गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १२ गते । जेनजी आन्दोलनको क्रममा तोडफोड भएको बालाजु चोकस्थित ‘ट्राफिक आइल्याण्ड’ पुन निर्माण गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा उक्त आइल्याण्डमा राखिएको छाता, गमला र घेरबार तोडफोड भएको थियो ।
आइल्याण्डमा रोपिएका बोटविरुवा उखेल्नुका साथै फलामे घेरबार भत्काइएको थियो । युवा पर्यटन व्यवसायी एवं समाजसेवी नवराज अम्गाईको आर्थिक सहयोगमा ट्राफिक आइल्याण्ड मर्मतका साथै फलामे घेरबार पुनः निर्माण गरिएको हो ।
ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण यो आइल्याण्ड ‘बालाजु चोक’ नामबाट परिचित छ । चोकमा छाता आकारको संरचना निर्माण गरिएकाले प्रायः छत्री आइल्याण्ड समेत भन्ने गरेका छन् । चोकमा सौर्यवत्ती राख्ने तयारी हुँदैछ ।
राजधानीकै नमूनाको रुपमा रहेको यो चोकलाई थप आकर्षक बनाउन रंगरोगन र बृक्षरोपण गरिएको छ । गोँगबु नयाँ बसपार्कस्थित ट्राफिक प्रहरी कार्यालय र बनस्थलीस्थित प्रहरी बिट पुनः निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो । यसअघि उहाँले सिंहदरबार पुनःनिर्माणका लागि सरकारलाई एक लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।