबाट प्रकाशित रहेको देखिन्छ । यस काव्यकृतिमा ‘नेता’ लाई मुख्य विषयका रूपमा रेखाङ्‍कित गरिएको छ । यो पनि दीर्घकविता नै हो । हाम्रो देशका नेताहरूको चरित्र के कस्तो रहेको छ भन्ने भाव नै यस काव्यकृतिको भावभूमि हो । यस काव्यकृतिको पुछारमा एउटा राष्ट्रिय गीत शीर्षकको कविता राखिएको छ, नत्र भने पूरै कृतिमा नेतालाई नै विषय बनाएर काव्य लेखिएको छ । वर्तमान समयमा नेपाल र नेपालीलाई देशको राजनीति र राजनीति गर्ने नेताहरूले नराम्री प्रभावित गरेको छ, यही भावलाई कवि ‘मिश्र’ ले आफ्नो यस काव्यकृतिमा चित्राङ्‍कित गरेका छन् । नेताहरूको रजाइँ गर्ने बानी र उनीहरूको जीवनशैली देखेर कविले व्यङ्‍ग्य गर्दै भनेका छन्, ‘कास, असली नेता म हुन पाउँथेँ ।’ 

पं. दीपनारायण मिश्रद्वारा लेखिएको व्यङ्‍ग्यकाव्य ‘ससुरार’ विसं २०७० प्रकाशित भएको पाइन्छ । यसको प्रकाशक पं. दीपनारायण वाङ्‍मय संस्थान, वीरगन्ज रहेको छ । यस काव्यग्रन्थमा कविवर मिश्रले ससुराली खलकका नातेदारहरू के कति प्रिय हुन्छन् र ससुरालीमा रहँदा बस्दा ज्वाइँहरूको हालत के कस्तो हुन्छ भन्ने भाव जीवन्त तरिकाबाट रेखाङ्‍कित गरेका छन् । यस काव्यकृतिलाई मुख्य रूपमा ‘ससुरार’, ‘सासजी’, ‘ससुरजी’, ‘सारजी’, ‘सरहजजी’ र ‘सारिन’ शीर्षकमा लेखी भाव व्यञ्जित गरिएको छ । सासू, ससुरा, सालो, साली आदि ससुराली खलकका आफन्तहरू अति प्रिय लाग्ने र आफ्ना आमाबुवा, दाजुभाइ, दिदीबहिनी आदि आफन्तहरू उनीहरूको तुलनामा त्यति प्रिय नलाग्ने भावभूमिमा यो काव्यग्रन्थ विरचित रहेको पाइन्छ । साथै ससुरालीमा घरज्वाइँ भएर बस्नेहरूको जीवन धोबीको कुकुर जस्तो हुने गरेको भाव पनि यस काव्यग्रन्थमा वर्णित रहेको छ । 

आख्यानकार व्यक्तित्व 

पं. दीपनारायण मिश्रका कविताका साथै केही कथाहरू पनि लेखेका छन् । यिनको कलमबाट भोजपुरी र हिन्दी भाषामा कथाहरू लेखिएको मात्र होइन, कथासङ्‍ग्रहसमेत प्रकाशित भएका पाइन्छन् । यहाँनिर आख्यानकार पं. दीपनारायण मिश्रका कथासङ्‍ग्रहका बारेमा सङ्‍क्षिप्त रूपमा यस प्रकार चर्चा गरिएको छ । 

