• १२ साउन २०८१, शनिबार

तस्बिरले राजनीतिक सङ्घर्षको झल्को दिएको छ : उपसभामुख राना

blog

काठमाडौँ, जेठ १६ गते। उपसभामुख इन्दिरा रानाले गोरखापत्रमा प्रदर्शनमा राखिएका ऐतिहासिक तस्बिरले लोकतन्त्रदेखि प्रजातन्त्र स्थापनासम्मको राजनीतिक सङ्घर्षको झल्को दिएको बताउनुभएको छ।  

गोरखापत्र प्रकाशन १२४ औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सव साथै राष्ट्रिय फोटो पत्रकारिता दिवस– २०८१ को अवसरमा संस्थानमा आयोजित ‘इतिहासलाई फर्केर हेर्दा गोरखापत्रका दुर्लभ, ऐतिहासिक महत्त्वका तस्बिरको प्रदर्शनी’ बुधबार अवलोकन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो। 

तस्बिरले अग्रजले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा कतिको सङ्घर्ष गर्नुभएको रहेछ भन्ने देखाएको उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, “ऐतिहासिक तस्बिर प्रदर्शनीले अग्रजले लोकतन्त्र र प्रजातन्त्र  स्थापनामा कतिको सङ्घर्ष गरेका रहेछन् भन्ने कुरा देखाएको छ, यी तस्बिरको गोरखापत्रले जगेर्ना गरेर राख्नुपर्छ।”

ऐतिहासिक तस्बिरलाई म्युजियमकै रूपमा राख्नसके नयाँ पुस्तालाई ज्ञान हुने उहाँले बताउनुभयो। तस्बिर प्रदर्शनीले नयाँ पुस्तालाई हाम्रो विगत र अहिलेको अवस्थाको राम्रो ज्ञान दिने भएकाले यसको संरक्षण गर्नुपर्नेमा उहाँको जोड छ।

तस्बिर प्रदर्शनीमा पहिले हुँदै आएका ज्यादतीका घटनाहरूलाई पनि समावेश गर्न सके अझै राम्रो हुने उहाँको भनाइ छ।  उहाँले भन्नुभयो, “पहिले हुँदै आएका ज्यादतीका घटनालाई पनि तस्बिर प्रदर्शनीमा राख्न सकेको भए अझै आकर्षक हुन्थ्यो,  तर त्यस बेला क्यामराको अभाव हुँदा तस्बिर खिच्न सकिएन होला, यी तस्बिरहरू खिच्ने पत्रकारलाई सलाम गर्छु।”

पहिलो सहिद लखन थापा, पहिलो प्रधानमन्त्री भीमसेन थापाले कसरी विद्रोह गरे भन्ने कुरा हेर्न चाहना भए पनि अहिलेसम्म नपाएको उहाँले बताउनुभयो। 



ऐतिहासिक तस्बिरले पुर्खाले सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र, प्रजातन्त्रलाई कसरी जोगाउने भन्ने कुरा महसुस भएको उहाँले बताउनुभयो।  

नेपाललाई समृद्धिको बाटोमा अगाडि लैजानको लागि सबै दलहरू मिलेर जानुपर्ने उहाँको भनाइ छ। गोरखापत्र दैनिकमा २०३० देखि २०६० सालसम्मका महत्त्वपूर्ण तस्बिर राखिएका छन्। 


यो अवधिका दुर्लभ र ऐतिहासिक श्यामश्‍वेत तस्बिरको सङ्ग्रह फोटो पुस्तक ‘परिवर्तित नेपाल’समेत संस्थानले प्रकाशन गरेको छ। गणतन्त्र दिवसको अवसरमा मंगलबार उक्त पुस्तक सार्वजनिक भइसकेको छ।  भिडियो : मनोजरत्न शाही