काभ्रेपलाञ्चोकका छविरमण सिलवाल नेपाली साहित्यका एक बहुमुखी तथा सक्रिय साहित्यकार हुनुहुन्छ । सिलवालले कविता, नियात्रा, समीक्षा, बालसाहित्य, हास्यव्यङ्ग्य जस्ता विविध विधामा कलम चलाएर आफ्नो छुट्टै पहिचान बनाउनुभएको छ ।
उहाँको लेखन सरल, संवेदनशील र जीवनको यथार्थसँग जोडिएको देखिन्छ । सिलवालको लेखन हृदयस्पर्शी लाग्छ । समाजको तितो यथार्थ, समसामयिकता र जीवनको विराट् सत्यलाई सरल शब्दमा लेख्नु सिलवालको लेखकीय विशेषता बनेको छ ।
बालसाहित्यमा बालकवितासङ्ग्रह ‘रोपिँ छुपुछुपु’, ‘किन डराउनु ?’ जस्ता कृतिका लेखक सिलवालको नियात्रा ‘ग्रिनविचको साँझ’ निकै रुचाइएको थियो । नेपाली काव्य क्षेत्रमा छविरमण एक उत्कृष्ट कवि हुनुहुन्छ । उहाँका कवितासङ्ग्रह ‘मनको शिविरबाट’, ‘सहृदयी स्वरहरू’ (संयुक्त) र ‘डोरम्याट’ लाई काव्यपारखीहरूले प्रशंसा गरेका छन् ।
समीक्षा ‘सिर्जनाका लहरहरू’ र बालकवितासङ्ग्रह ‘सबैभन्दा राम्रो माल’ सिलवालका उल्लेख्य कृतिहरू हुन् । नियात्रामा ‘अमेरिकाको घाम’ र ‘ग्रिनविचको साँझ’ मार्फत उहाँले विदेशी भूमिमा यात्रा गर्दाको अनुभवलाई काव्यात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । छविरमण सिलवालको लेखन शैलीमा सरल भाषा, गहिरो भाव र जीवनप्रति सकारात्मक दृष्टिकोण पाइन्छ । हालै प्रकाशित नियात्रा कृति ‘अमेरिकाको घाम’ मा छविरमणले आफ्नो लेखनको कुशल शिल्प प्रयोग गर्नुभएको छ ।
नियात्रा साहित्यको यस्तो विधा हो जहाँ यात्राको भौगोलिक दुरी मात्र होइन; मनको गहिराइ र अनुभूतिको विस्तार पनि शब्दमा यात्रा गर्छ । नियात्रा अनुभूति, अवलोकन र चिन्तनको त्रिवेणी हो । यात्राका क्रममा देखिएका हिमालका मौन शिखरहरू, नदीका अविरल प्रवाह, गाउँका सरल अनुहारहरू र सहरका व्यस्त धड्कनहरू नियात्राकारले लेखिरहेका हुन्छन् । नियात्रामा दृश्यहरूको वर्णन मात्र हुँदैनन् ती दृश्य बोल्छन्, महसुस गराउँछ्न र पाठकहरूलाई स्वयं यात्रु बनाइदिन्छन् ।
नियात्राकार छविरमण सिलवालको नियात्रासङ्ग्रह ‘अमेरिकाको घाम’ सिलवालले देख्नुभएका, सुन्नुभएका, भोग्नुभएका र महसुस गर्नुभएका अनुभूतिलाई साहित्यिक ढङ्गले प्रस्तुत गरिएको कृति हो । यस सङ्ग्रहभित्र जम्मा १३ वटा नियात्रा सङ्गृहीत छन् । यीमध्ये अमेरिका भ्रमणसम्बन्धी छ वटा, युरोपका सुन्दर देश स्लोभेनियाबारे पाँच वटा र तिब्बत भ्रमणसम्बन्धी दुइटा नियात्रा छन् ।
छोरा लोकेशले विद्यावारिधि पूरा गरेपछि नियात्राकार अमेरिका पुगेका बेला करिब एक महिनाको अनुभूतिलाई उहााँले नियात्रामा उदिन्नुभएको छ । स्लोभेनियाको १० दिने घुमघाम र व्यापारको सिलसिलामा तिब्बत घुमेका प्रसङ्ग पनि यस नियात्रासङ्ग्रहमा अटाएका छन् ।
नियात्राको पहिलो आधार नै प्रत्यक्ष भ्रमणमार्फत हुने अनुभव हो । त्यसपछि नियात्राकारका व्यक्तिगत अनुभूति र दृष्टिकोण समावेश भएका हुन्छन् । यसै गरी स्थान, प्रकृति, मानिस, संस्कृति, रहनसहन, खानपान आदिको जीवन्त चित्रण नियात्राको मूल तत्व हो । नियात्रा वास्तवमा तथ्यमा आधारित हुन्छ । नियात्राकारले आफू बसेको समाज र यात्रा गरेको समाजको बिच तुलना गरेर विचार प्रस्तुत गरेका हुन्छन् । नियात्राले जानकारी, चेतना र मनोरञ्जन दिन्छ । नियात्रालाई मूलतः निबन्धात्मक, कथात्मक, डायरीमूलक, संस्मरणात्मक शैलीमा लेख्ने गरिन्छ । यिनै भावभूमिमा ‘अमेरिकाको घाम’ नियात्रा कृतिले आफ्नो बेग्लै स्थान बनाएको छ ।
