• २४ वैशाख २०८१, सोमबार

पाल्पामा गठबन्धनले टुङ्ग्यायो उम्मेदवार

blog

रेखीराम राना
पाल्पा, वैशाख १२ गते ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले पाल्पाले स्थानीय तहमा आफ्नो पार्टीबाट उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच दलीय गठबन्धनमा भागवण्डा भएअनुसार काँग्रेस र माओवादीले पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको हो ।

काँग्रेसले तानसेनको नगरप्रमुखको उम्मेदवारमा सन्तोषलाल श्रेष्ठलाई अघि सारेको छ । यस्तै, रामपुर नगरपालिकामा रमणबहादुर थापालाई नगर प्रमुखको उम्मेदवार र उप–प्रमुखमा बालकुमारी थापालाई उम्मेदवार बनाउने भएको छ ।

निस्दी गाउँपालिका अध्यक्षमा गोविन्दप्रसाद अर्याल र पूर्वखोला गाउँपालिका उपाध्यक्षमा विष्णु कुमारी आचार्य उम्मेदवार बन्नुहुने भएको छ । रम्भा उपाध्यक्षमा विष्णुकुमार थापाले उपाध्यक्षमा उम्मेदवार दिने सहमति भएको काँग्रेस पाल्पाले जनाएको छ ।

यस्तै, माथागढी गाउँपालिकाको अध्यक्षमा सन्तोष थापा र उपाध्यक्षमा विजया भट्टराई तथा वगनासकाली गाउँपालिकाको अध्यक्षमा सुनीता अधिकारीलाई उम्मेदवार बनाउने काँग्रेसले जनाएको छ । रिब्दीकोट गाउँपालिका उपाध्यक्षमा भने शान्ता अधिकारी उम्मेदवार बन्नुहुनेछ ।

रैनादेवी छहरा गाउँपालिकामा रूक्मागत भट्टराई र तिनाउँ गाउँपालिका उपाध्यक्षमा लालबहादुर थापालाइ उम्मेदवार बनाउने निर्णय भएको नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनुभएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले तानसेनको उपप्रमुखमा प्रतिक्षा सिंजालीलाई, रिब्दीकोटको अध्यक्षमा नारायणबहादुर कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, तिनाउको अध्यक्षमा राजेश श्रेष्ठलाई, रैनादेवी छहराको उपाध्यक्षमा युवराज थापालाई, निस्दी गाउँपालिकाको उपाध्यक्षमा रामप्रसाद खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा माओवादी केन्द्र पाल्पाका सहइन्चार्ज अनिलकिशोर घिमिरेले जानकारी दिनुभयो ।

गठबन्धनमा आबद्ध एकीकृत समाजवादीले रम्भामा दुर्गाप्रसाद अधिकारी, पूर्वखोलाको अध्यक्षमा मीनप्रसाद गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता पदम गैरेले जानकारी दिनुभयो ।