• ७ असार २०८१, शुक्रबार

सगरमाथा पदमार्गको राजधानी

blog

संसारकै खतरनाक विमानस्थलमध्ये एक लुक्ला एयरपोर्ट दुई हजार ८४० मिटरमा अवतरण गरेका के थियौँ । पररर ताली बज्यो । सानो जहाजले सुरक्षित अवतरण भएकोमा एक प्रकारको खुसियाली र सन्तोषको ताली थियो त्यो, जहाजमा सवार केही पर्यटकको । अग्ला न अग्ला चट्टाने पहाड र कुदिरहेको कुहिरो छिचोल्दै गरिएको उडान त्रसादीपूर्ण नै थियो । हुन पनि पाइलटका लागि निकै खतरा र चुनौतीपूर्ण लाग्छ यो क्षेत्रको उडान । उडानको मात्र के कुरा ? जहाज अवतरण गर्दासमेत खुब सावधानी अपनाउनु पर्छ पाइलटले । साह्रै छोटो रनवे छ । निश्चित ठाउँदेखि थोरै मात्र पाङ्ग्रा अगाडि भयो कि गहिरो खोल्सामा जाकिने खतरा हुन्छ । 

चारैतिरबाट हरिया, अग्ला पहाडबाट घेरिएको सानो तर चिटिक्क परेको छ ‘तेन्जिङ हिलारी एयरपोर्ट’ । यसको पूर्वतिर कोङ्दे रि हिमाल र कोङ्दे पिक (चुली) प्रेमपूर्वक हामीलाई हेरिरहेका रहेछन् । हिमालतिर नजर फ्याकँदै अगाडि बढ्दै छौँ । ओरालो छ बाटो । तोपडाँडा पुगेपछि पहिलो पटक शिखरहरूको सम्राट सगरमाथा देखियो । हर्षले खुसीको सगरमाथा नाघ्यो । झन्डै झन्डै ६.२ किमीको दुरी साढे तीन घण्टाको पदयात्रा तयपछि ढुङ्गाका छपनी लगाइएका बाटा भेटिन्छ । अगाडि बढ्दा निलो र रातो रङको जस्ताले छाइएका चिटिक्कका घरबस्तीमा आइपुग्यो । घर सफा र चिटिक्कका छन् । वरपर फव्रmँदै सुन्दर सयपत्रीका फूल झुलिरहेका छन् । घरैपिच्छे होटल, लज र रेस्टुराले भरिएको यो गाउँ त फाक्दिङ दुई हजार ६१० मिटर रहेछ । जुन सुविधाजनक गाउँ पदयात्राको पहिलो बासस्थान बन्यो ।

फाक्दिङको झोलुङ्गे पुल दुधकोशी नदी पार गर्ने पहिलो पुल भेटियो । बायाँ अब दुधकोशी दायाँ भएर उँधो बग्छ । यस्ता लामा लामा झोलुङ्गे पुलहरू तर्दै उँभो लाग्दा छोटाछोटा उकालो, ओरालो र तेर्साे बाटो तय गर्नु पर्छ । वरपरका दृश्य नियाल्दै टोकटोक भन्ने गाउँमा पुगिन्छ । त्यहाँ पहराबाट निस्केको झरना र पहिलो पटक उत्तरतिर उभिएको थामसेर्कु हिमाल र कुसुम खाङ्गारु हिमालले लठ्याउँछ ।

फाक्दिङबाट १२ किलोमिटर हिँडेपछि सेर्पा समुदायको बाहुल्यता भएको झकिझकाउ बस्ती भेटिन्छ । भिरालो भूमिमा बनेका घर होटलको आकार नै नाम्चे बजार तीन हजार ४४० मिटर रहेछ तर नाम्चे केवरा फूलको आकर्षक झुप्पा जस्ता नजरभरि सजिएर बसिरहने खालको छ । 

नाम्चे बजार प्रवेशद्वार छिरेपछि ढुङ्गाका छपनी लगाइएको बाटो छ । यसैलाई पछ्याउँदै जाँदा भेटिने मुख्य बजार उत्तिकै भव्य र सुविधाजनक छ तर दोकानमा स्थानीय उत्पादन नगण्य पाँच प्रतिशत मात्र पाइन्छ । अधिकांश (९५ प्रतिशत) आयातित बजारिया सामग्री बेचबिखन गरिन्छ । यसबाहेक ९९ प्रतिशत बौद्ध धर्मावलम्बी भएको नाम्चे बजारमा बौद्ध धर्मसँग जोडिएका सामग्रीसमेत प्रशस्त उपलब्ध छन् ।