पं. दीपनारायण मिश्रका भोजपुरी कथाहरूको सँगालोको नाम हो करनी भरनी । यो कथासङ्‍ग्रह विसं २०६६ सालमा पं. दीपनारायण मिश्र वाङ्‍मय संस्थान, वीरगन्जबाट प्रकाशित रहेको छ । यस कथाकृतिमा मुखिया जी, अब का होखी, अनाथ के आह, बहकल के दवाई, करनी–भरनी, माई के ममता, बाबा, सरिता, बेमेल विआह, डाकू के जवानी ओकर कहानी र एगो प्रवासी माई से भेंट शीर्षकका नौ वटा कथा सङ्कलित रहेका छन् । कथाकार मिश्रका प्रत्येक कथामा कुनै न कुनै शिक्षा उपदेश नीति र आदर्शका कुरा पस्किएको पाइन्छ । सरल तथा वर्णन शैलीमा लेखिएका कथाहरू बुझ्न खासै परिश्रम गर्नु पर्दैन । यिनका कथाहरू सामाजिक सङ्‍गति– विसङ्‍गति, आशा–निराशा, सन्तोष–असन्तोष आदिको भावभूमिमा आधारित रहेक छन् । पं. दीपनारायण मिश्रले यद्यपि मुख्य रूपमा भोजपुरी भाषामै कलम चलाउने साहित्यकार हुन् तथापि यिनका हिन्दी भाषामा पनि लेखिएका रचनाहरू प्रकाशित रहेका पाइन्छन् । यिनका हिन्दी भाषामा लेखिएका कथाहरूको सँगालो ‘उत्सर्ग’ विसं २०४८ मा भोजपुरी पुस्तक माला, रेशमकोठी, वीरगन्जबाट प्रकाशित रहेको पाइन्छ । यस कथासङ्‍ग्रहमा इमानदारी, जीवनसङ्गिनी, बुद्धम् शरणम् गच्छामि, साधना र परिचय शीर्षकमा पाँच वटा कथा सङ्कलित छन् । यस कथाकृतिमा कतै इमानदारिताको चित्रण पाइन्छ भने कतै गान्धीवादको झलक पाइन्छ, कतै मानवीय धर्मको व्याख्या गरिएको भेटिन्छ भने कतै बौध धर्मको निरूपण गरिएको छ । साथै कुनै कुनै कथामा आदर्श नारीको चरित्र चित्रण गरिएको छ । यस कथाकृतिमा प्रयोग गरिएको भाषा सरल तथा संस्कृतिनिष्ट रहेको छ । प्रस्तुत कथासङ्‍ग्रहका कथाहरू लेख्‍नुको उद्देश्य समाजलाई शिक्षा, नीति, आदर्शको पाठ पढाउनु देखिन्छ ।

सम्पादक व्यक्तित्व 

पं. दीपनारायण मिश्र सदैव भोजपुरी भाषा र साहित्यको मानकीकरण तथा विकासका लागि चिन्तन गरिराख्‍ने व्यक्तित्व देखिन्छन् । एकातिर भोजपुरी भाषामा विभिन्न विधाका कृतिहरू प्रकाशित गरे गराएको देखिन्छ भने अर्कोतिर समय समयमा भोजपुरी भाषाबारे चिन्ता र चिन्तन गरेको देखिन्छन् । सन् १९९५ मा भारतको देवरिया, उत्तर प्रदेशमा भएको प्रथम विश्व भोजपुरी सम्मेलनमा प्रकाशित सेतु (सम्पा. अरूणेश निरन तथा अन्य) मा पं. दीपनारायण मिश्रद्वारा लिखित र सङ्कलित ‘भोजपुरी संस्कृत के केतना नियरे’, गमक (सम्पा. गोपाल अश्क, २०५१, वर्ष १, अङ‍्‍क १) मा प्रकाशित ‘भोजपुरी के अपार शब्द भंडार’ र गमक (सम्पा. गोपाल अश्क, २०५२, वर्ष १, अङ्‍क ३) मा प्रकाशित ‘कहाउत’ शीर्षकको लेखले यो कुरो प्रमाणित गर्दछ । पं. दीपनारायण मिश्र एक कुशल सम्पादक तथा कर्मक प्रकाशकका रूपमा पनि देखा पर्दछन् । यिनले नेपालमा भोजपुरी भाषा र साहित्यको संरक्षण र संवर्धनका लागि साहित्यिक पत्रिकाको प्रकाशनको आवश्यकता महसुस गरी विसं २०२९ सालमा ‘सनेस’ (भोजपुरी सामयिक सङ्कलन) नामक भोजपुरी साहित्यिक पत्रिकाको प्रकाशन तथा सम्पादन गरेको देखिन्छ । यो पत्रिका विसं २०२९ कात्तिक २२ गते तत्कालीन महारानीको जन्मोत्सवको उपलक्ष्यमा प्रकाशित भएको थियो भने त्यही वर्ष पुस १४ गतेका दिन तत्कालीन महाराजाधिराजको जन्मदिवसको अवसरमा निस्केको थियो । तर यो पत्रिका तीन वर्षसम्म प्रकाशित भएर बन्द हुन पुग्यो । त्यसपछि विसं २०३० मा पं. दीपनारायण मिश्रको एकल सम्पादकत्वमा ‘समाद’ नामक अनियतकालीन भोजपुरी साहित्यिक पत्रिका प्रकाशित भयो । 

