नेवारी समुदायभित्र मुस्लिम, क्रिस्चियन, बाहुन, क्षेत्री, राई लिम्बू, थारू, मधेशी, मैथिली सबै संस्कृति र सभ्यता भेटिन्छ । शैव, नाथ, शाक्त, वैष्णव, प्रणामी, बौद्ध, किराँत सबै संस्कृतिको गतिलो समन्वय देखिन्छ । पाली, संस्कृत, नेपाली, मैथिली, किराँत सबै भाषा मिलेर नेवाः भाषा, कला गीत संस्कृति सभ्यताको विरासत कायम छ ।
नेवार सभ्यता भन्नाले नेपाल सभ्यता हो । यसलाई नेवाः सभ्यता पनि भनिन्छ । बागमती नदीको आसपास रहेको नेपाल मण्डलको नेपाल सभ्यताको केन्द्रविन्दु हो– पशुपतिनाथ । लगभग १५ औँ शताब्दी इसापूर्वतिर ऋग्वेद लेख्दा नै लेखिएको ‘श्रीपशुपतिनाथ’ शब्द हो । पशुपतिनाथ पशु झैँ पासमा बाँधिएका सम्पूर्ण चराचर जगत्का मालिक देवताका पनि देवता महादेव नै हुन् । हिन्दु र बौद्ध सम्प्रदाय उत्पत्ति हुनुअघिकै सभ्यता हो । इन्दस (सिन्धु) सभ्यताको उत्खनन गर्दा पशुपतिनाथको सिलछाप नै भेटिएकाले पाशुपत सभ्यता इन्दस सभ्यताभन्दा धेरै पुरानो सभ्यता हो । हडप्पा मोहनजोदारो उत्खनन गर्दा सयौँ शिवलिङ्ग भेटिएका थिए भनिन्छ । यसको मतलब शिवतìव पशुपतिनाथ नेपालमा मात्रै छ र यो पाशुपत सभ्यता नै नेपाल सभ्यता हो । काठमाडौँ उपत्यकालाई नै नेपाल र यहाँका बासिन्दालाई नेवाः भनिन्छ । त्यसैले सभ्यता भनेको भूगोलको सांस्कृतिक पहिचान हो । स्थानीय ज्ञान, कला, साहित्य, संस्कृति, सङ्गीत वेशभूषा, खानपान आदि सबैको सम्मिश्रण हो । यो सभ्यताको एउटा उत्कृष्ट नमुना हो– ठेचो ।
नेवः सभ्यता
नेवाः कुनै जात, नश्ल वा रक्त समूह होइन । ‘नेवाः’ सांस्कृतिक, ऐतिहासिक, राजनीतिक, धार्मिक र भौगोलिक समन्वय हो । नेपाली पहिचान हो । नेपाली सभ्यता हो । नेवारी समुदायभित्र मुस्लिम, व्रिmस्चियन, बाहुन, क्षेत्री, राई लिम्बू, थारू, मधेशी, मैथिली सबै संस्कृति र सभ्यता भेटिन्छ । शैव, नाथ, शाक्त, वैष्णव, प्रणामी, बौद्ध, किराँत सबै संस्कृतिको गतिलो समन्वय देखिन्छ । पाली, संस्कृत, नेपाली, मैथिली, किराँत सबै भाषा मिलेर नेवाः भाषा, कला, गीत, संस्कृति, सभ्यताको विरासत कायम छ । नेवाः मङ्गोल अथवा जनजाति पनि होइन । सबैलाई अँगाल्ने, कालकुट हलाहल विष जस्तै पिइदिने, पशुपतिनाथ जस्तै हो । त्यसैले नेवाः सभ्यता नेपालको पाशुपत सभ्यताको जैविक प्रमाण हो । प्रेम, समन्वय, श्रद्धा र एकता हो । देश र राष्ट्रियताभन्दा कोही उच्च हुँदैन । सबैको समन्वयात्मक संस्कृति तथा ज्ञान नै सभ्यता हो । यही सभ्यताको सांस्कृतिक विम्ब प्रस्टसँग ठेचोमा देख्न पाइन्छ । नेवाः सभ्यता प्रशान्त महासागर झैँ विराट् छ, जेसुकैलाई पनि समेट्न सक्छ । गोपाल वंशदेखि आजसम्मका सबै अवयव समेटेर सुन्दर सांस्कृतिक माला निर्माण गर्न सक्षम सभ्यता नै नेवाः सभ्यता हो ।
