• १३ असोज २०८१, आइतबार

पशुमा पनि बाँझोपन

blog

मानिसलाई जसरी नियमित रूपमा जाँच, औषधि उपचार, सरसफाइ आवश्यक पर्छ त्यसरी नै पशुलाई पनि ध्यान नदिने हो भने अनेकौँ रोगले सताउँछ । त्यस्तै सामान्य कुरामा ध्यान दिन नसक्दा नेपाली पशुपालक किसानले वार्षिक अर्बाैं रुपियाँ बराबरको क्षति बेहोरिरहेका छन् । 

नेपालका किसानले धेरै क्षति बेहोर्नेमध्येको एउटा समस्या बनेको छ पशुमा हुने बाँझोपन । पशु एकपटक ब्याउँछ अनि ब्याउँदैन । जसको कारण महँगोमा किनेर ल्याइएको भैँसीलाई सस्तोमा बेच्नुपर्ने अवस्था सिर्जना भएको छ । 

बाँझोपनको समस्याले नेपाली किसानले वार्षिक अर्बौं रुपियाँको क्षति बेहोरिरहेका छन् । देशव्यापी २० प्रतिशत पशुमा बाँझोपनको समस्या देखिने गरेको छ । यो भनेको प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या हुनु हो । 

नेपालमा लगभग ७३ लाख गाई र ५१ लाख भैँसी छन् तर बाँझोपनको समस्या देखिँदा किसानको गोठ नै रित्तो हुने अवस्था उत्पन्न भएको छ । त्यसमा धेरैको चासो र चिन्ता हुने गरेको छैन । पशुमा बाँँझोपन हुनुमा किसान आफैँ पनि दोषी छन् । पशुको ख्याल गर्दैनन् । सफाइमा ध्यान दिँदैनन् । नियमित पानी, आहारा र औषधि खुवाइँदैन । 

पशु चिकित्सकले पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेको उल्लेख गर्छन् । पशुका न्यूनतम अधिकार भए पनि सामान्य कुरामा ध्यान दिन नसक्दा किसान ठूलो आर्थिक क्षति बेहोर्न बाध्य छन् । 

पशुविज्ञ डा. लोकनाथ पौडेल यस विषयमा स्पष्ट छन्, किसानले दुःखकष्ट सहेर हुर्काएका पशुमा बाँझोपनको समस्या देखिँदा त्यसले समग्र अर्थतन्त्रलाई असर पारिरहेको छ । दूध उत्पादनमा असर परेर किसानको आर्थिक अवस्था कमजोर भइरहेको छ । 

दूध उत्पादन गर्ने भैँसी मासुका लागि प्रयोग गर्दा किसानले ठूलो नोक्सानी बेहोर्नुपर्छ । शहर नजिकै रहेको ठाउँका किसानले थारो भैँसीको राम्रो मूल्य पाए पनि विकट गाउँका किसानलाई ठूलो आर्थिक क्षति भइरहेको छ । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालको भनाइमा पोषिलो आहारमा ध्यान पु¥याउन सके पशुमा हुने बाँझोपनको समस्या कम हुन सक्छ । 

पशुलाई टन्न खुवाएर मात्र हुँदैन शरीरमा आवश्यक पर्ने प्रोटिन, चिल्लो पदार्थ, खनिज पदार्थ, भिटामिन, कार्बाेहाइड्रेट मिलाएर खुवाउनुपर्छ । यस विषयमा किसानको ध्यान जान सकेको देखिँदैन । समयमै खाना खान नपाउने र समयमै नाम्ले तथा जुकाको औषधि नदिने आम किसानको बानीले पनि बाँझोपनको समस्या बढिरहेको छ । 

पशु प्राविधिक मणिप्रसाद सापकोटाका अनुसार सन्तुलित खाना र औषधि खुवाउन सके बाँझोपनको समस्या कम हुन सक्छ । पटक–पटक राँगो र गोरु खोजिरहने, गर्भ तुहिने, ब्याउन नसक्ने जस्ता समस्या पछिल्लो समयमा बढिरहेको छ । 

