• १२ साउन २०८१, शनिबार

गणतन्त्र दिवसमा घोराहीमा प्रभातफेरी

blog

१७ औँ गणतन्त्र दिवसका अवसरमा मङ्गलबार घोराहीमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रमका सहभागीहरू ।

लिलाधर वली

घोराही, जेठ १५ गते । १७ औँ गणतन्त्र दिवसका अवसरमा मङ्गलबार घोराहीमा प्रभातफेरी कार्यक्रम गरिएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समिति दाङको आयोजनामा कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायत विभिन्न सङ्घसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रम गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयदेखि सुरु भएको प्रभातफेरी र्‍याली घोराही बजारको परिक्रममा गर्दै  जिल्ला समन्वय समितिमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीपछि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्र दिवस जिल्ला समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको समृद्धिका लागि राजनीतिक एकता आवश्यक रहेको बताउनुभएको थियो । 

उहाँले परिवर्तनका लागि २०६२-०६३ सालमा राजनीतिक दलहरुकाविचमा भएको एकता अहिलेको व्यवस्था कार्यान्वयनसँगै देशको समृद्धिका लागि पनि हुनुपर्ने बताउनुभएको थियो । राजनीतिक परिवर्तनपछि जनताले अपेक्षा अनुसारको परिवर्तनको महसुस गर्न नपाउँदा केही वितृष्णा जागेको भन्दै त्यसको अन्त्य गर्ने गरी देशको समृद्धिका लागि तीनै तहका सरकारहरू लाग्न आवश्यक रहेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, "सङ्घीय लोकतान्त्रिक व्यवस्थाले जनतालाई अधिकार सम्पन्न बनाएको छ,तर आर्थिक रूपमा सम्पन्न बनाउन नसक्दा जनतामा निराशा देखिन्छ,त्यसको अन्त्यका लागि राजनीतिक एकतासँगै तीनै तहका सरकारले ध्यान दिनुपर्छ ।"