पुराण कथाले जे भने पनि चोभार मञ्जुश्री बोधिसत्व वा भगवान् कृष्ण कसैले पनि खोलेको होइन । प्रकृतिको नियम अनुसार भौगर्विक कारणले गोकर्ण, पशुपतिनाथ जस्तै चोभारमा पनि पानी खुल्यो र यो क्षेत्रमा बिस्तारै बस्ती बस्न सुरु भयो । यो सुन्दर उत्पादनशील उपत्यकामा चारै दिशाबाट मानिस आउन थाले । घुमन्ते पशुपालक यहाँ आएर कृषि गर्न थाले । तालको छेउछाउ नागको बिगबिगी हुन्थ्यो । यिनीहरूले नागबाट सुरक्षा पाउन नागको पूजाआराधना प्रार्थना गर्न थाले । त्यसैले यिनीहरूलाई नाग समुदाय भन्न थालियो । यिनीहरूको नेतृत्व गाईपालक गोपालहरूले गरे । फर्पिङतिर गोपाली समुदाय अझै अस्तित्वमा छ । त्यसपछि महिषपाल आए । त्यसपछि किराँत, लिच्छवि, मल्ल, शाह आदि आए । उत्तरबाट थेप्चा नाक भएका (मङ्गोल) आए, दक्षिणबाट चुच्चा नाक भएका (आर्य) आए । त्यसपछि प्रजातन्त्र, बहुदल र गणतन्त्र आयो । यी सबै परिस्थितिमा सबै परिवर्तनलाई आत्मसात् गर्दै समन्वय गर्दै आफ्नो धर्म, संस्कृति सभ्यता र पहिचान बचाउन सफल समुदाय नै नेवाः हो । पशुपतिनाथ केन्द्रमा राखेर यसका ६४ पाशुपत ज्योतिर्लिङ्गले सुरक्षित क्षेत्र नै नेपाल मण्डल हो । नेपाल मण्डल (काठमाडौँ उपत्यका) को सबै संस्कृति सभ्यता तथा इतिहास ठेचोमा अहिले पनि देख्न पाइन्छ ।
थ्वेच्व अर्थात् ठेचो
‘थ्वेच्व’ शब्द नै अपभ्रंश भएर ठेचो भएको हो । लिच्छविकालीन लेम्ब्रटिद्रङ्ग अन्तर्गत पर्ने सुनाकोठी, ठेचो, चापागाउँ, लेले नगरको केन्द्रीय भाग हो– ठेचो । लगनखेलबाट पागाउँ दोबाटो हुँदै जाँदा पाँच किलोमिटर दक्षिणमा पर्छ ठेचो । ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१२ मा पर्ने ठेचो पशुपतिनाथभन्दा पुरानो मानिएको भृङ्गारेश्वर महादेव मन्दिर सुनाकोठीमा रहेको छ । राजा मानदेवले मानेकी इष्टदेवी मानमानेश्वरी देवीको मित नै ठेचोको नवदुर्गा गण हो । उनै नवदुर्गा देवीगणलाई शिवद्यचा भनिन्छ अर्थात् शिवको शक्ति नै नवदुर्गा हो । यहाँ शैव र शाक्त संयुक्त रूपमा देखा पर्छन् । यही सभ्य नगर ठेचोमा उनको जन्म भएको मानिन्छ ।
धेरै पोखरीहरू भएको, खुवा र तोरीको तेलका लागि प्रसिद्ध ठेचोमा माथिल्लो लाछीमा बालकुमारी मन्दिरकेन्द्रित चार वटा र तल्लो लाछीस्थित ब्रह्मायणी मन्दिरकेन्द्रित तीन वटा गुठी छन् । च्वय लाछीमा बालकुमारी देवीको तीनतले मन्दिर र क्वय लाछीमा ब्रह्मायणी देवीको दुईतले मन्दिर तथा नवदुर्गा भवानीको मन्दिर रहेको छ । त्यो समयमा भेडाको उन धेरै उत्पादन हुने देश हो– नेपाल । यसको नमुना अझै पनि ठेचोमा महिलाहरू चर्खामा भेडाको उन कातेर बसिरहेको देखिन्छ ।
हरेक वर्ष यमोरी पूर्णिमादेखि चार दिनसम्म भव्य जात्रा चल्दछ । उक्त रात बालकुमारी र नवदुर्गा देवीको मूर्ति निकालेर पिङ्गलादेवी पीठमा लगिन्छ । दोस्रो दिन सबै पिङ्गला पीठमा जान्छन्, पूजा गर्छन्, भोज खान्छन् । तेस्रो दिन खट पुनः टोल घुमाउँदै आआफ्ना मन्दिरमा लगिन्छ । भैरवलाई पनि रथारोहण गराइन्छ । बाजा बजाई नवदुर्गा नृत्य गरिन्छ । देवतालाई मन्दिरमा पुनस्र्थापना गरिन्छ । चौथो दिन सिन्दूरजात्रा गरी भव्यसँग जात्रा सम्पन्न हुन्छ । नवदुर्गा नृत्य दसैँमा पनि भव्यसँग मनाइन्छ ।