झन्डै ५० वर्षअघिदेखि खुम्बु क्षेत्र कै प्रमुख केन्द्र बन्दै आएको इतिहास छ, यो हिमाली बजारको । अहिले पनि थामे टेङदेखि मात्र होइन । सगरमाथा आधारशिविरको अन्तिम बस्ती गोरक्षेप (पाँच हजार १६० मिटर) बाट समेत आवश्यक सामग्री किनमेलका लागि आउँछन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको अघोषित राजधानी हो यो नाम्चे बजार । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पा भन्नुहुन्छ, “यहाँ एयरपोर्ट र मोटर बाटो मात्र छैनन्, अरू सबै थोक छन् ।” पर्यटकलक्षित राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको होटल, रेस्टुरेन्ट, बार, क्याफे छन् । लाइभ गीतसङ्गीत (नेपाली र अङ्ग्र्रेजी) र मसाज छन् । अहिले यहाँ ५५ भन्दा बढी सानाठुला होटल सबै अतिथिको सेवा र सुविधाका निम्ति सञ्चालनमा रहेका छन् ।

अनौठो अर्काे कुरा के छ भने नाम्चेलगायत खुम्बु क्षेत्रका होटल, लज र रेस्टुरेन्ट सञ्चालनमा महिलाको बढ्दो संलग्नता पाइयो । कतिपय महिला आफैँ सञ्चालक बनेका छन् । कतिसम्म भने सहकर्मी र कामदारका रूपमा समेत परिवारभित्र कै छोराछोरी र बुहारी संलग्न गराइएका छन् । एकभन्दा बढी होटल सञ्चालन गरेका पुरुषले पनि कँही छोरी, कँही छोराबुहारीलाई चलाउन जिम्मा दिएका छन् । केही पुरुष पैसा कमाउन आमाडब्लम, लोबुचेलगायतका चुली चढ्ने पेसामा लागेका कुरा केही स्थानीयवासीको मत छ । कतिपय पुरुष आयआर्जनका लागि काठमाडौँ जस्ता ठुला सहरतिर आएर व्यापार व्यावसायमा लागेका छन् । अन्नपूर्ण आधार शिविरतिर भने यसको ठिक उल्टो छ । मालिकलगायत कामदार प्रायः पुरुष नै पुरुष छन् । महिलालगायत बुढाबुढी र केटाकेटी भेटिँदैन । 

चार हजार जनसङ्ख्या रहेको यो उदार बजारमा व्यवसाय गर्ने रैथाने मात्र छैनन् । झन्डै चार प्रतिशत त बाहिरबाट आएका मगर, तमाङ, राई, नेवार आदि जाति छन् । होटल स्नोल्यान्ड, हिलटेन, बोधी जस्ता होटल व्यवसायी निर्बाध रूपमा व्यवसाय हाँकिरहेका बाहिरिया हुन् ।

सधैँ सफा सुग्घर देखिने नाम्चे बजार सञ्चालनको परिपाटी पनि नमुनाको छ । अर्थ आर्जन अनुसार बिजुली र पानीको शुल्क निर्धारण गरिएको छ । निम्न वर्गका घरपरिवारलाई बढी बोझ नपरोस् भनेर वार्षिक एक हजार पाँच सय रुपियाँ मात्र तोकिएको छ । आर्थिक अवस्था दयनीय भएको भन्ने स्थानीय समितिबाट सिफारिस ल्याएकालाई हजार वाटको हिटर (पाँच÷छ वटा चिमसहित) निःशुल्क प्रदान गरिन्छ । त्यस्तै मध्यम वर्गका लागि हरेक महिना एक हजार तीन सय रुपियाँ र होटल तथा ठुला व्यवसायीका लागि हरेक महिना तीन हजार रुपियाँको दरले बिजुली शुल्क उठाउने गरिन्छ । त्यसै गरी खानेपानीमा पनि परिवारको आर्थिक अवस्था अनुसार वर्ग निर्धारण गरेर शुल्क विभेदीकरण गरिएको छ । 

