• १२ कात्तिक २०८२, बुधबार

झुम्का कारागारबाट फरार कैदी सप्तरीमा पक्राउ

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), कात्तिक १२ गते । जेनजीको आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट फरार एक कैदी सप्तरीमा पक्राउ परेका छन् ।

जिल्लाको कञ्चनरूप नगरपालिका वडा नम्बर ३ स्थित बरमझियाको एक पसलबाट पैसा राख्ने गल्ला चोरी गरेर भाग्दै क्रममा सोही ठाउँका वडा नम्बर १० घर भएका २३ वर्षीय विजय खडका पक्राउ परेका हुन् ।

बरमझियामा डोमी प्रसाद साहले सञ्चालन गरेको पेडा पसलबाट बुधबार बिहान करिब ६ बजे पैसा राख्ने गल्ला चोरी गरी भाग्ने क्रममा स्थानीयले देखेपछि घटनाको जानकारी इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई दिएका थिए ।

त्यसपछि प्रहरी टोलीले खड्कालाई पक्राउ गरेको र  अनुसन्धानका क्रममा खड्का सुनसरीस्थित झुम्का कारागारबाट फरार भएको खुलेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

झुम्का कारागारमा लागु औषध सम्बन्धी मुद्दामा ५ वर्ष ६ महिनाको कैद सजाय तोकिएको र ९ महिना कैद भुक्तान गरेपछि फरार रहेका खड्कालाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको उहाँले बताउनुभयो ।

झुम्का कारागारसँग आवश्यक समन्वय गरी थप प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।