• ३ असार २०८१, सोमबार

म्याराथन उपविजेता गुरुङलाई सम्मान

blog

फुङ्लिङ नगरपालिका–६ वडा कार्यालयमा धावक कुमारी गुरुङलाई सम्मान गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १३ गते । महिला हाफ म्याराथन प्रतियोगितामा द्वितीय हुन सफल फुङ्लिङ नगरपालिका –६ का कुमारी गुरुङलाई वडा कार्यालयले सम्मान गरेको छ । 

फुङ्लिङ नगरपालिका–६ ले वडा कार्यालयमा आइतबार एक कार्यक्रम आयोजना गरी गुरुङलाई सम्मान गरेको हो । एक साताअघि सम्पन्न ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा आयोजना गरिएको महिला हाफ म्याराथनमा उपविजेता बन्नुभएका गुरुङलाई कदरपत्रले सम्मान गरिएको छ । 

दुईजना बच्चाको आमा साथै गृहिणी महिला भएर पनि म्याराथन प्रतियोगितामा प्रतिस्पर्धी बन्ने हिम्मत गरेको र उपविजेता नै बन्न सफल भएकोमा थप हौसला प्रदान गर्न उहाँलाई सम्मान गरिएको वडाध्यक्ष मदन गुरुङले बताउनुभयो ।

म्याराथनमा उपविजेता बन्नुभएका गुरुङलाई वडाका सबै जना जनप्रतिनिधिलगायतको उपस्थितिमा वडाध्यक्ष गुरुङले कदरपत्रले सम्मान गर्नुभयो । महिला हाफ म्याराथनका लागि निर्धारित करिब ३७ किलोमिटर दूरी गुरुङले चार घण्टा २२ मिनेट ५३ सेकेन्डमा पार गर्नुभयो । 

प्रतियोगिताका प्रतिस्पर्धी ४७ जना द्वितीय बन्न सफल गुरुङले ५१ हजार १११ रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र पाउनुभएको थियो ।