२०६० सालदेखि पर्यटकको भारी बोकी गुजारा चलाउने भरियाको हितलाई मध्यनजर गरेर पोर्टर सेल्टर खडा गरिएको छ । जहाँ मासुभातको प्रतिछाक तीन सय रुपियाँ मात्र तिरे पुग्छ । सुतेको पैसा तिर्नु पर्दैन । संसारको सर्वाेच्च शिखर, ल्होत्से, नुप्चे, लोबुचे, पुमोरी, आमादब्लम, आइल्यान्ड पिक आदि आरोहणका लागि मुख्य प्रवेशद्वार हो नाम्चे बजार । त्यस्तै सगरमाथा आधारशिविर र खुम्बु क्षेत्रका अन्य फरक फरक गन्तव्य (गोक्यो पास, चोला पास, रेन्जोला पासलगायत) का लागि निस्कने पदयात्री पनि यही नाम्चे बजारको बाटो भएर जानु पर्छ । सबैका लागि बास बस्ने लोकप्रिय र उपयुक्त विन्दु हो नाम्चे बजार । यहाँबाट नजिकको चिनियाँ नाका ‘नाङ्पाला’ पुग्न छ दिन लाग्छ ।

खुम्बु क्षेत्रमा खाद्यान्नको प्रमुखवाहक ओहोरदोहोर गरिरहने खच्चड, याक, चौँरी, जोप्पेसँग पटक पटक जम्काभेट भइरहन्छ, यताका उकालीओराली र घुम्तीमा । तर खच्चडलाई यहाँसम्म मात्र देख्न र भेट्न पाइन्छ । यहाँभन्दा माथि उक्लन प्रतिबन्ध लगाइएको छ । वातावरण स्वच्छता कायम राख्दै पर्यटक प्रदूषणबाट प्रभावित नहोस् भन्ने हेतुले । मास्तिरका उकालाहरूमा कुर्कुच्च भारीले थिचिएका र लादिएका जोक्पेहरूको जत्था बढी भेटिन्छन् । 

बौद्ध धर्मले काटमार गर्न बन्देज लगाइएको छ, यो खुम्बु क्षेत्रभरि । तर पशुपन्छीजन्य मासुका परिकार भने प्रायः पाकिरहन्छ होटलहरूमा । नाम्चेमा पनि बोइलर कुखुरा काठमाडौँदेखि हेलिकप्टरले ल्याउँछ । खसीको मासु पनि पाइन्छ । स्थानीय होटल रेस्टुरेन्टलाई कम्तीमा दिनहुुँ दुई वटाको हिसाबले (३०÷४० किलो) को हिसाबले बेच्छन् । राँगाका मासु लुक्लाभन्दा तल खरीखोलाबाट यहाँसम्म आउन तीन÷चार दिन लाग्दो रहेछ । 

बिनाबादलको निलो आकाश पृष्ठभूमिमा राखेर पहिलो पटक मोहनी रूप छर्दै हिमाल र चुलीका मधुरमधुर मुस्कानले यहाँको माहोल रोमाञ्चक बनेको छ । उत्तरतिर लोसासा हिमाल । पूर्वतिर खाङ्लेमु हिमाल र आमाडब्लम हिमाल । दक्षिणतिर खाङ्तेका हिमाल, थामसेर्कु हिमाल, कुसुम खाङ्गेरु हिमाल, कोङ्दे रि हिमाल, कोङ्दे पिक, सुन्दर हिमाल, खुम्बिला हिमाल । पश्चिमतिर चोलाक्छे पिक तबुचे पिक । 

बढ्नु मात्र होइन जिन्दगी, रोकिनु पनि हो । दुई रात बास बस्ने गरी रोकिन्छौँ यहाँ । शरीरलाई स्थानीय तापव्रmमसँग अनुकूलित पार्नका लागि पनि । अर्थात् लेक नलागोस् भनेर आफूलाई यात्राका लागि अभ्यस्त बनाउन । यही मेसोमा बिहान ८ बजे छ/सात आनामा अवस्थित नजिकैको सगरमाथा नेसनल पार्क अवलोकनमा निस्क्यौँ । पार्क विशेष गरेर तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको सम्मानमा समर्पित रहेछ । त्यसमा पनि तेन्जिङलाई प्राथमिकता दिइएको जस्तो लाग्यो । पार्क प्रवेश गर्नासाथ दायाँ हातले ‘आइस हक’ उचाल्दैको तेन्जिङको विशाल सालिक देखिन्छ । 

