• ३ असार २०८१, सोमबार

बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या ११ हजार नाघ्यो

blog

अनिल पराजुली
हेटौँडा, जेठ १४ गते ।
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ १३ गते आइतबारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ४७५ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा तीन जना डेंगु सङ्क्रमित थपिएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५०७ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको थियो । तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्म  काठमाडौँमा तीन हजार‚ चितवनमा एकहजार ७३७‚ ललितपुरमा एकहजार ४३८‚ मकवानपुरमा ८८८‚ भक्तपुरमा ४९४‚ काभ्रेपलाञ्चोकमा १६७ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै नुवाकोटमा ८१‚ दोलखामा ७९‚ रामेछापमा २७‚ सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा २३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार चालु आवको साउनमा दुइ हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कार्तिकमा दुईहजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा १९६‚ माघमा ५७‚ फागुनमा ४४ र चैतमा ११२, वैशाखामा ७३ र जेठको १३ गतेसम्म ११ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भुसालले जानकारी दिनुभयो । चालु आवको साउनदेखि जेठ दोस्रो सातासम्म डेंगु सङ्क्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ ।

डेंगु  सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाइ, वरपर पानी जम्न नदिने, पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेंगुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानका लागि मन्त्रालयका सूचना अधिकारी डाक्टर भुसालले आग्रह गर्नुभएको छ ।