• १२ कात्तिक २०८२, बुधबार

दुई घण्टा अत्यावश्यक बाहेकका सेवा बन्दको घोषणा

blog

काठमाडौँ, कात्तिक १२ गते । नेपाल नर्सिङ सङ्घले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ  । 

दोस्रो चरणको आन्दोलनमा कात्तिक १२ गते देखि १८ सम्म दुई घण्टा (बिहान १० देखि १२ बजेसम्म) अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम तय भएको सङ्घकी अध्यक्ष प्रा.चन्द्रकला शर्माले जानकारी दिनुभयो । 

सङ्घको अगुवाइमा देशैभरका स्वास्थ्य शिक्षण संस्था, निजी, सामुदायिक, सरकारी तथा गैर सरकारी अस्पतालका नर्स एवं अन्य स्वास्थ्यकर्मी कार्यरत संस्थासँग न्युनतम सेवा सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । 

कात्तिक १८ गतेपछि मन्त्रालयले गठन गरेको कार्यलदको प्रतिवेदन अनुसार थप कार्य तालिका प्रकाशित गर्ने शर्माको भनाइ छ । नर्सका उचित मागलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यसमित गठन गरेको छ । कार्यसमितिले कात्तिक १८ गते सम्म प्रतिवेदन बनाएर मन्त्रालयमा बुझाउनुपर्ने समयसिमा मन्त्रालयले तोकेको छ ।  

२०८२ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पत्राचार भए अनुसार निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत सबै नर्सको न्युनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी प्रदान गर्ने, हाल सम्म श्रमिकको रूपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्ने, ओभर टाइमको भत्ताको व्यवस्था गर्ने, दरबन्दीअनुसार कामको व्यवस्था गर्ने, शैक्षिक योग्यता र कार्य अनुभवको आधारमा नियमित स्तरवृद्धिको व्यवस्था गर्ने, ग्रेडको व्यवस्था गर्ने लगायतका १५ बुँदे माग सङ्घले अगाडि सारेको छ ।

यसैबिच स्वास्थ्य क्षेत्रका ट्रेड युनियन र पेशागत सङ्घसंस्थाहरूको संयुक्त सञ्जालले निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले उठाएका मागको समर्थनमा  ऐक्यवद्धता जनाएका छन् ।