पार्क परिवेश मै सङ्ग्रहालय छ । जहाँ नोर्गेले त्यतिबेला सर्वाेच्च शिखर सगरमाथा चढ्दा लगाएका जुत्ता, क्र्याम्पन, पोसाक, पानी खान प्रयोग गरिएको भाँडो, चस्मालगायतका सामग्री राखिएको छ । पुराना जमानामा नाम्चे भेगका स्थानीय शेर्पा जातिको जीवन शैली झल्काउने खालका परम्परागत संस्कृति झल्काउने खालका शेर्पा वेशभूषा, भाँडाकँुडा (ठेकी, मही पार्ने भाँडो र तोलम), मदानी, दुधेरी र दुध दुहुने भाँडो, रक्सी पार्ने भाँडो, तोम्बा खाने भाँडो आदि सामग्री राखिएको छ । जसले त्यसबेलाको स्थानीय शेर्पा जातिको इतिहासलाई समेत उजागर गरेको छ ।

पार्कबाट फर्केर स्याङ्बोचेसम्मको छोटो हिँडाइमा उक्लियौँ । प्रेमिल प्रभातकालीन समयमा हामी उक्लनुअगावै स्याङ्बोचे डाँडामा घामको किरणले ‘मर्निङ वाक’ गरिसकेको थियो । उकालो सकिनै लाग्दा, तीन हजार ७७५ मिटर उचाइको बोर्ड राखिएको भेटियो । त्यहाँ पुग्दा बिहानको ९ः३० बजेको हुँदो हो । एकाएक हुस्सु उड्दै आयो । पोका बनेर मुखमा चिसो चुम्बन गर्दै उडदै गयो । तल्तिर हेर्दा थाहा भो, यी त यहीँ डाँडाको घाचमा सेताम्मे सतह बनाएर बसेको हुस्सुको समुद्रबाट उक्लेर आएका रहेछन् ।

करिब तीन हजार ८८० मिटर उचाइको यो हिमाली डाँडामा जापानी नागरिक ताकासी मियाहाराले ‘एभरेस्ट भ्यु होटल’ खोलेका छन् । संसारकै सबैभन्दा अग्लो ठाउँमा अवस्थित यो सुविधासम्पन्न तारे होटललाई गिनिज बुक अफ वल्र्ड रेकर्डले सम्मानका साथ समावेश गरेको छ । यस्तो ठाउँमा कति मेहनत गरे होलान मेकानिकल इन्जिनियर मियाहाराले ! यी जापानी पर्यटन व्यावसायीको परिकल्पना, डिजाइन र त्यसलाई मूर्त रूप दिन गरिएको आँट र योजना पनि प्रशंसनीय र उदाहरणीय छ । यिनले आफ्नो कम्पनी ट्रान्स हिमालयमार्फत ५० हजारभन्दा बढी जापानी नागरिकलाई नेपाल उतारे । यसै व्रmममा यिनले स्याङ्बोचेको डाँडामा एयरपोर्ट नै निर्माण गरे । त्यतिबेला नै ७३ लाख खर्च गरेर । ‘एभरेस्ट भ्यु होटल’ सम्म पर्यटक ओसार्न नेपाल वायुसेवा निगमसँग पिलाटस जहाज लिए । यो सिलसिला १० वर्षसम्म चल्यो । अहिले यो एयरपोर्ट बाँझो बारी जस्तो भएर बसेको छ ।

होटलको शयन कक्षका सबै झ्याल सगरमाथातर्फ फर्काइएको छ । डाइनिङ रुमका झ्यालसमेत सगरमाथातिर नै फर्काइएको छ । हामीले पनि ६६० रुपियाँ तिरेर सानो चिया भाँडो किन्यौ । अदुवा, कागती र मह मिसिएको चिया । र पियौँ चियासँगै छ्याङ्गै खुलेको सर्वोच्च शिखर सगरमाथाको दृश्यपान । यसबाहेक ल्होत्से, आमादब्लम, खाङ्तेका, थामसेर्कु, कुसुम खाङ्गेरु, कोङ्दे रि, कोङ्दे पिक, सुन्दर, खुम्बिलासहितका हिम शृङ्खलाको छताछुल्ल छटामा छचल्किँदै पिएको चियामा अतिरिक्त स्वाद थपिएको थियो । संसारकै सबैभन्दा अग्लो ठाउँको सुविधासम्पन्न तारे होटल । जसको आँगनबाट सर्वाेच्च शिखर सगरमाथाको दृश्यपान । अनि जिन्दगीमा सर्वाधिक महँगो चियाको स्वाद । अन्तरहृदयका तहमा यी र यस्ता अविस्मरणीय अनुभूतिका पत्र खाप्दै झ-यौँ नाम्चे ।