• ११ असोज २०८१, शुक्रबार

उमेदवारी मनोनयनको दोस्रो दिन विराटनगरमा चहलपहल बढ्यो

blog

धीरज दाहाल

विराटनगर, वैशाख १२ गते । स्थानीय तह निर्वाचनका लागि मनोनयनको दोस्रो तथा अन्तिम दिन विराटनगरमा राजनीतिक चहलपहल बढेको छ । मुख्य राजनीतिक दलहरुका उम्मेदवारहरुले आज उमेदवारी मनोनयन दर्ता गर्ने भएकाले पनि विराटनगरका बिभिन्न चोकहरुमा राजनीतिक दलहरुका कार्यकर्ताहरुको भिडभाड बढ्न थालेको छ ।

उम्मेदवारी दर्ताको पहिलो दिन विराटनगरमा बिशेषतः स्वतन्त्र उम्मेदवार र साना राजनीतिक दलहरुबाट उम्मेदवारी दर्ता भएको थियो । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार  महानगर प्रमुखमा ३ जना सहित ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

कार्यालयले दिएको जानकारीअनुसार महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारहरु उमेश यादव र सक्रिय गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी जनमत पार्टीकातर्फबाट अरुणकुमार मण्डलले समेत महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी वडाध्यक्षमा १८ र वडा सदस्यमा ३६ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।

आसन्न स्थानीयतहको निर्वाचनका लागि विराटनगर महानगरपालिकामा मुख्य दलहरुबाट उम्मेदवार छान्न सकस परेकाले पनि नेपाली काँग्रेस, नेकपा एमाले लगायतका ठूला दलहरुबाट उम्मेदवारी दर्ता हुन सकेको छैन । एमालेले बिराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

काँग्रेसले प्रमुख पदमा यो समाचार तयार पार्दासम्म कुनै पनि नाममा निर्णय गरिसकेको छैन । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालयले तोकिए बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारी मनोनयन दर्ता गराउनेछ ।