• १३ साउन २०८१, आइतबार

अत्यधिक गर्मीले पठनपाठनमा समस्या

blog

धनगढी समाचारदाता

धनगढी, जेठ १९ गते । अत्यधिक गर्मीका कारण कैलालीसहित तराईका विद्यालयमा पठनपाठनमा समस्या भएको छ । गर्मीले गर्दा विद्यार्थीलाई विद्यालय आउजाउ गर्न र कक्षाकोठामा बस्न गाह्रो भएपछि पठनपाठन प्रभावित हुन थालेको हो । गर्मीले गर्दा कतिपय विद्यार्थी बिरामीसमेत पर्न थालेका छन् । विद्यार्थीमा बान्ता हुनेलगायतका समस्या आउन थालेका छन् । 

बुधबारदेखि पश्चिम तराईमा तातो हावा र तातो लहरसमेत चल्न थालेपछि यस्तो समस्या झन् जटिल बन्दै गएको अभिभावक हर्कबहादुर ओलीले बताउनुभयो । उहाँले गर्मीका कारण आफ्नो छोरा विद्यालयमै बिरामी परेको जानकारी दिनुभयो । “बान्ता गर्ने समस्या देखिएपछि आधा दिनमै विद्यालयबाट घर ल्याएँ,” उहाँले भन्नुभयो । 

कक्षाकोठामा भन्दा बरु बाहिर अलि राहत हुने गरेको विद्यार्थी बताउँछन् । उनीहरूका अनुसार पङ्खा चले पनि कक्षाकोठाभित्र सहनै नसक्ने गर्मी हुन्छ । पसिनाले निथ्रुक्क भिजेर कोठामा बस्नु परेको विद्यार्थी पुनम चौधरीले बताउनुभयो । 

यहाँका कतिपय विद्यालयले कक्षाकोठामा एसी लगाएका छन् तर गर्मी बढेकै बेला विद्युत्ले धान्न नसक्ने भएकाले पङ्खा, एसी भएका विद्यालयमा पनि विद्यार्थीलाई राहत हुन नसकेको धनगढीस्थित चैतन्य पाठशालाका शिक्षक अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरीले बताउनुभयो । उहाँले थप्नुभयो, “हाम्रो विद्यालयको हरेक कक्षाकोठामा पङ्खा र एसी लगाइएको छ तर विद्युत् पावर कम हुँदा त्यसले राहत दिन सकिरहेको छैन । एसी र पङ्खाले काम नगरेपछि विद्यार्थीलाई समस्या भइरहेको छ । विद्यालय बिदा भएपछि गाडीभित्र बसेका सबै विद्यार्थी पसिनाले भिज्ने गरेका छन् ।” 

तातो हावा ‘लु’ चल्न थालेपछि बुधबारदेखि तापक्रम अत्यधिक बढेको छ । बिहीबार धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको थियो भने शुक्रबार झन् तातो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार २९ वर्षपछि धनगढीको तापक्रम उच्च मापन गरिएको हो । तातो हावा अझै चलिरहेकाले तापक्रम झन् बढ्न सक्ने सो कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले बताउनुभयो । उहाँका अनुसार यसअघि सन् १९९६ मा कैलालीको तापक्रम सबैभन्दा बढी ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । 

गर्मी बढेपछि धनगढी उपमहानगरपालिका र लम्कीचुहा नगरपालिकाले विद्यालयमा बिदा दिएका छन् । पालिकाले बिदा दिए पनि कतिपय विद्यालयमा पठनपाठन अझै जारी छ । गर्मीले मजदुरलाई पनि काम गर्न समस्या भएको छ । गर्मीमा काम गर्दा ‘डिहाइड्रेसन’ को समस्या देखिने गरेको अटोचालक विष्णु चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “शरीरमा पानी कम भएर मैले तीन दिनदेखि अटो चलाउन सकेको छैन । चिकित्सकको सल्लाह अनुसार जीवनजल पानी खाइरहेको छु ।”