नेपालमा अधिकांश पशुका गोठ राम्रा नभएको र कृषकले सरसफाइमा ध्यान नदिँदासमेत पशुमा सङ्क्रामक रोग लाग्ने गरेको छ । यही कारणले हरेक वर्ष भैँसी आयात बढिरहेको छ । नेपालमा बर्सेनि १३ अर्ब रुपियाँ बराबरका भैँसी आयात हुन्छन् र त्यसरी ल्याइएका भैँसी अर्काे पटक नब्याउँदा किसान आर्थिक मारमा पर्छन् । 

पशुले भाले खोजेको समयमै कृत्रिम गर्भधारण वा प्राकृतिक गर्भधारण गराउँदा कृत्रिममा ६५ र प्राकृतिकमा ८५ प्रतिशतसम्म गर्भ रहने सम्भावना रहन्छ । पशुमा बाँझोपन हुनुमा वंशाणुगत, वातावरणीय र विभिन्न रोगको सङ्क्रमण, पोषण तत्वको कमी, गोठको व्यवस्थापनमा हुने कमजोरी प्रमुख कारण हुन् । पशु सेवा विभागका अनुसार नेपालमा करिब ७४ लाख गाई र ५१ लाख भैँसीपालन गरिएको छ । 

दुधालु पशुले उचित दानापानी नपाएमा पशुको शरीरको तौल कम हुने, प्रजनन अङ्ग राम्रोसँग विकास नहुने, प्रजननका लागि आवश्यक हर्मोन पशुको शरीरमा नहुँदा पशुको प्रजनन क्षमता ह्रास आउने अनि  पशुमा बाँझोपन देखिने गर्छ । 

पशु सहायक प्राविधिक राजेश लम्सालको भनाइ अनुसार हरेक २१/२५ दिनमा गाई, भैँसीको मासिक चक्र हुने गर्छ तर पशुले मासिक चक्र बाहिर नदेखाउने हुँदा कुन समयमा साँढे लगाउने भन्ने समस्या पर्दछ । 

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डेय भन्छन्, “आनुवांशिक गुणले गर्दा धेरै पशुमा बाँझोपनको समस्या देखा परेको छ । ‘लम्पिस्किन’ जस्ता महामारीका कारण पनि पशुको उत्पादन क्षमता ह्रास ल्याइरहेको छ ।” 

उनका अनुसार केही पशुमा कुन समय मासिक चक्रसुरु भएको भनेर पत्ता लगाउन निकै गाह्रो हुने भएकाले पशुधनीले उपयुक्त समयमा साँढे लगाउने वा कृत्रिम गर्भाधान गर्न नसक्दा बाँझोपनको समस्या बढिरहेको छ । पोथी पशुमा वंशाणुगत र रासायनिक प्रक्रियामा फेरबदल हुँदा कोषको अधिक वृद्धि भएर पाठेघरको आकार ठूलो हुन्छ र पछि क्यान्सर समस्या पनि देखिने गरेको पाइन्छ । पाठेघरमा ट्युमर बनेपछि पोथीले प्रजननका लागि चाहिने अण्ड उत्पादन गर्न सक्दैन र सो पशुमा बाँझोपन देखा पर्छ । 

पशुमा गर्भाधानपछि विभिन्न कारणले भ्रूणको राम्रोसँग विकास हुन नसक्दा पशुमा गर्भ तुहिने समस्या देखिने गरेको छ । गाई, भैँसीको उत्पादनशील उमेर तीनदेखि आठ वर्ष हुने भएकाले त्यस समयमा पशुको विशेष ख्याल गर्नुपर्छ । प्रजननसँग सम्बन्धित समस्या भएमा उपचार पनि महँगो हुने र कहिलेकाहीँ उपचारले पनि काम नगर्ने हुँदा पशुलाई बथानबाटै हटाउनुपर्ने हुन्छ ।