• २४ वैशाख २०८१, सोमबार

गुल्मीका १५ मतदान स्थल अति संवेदनशील, ४१ संवेदनशील

blog

तिलाचन पाण्डे

तम्घास, वैशाख १२ गते । गुल्मीका १५ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ ।

जिल्लाको कालीगण्डकी ,मालिका ,मदाने ,सत्यवती र चन्द्रकोट गाउँपालिकाका गरी १५ वटा मतदान स्थल अति  संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । 

यस्तै ४१ वटा मतदान स्थल संवेदनशील र ८६ वटा मतदान स्थल सामान्य रहेको उहाँले जानकारी दिनुभयो । संवेदनशील स्थलहरुमा  सुरक्षा लगायत अन्य हिसावले पनि सबै प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो । 

शान्ती सुरक्षाका हिसावले आफूहरुले सबै प्रबन्ध मिलाएको र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आफूहरु सक्षम रहेको पौडेलले दाबी गर्नुभयो । मतदान स्थलहरुलाई वर्गीकरण गर्दा भगोल, यातायात, जिल्लागत सीमा लगायतका विषयहरुलाई आधार मानेर वर्गीकरण गरिएको हो ।

जिल्लामा कुल १४२ मतदान स्थल छन् भने मतदान केन्द्र भने २७९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा कम इस्मा गाउँपालिकामा आठ वटा मतदान स्थल छन् भने सबैभन्दा बढी सत्यवती गाउँपालिकामा १६ मतदान स्थल रहेको निर्वाचन कार्यालयका नायबसुब्बा मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

कालीगण्डकी र मदाने गाउँपालिकामा १०-१०, गुल्मीदरबार, रुरुक्षेत्र र मालिका गाउँपालिकामा ११-११, चन्द्रकोट गाउँपालिकामा १४ तथा छत्रकोट गाउँपालिकामा १० मतदान स्थल छन् । 

त्यस्तै धुर्कोट गाउँपालिकामा ११ एवम् मुसिकोट र रेसुङ्गा नगरपालिकामा १५-१५ वटा मतदान स्थल रहेको  पाण्डेले बताउनुभयो । 

गुल्मीमा कुल दुई लाख २४ हजार  २७६ मतदाता रहेको कार्यालयले जनाएको छ । जसमा महिला एक लाख १४ हजार २५१ , पुरुष  एक लाख १० हजार ५९ र २ जना अन्य रहेको कार्यालयले जनाएको छ ।