यी दुवै साहित्यिक पत्रिकाका माध्यमबाट नेपालमा भोजपुरी भाषा र साहित्यको विकासमा सहयोग पुगेको कुरालाई नकार्न सकिँदैन । कवि ‘मिश्र’ को सम्पादकत्व र नेपाल भोजपुरी कला परिषद्, वीगन्जको प्रकाशकत्वमा ‘सनेस’ नाम गरेकै एउटा कविता सङ्‍ग्रह प्रकाशित भएको पाइन्छ, जसमा विसं २०४६ मा आयोजित कवि सम्मेलनमा सहभागी कविहरूद्वारा पाठ गरिएका कविता सङ्कलित छन् । यसैगरी पं. दीपनारायण मिश्रको प्रकाशक व्य‍क्तित्व पनि उजागर भएको पाइन्छ । यिनले ‘भोजपुरी पुस्तक माला’ नामक प्रकाशन संस्था खोली आफ्ना कृतिहरू प्रकाशित गराएको देखिन्छ ।

सङ्गठक व्यक्तित्व

पं. दीपनारायण मिश्रको सङ्गठक व्यक्तित्वबाट नेपालीय भोजपुरी समाज परिचित रहेको छ । नेपालमा भोजपुरी भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि एउटा संस्थाको आवश्यकता महसुस गरी यिनले विसं २०२९ असोजमा आफ्नै अध्यक्षतामा नेपाल भोजपुरी साहित्य परिषद्को गठन गरेको देखिन्छ, जसमा राजेद्रप्रसाद बरनवाल (सचिव), रामचन्द्रप्रसाद वर्णवाल (उपसचिव), लछुमनप्रसाद मदेसिया (कोषाध्यक्ष), रामचन्द्र चतुर्वेदी, मोहनलाल गुप्ता, रेवती चौधरी, शिवशङ्‍करप्रसाद रौनियार, वीरेन्द्रकुमार वर्णवाल, शुकदेवप्रसाद गुप्ता, मंकेश्वरप्रसाद वर्णवाल, कृष्णकुमार ओझा र रामप्रसाद राय थारू आदि सदस्य थिए । यी सबै जना नेपालीय भोजपुरी साहित्यकारका रूपमा स्थापित छन् । पछि यो संस्था नेपाल भोजपुरी समाजको नामबाट दर्ता भयो, जो आज पनि जीवित छ र आफ्नो उद्देश्य अनुसार कार्य गरिराखेको छ ।

पुरस्कृत तथा सम्मानित व्यक्तित्व

पं. दीपनारायण मिश्रलाई उनको साहित्यिक योगदानको कदर स्वरूप बेला बेलामा भोजपुरी समाज, साहित्यिक सङ्घ संस्थाका साथै नेपाल सरकारले पनि सम्मान गरेका छन् । यिनलाई नेपाल सरकाले ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले ‘मायादेवी प्रज्ञा पुरस्कार’बाट सम्मान गरिसकेका देखिन्छ । 

वीरगन्ज उद्योग वाणिज्य सङ्घ, वीरगन्ज महानगपालिकाका साथै स्थानीय साहित्यिक सङ्घ– संस्थाले यिनको योगदानको कदर गर्दै ‘नागरिक अभिनन्दन’ गरेको पाइन्छ । यिनले आफ्नो जीवनमा पाएको सबैभन्दा ठुलो सम्मान भनेको नेपालका केवल भोजपुरी साहित्य जगत् मात्र होइन, अन्य भाषाभाषीद्वारा स्वीकारिएको पदवी ‘नेपालीय भोजपुरी साहित्यको भीष्मपितामह’ हो ।