‘अमेरिकाको घाम’ शीर्षकको नियात्रामा नियात्राकार बडो दार्शनिक ढङ्गले लेख्नुहुन्छ, “मैले सोचेँ– एउटै घाम हुन् संसारमा जहाँ गए पनि भेटिने तर घामका दृष्टि मात्र फरक हुँदो रहेछन् भन्ने लाग्यो । एउटै घामको प्रकाश तापेकाहरूका वेशभूषा, भाषासंस्कृति, रहनसहन फरक फरक हुन्छन् । फगत घामको प्रकाश मात्रै एउटै हो । हावाको स्वाद र जूनको शीतलता एउटै हो । मान्छेहरूका विचार र विवेक मात्र फरक हुन् । संसारमा घामले दिने सबै चिज बराबर नै रहेछ । घाम छ त संसार छ, घाम नभए त्यही अन्धकार । अन्धकार चिर्न त त्यही घामले मात्र सक्छ । हामीले पनि हाम्रो मनमा त्यस्तै ज्ञानको घाम छिराउन सक्नु पर्छ जस्तो लाग्छ (अमेरिकाको घाम, पृ. २६) ।”
‘लस भेगासको रङ्गीन रात’ शीर्षकको नियात्रा एक अब्बल नियात्रा हो । लस भेगास वास्तवमा घाँसे मैदान हो । पछि यस सहरलाई जुवाको सहर पनि भनियो । यो सहरमा पुगेर नियात्राकारले मनोरञ्जनका लागि खुलेका भव्य होटेल र त्यहाँ पर्यटनबारे रोचक चर्चा गर्नुभएको छ । घुम्ने क्रममा सिलवाल संयुक्त राज्य अमेरिकाको हुबर ड्याम पुग्नुभएको छ । यो विशाल जलविद्युत् ड्यामको अवलोकन गरी उहाँले मिठो भावना पोख्नुभएको छ । नियात्राकार पुग्नुभएको छ– रुबी फल्स । रुबी फल्सको प्राकृतिक सौन्दर्य र भूमिगत गुफाहरू देखेर नियात्राकार रोमाञ्चित हुनुभएको छ । त्यस स्थानमा रहेका महादेवका आकृति, गणेश र शेषनागका आकृति देख्दा उहाँ छक्क पर्नुभएको छ । यो भावनालाई उहाँले निबन्धात्मक शैलीमा लेख्नुभएको छ ।
युनिभर्सल स्टुडियोको भव्यतालाई नजिकबाट नियाल्नुभएको छ नियात्राकारले । संसारको आकर्षण बनेको, विश्वभर अत्यधिक प्रभावशाली रहेको अनि प्रसिद्धि कमाएको हलिउड भूमिमा उहाँले रोचक अनुभव सँगाल्नुभएको छ, यसैलाई समालेर ‘किठो’ नियात्रा लेख्नुभएको छ ।
नियात्राकारले स्लोभेनियामा १० दिन घुमेर रोचक अनुभूति उतार्नुभएको छ; जुन पढ्दा पाठकलाई त्यहीँ घुमेर आएको अनुभूति हुन्छ । उहाँले युरोपको नाट्यशालामा ‘वृद्ध निर्देशक’ शीर्षकमा पनि नियात्रा लेख्नुभएको छ । निर्देशक भिन्चेयस सेन्टोच्निकलाई नियात्राकारले तन्नेरी देख्नुभएको छ । भिन्चेयत ७२ वर्षको हुनुहुन्छ तर उहाँमा रहेको तन्नेरी जोस अहिले पनि उत्तिकै रहेको मिठो प्रसङ्ग नियात्रामा आएको छ । यो नियात्राले युरोपमा कलालाई कति महत्व दिइन्छ भन्ने बुझाउँछ ।
के हिउँ पर्दै गर्दा पौडी पनि खेल्न सकिन्छ ? यस्तो रोचक दृश्य उहाँले युरोपमै देख्नुभएको छ । चिसोपन, हिउँ र पौडीको प्रसङ्ग निकै काव्यिक लाग्छ । नियात्राकारको काव्यिक व्यक्तित्व नियात्रा लेखनमा प्रयोग भएको देखिन्छ ।
‘ब्रह्मपुत्र किनारमा’ र ‘खानाको सहरमा भोकभोकै’ शीर्षकका दुई नियात्रामा तिब्बत भ्रमणको रोचक वर्णन गरिएको छ । शाकाहारी भोजनका लागि चीन होइन रहेछ भनेर नियात्राकारले लेख्नुभएको छ ।
प्रस्तुत नियात्रासङ्ग्रह सरल, सरस, सुरुचिपूर्ण छ, काव्यिकसँगै निबन्धात्मकता प्रयोगले उत्कृष्ट प्रयोग भएको छ । पढ्दै जाँदा लाग्छ, यस सङ्ग्रहले नाम चाहिँ अलि फरक राखेको भए पनि हुन्थ्यो । यसै पनि नियात्रामै अमेरिकाको घाम, युरोपको माम र तिब्बतको नाम आएकै छ । नियात्रा भनेको केवल यात्रा वर्णन मात्र होइन; यो अनुभूति, संस्कृति, ज्ञान र आत्मचिन्तनको साहित्यिक रूप पनि हो । यसले लेखक र पाठक दुवैलाई नयाँ संसारसित परिचित गराउँछ र जीवनप्रति व्यापक दृष्टिकोण दिई सोच्न बाध्य बनाउँछ । यो कुरा छविरमणको लेखनमा पनि आएकै छ ।