• २९ असार २०८२, आइतबार

काठमाडौँका सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी र डिजिटल शिक्षा व्यवस्थाको घोषणा

blog

काठमाडौँ, असार २९ गते । काठमाडौँ महानगरपालिकाले १७ औँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२-८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मेयर बालेन्द्र शाहले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसाबले नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।

काठमाडाैँ महानगरपालिकालाई समावेशी सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, नवप्रवर्तनमुखी स्मार्ट सहरका रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, सांस्कृतिक तथा सम्पदा संरक्षण र दिगो सहरी विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको उहाँकाे भनाइ छ । 

बालेन शाहले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममा २०८१-८२ मा कार्यान्वयन हुन बाँकी नीति तथा कार्यनीतिहरू र सम्पन्न हुन बाँकी योजनाहरूलाई निरन्तरता दिइनेछ । आवधिक रणनीतिक तथा क्षेत्रगत नीति तर्जुमालाई पूर्णता दिइनेछ । 

नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिष्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रम अनुसार समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बीउ पुँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि अगाडि बढाइनेछ । 

सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षा उद्यमशीलता क्लब स्थापना गरिनेछ । शारीरिक रुपमा अशक्त (अपाङ्गता) , अटिजम, फरक क्षमता भएका विद्यार्थीका लागि विशेष शिक्षण केन्द्र र पहुँच पुर्‍याउन सोही अनुसारका पूर्वाधार निर्माण गर्ने जस्ता नीति लिइएको छ ।