धर्महरूको स्थान भएकाले यस क्षेत्रलाई धर्मथलीपुर पनि भनिन्छ । उत्तर सुनाकोठी र दक्षिण चापागाउँ दुवै नगर लिच्छविकालीन नगर हुन् । ठेचो पनि लिच्छविकालीन नगर हो । जानकार व्यक्तिहरूका आधारमा इतिहासमा पुरानो मूल बस्ती भूक्षय–पहिरो र प्राकृतिक विपत्तिका साथै किराँत तथा लिच्छवि युद्धका कारण हालको स्थानमा सारिएको हो भनिन्छ । आफ्नो घरबार पुरानो स्थानभन्दा माथि सारिएकाले ‘छेँ च्व’ भनिएको र कालान्तरमा ‘थेच्व’– ठेचो भएको मानिन्छ । पुरानो मूल बस्ती रहेको ढल्केश्वर महादेव क्षेत्रलाई
‘देय् चा–मूल बस्ती’ भन्ने गरिन्छ । त्यसैले ठेचो जीवित नेपाली इतिहासको पाठशाला हो । यहाँ बौद्धका बिहार तथा चैत्य पनि छन् । त्यस्तै यहाँ सर्वधर्म समन्वय देखिन्छ ।
नवदुर्गा बाह्रबर्से जात्रा
नेपाली इतिहासको प्रमाण हो– ठेचो । गोपालकालीन कृष्णलीला पनि यहाँको नृत्यमा देखिन्छ । गाई अर्थात् पशुपालन युगदेखि वर्तमानसम्मका घटनाको प्रतिविम्ब यी जात्रामा प्रस्ट देखिन्छ । सामान्यतया १२ वर्षमा एक युग परिवर्तन हुन्छ । भनौँ १२ वर्षको बालक २४ वर्षको लक्का जवान हुन्छ । सबै परिवर्तन भइसकेको हुन्छ । पुरानो युगको अन्त्य र नयाँ युगको प्रारम्भ भएको हुन्छ । अन्याय र अत्याचार चरम विन्दुमा पुगेपछि सत्यको विजय सुनिश्चित हुन्छ तर ग्रहदशा बिग्रेपछि देवता पनि गुप्तवास जानु पर्छ । सधैँ खुल्ने यो भव्य पवित्र नवदुर्गा देवीको मन्दिर पनि १२ वर्षमा एक दिन बन्द हुन्छ अर्थात् १२ वर्षपछि गठेमङ्गलका दिन मन्दिरको मूलढोकामा विधिपूर्वक पूजाआजा गरी ताल्चा लगाएपछि जात्रा प्रारम्भ हुन्छ ।
जात्रा सुरु भएसँगै ठेचो बस्तीमा भोज, बिहे, व्रतबन्ध आदि सबै खुसियालीका काम बन्द हुन्छन् । पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा झुन्ड्याएर बस्न मिल्दैन । यहाँ बाह्रबर्से नवदुर्गा नाच जात्रामा पाहुना तथा परदेशीलाई बास बसाल्न मिल्दैन । राति बाहिर निस्किन मिल्दैन । यो अवधिभर सिटी, ताली, घण्ट आदि केही बजाउन पाइँदैन । इन्द्रायणी, काली, कुमारी, गणेश, बाघिनी, वाराही, ब्रह्मायणी, भैरव, महादेव, महालक्ष्मी, विष्णुदेवी, श्वेतभैरव र सिघिनी गरी नवदुर्गाका १३ वटा देवगण हुन्छन् । साउनदेखि चैतसम्म २८ वटा विभिन्न पूजापाठ र जात्रा हुन्छन् । ६० वटा त बलि मात्रै दिइन्छ । यो जात्रा भव्य हुन्छ । दिउँसो त हेर्न पाइन्छ तर राति कसैले हेर्न मिल्दैन । यो जात्रामा अरू मान्छे राति यहाँ बास बस्नै मिल्दैन ।
नरबलि परम्परा
काठमाडौँ खड्ग स्वरूपको अष्टमातृकाको तान्त्रिक भूमि हो । काठमाडौँको नरदेवीमा नरको बलि ग्रहण गर्ने देवीको प्रसिद्ध मन्दिर छ । उपत्यकामा कीर्तिपुरको बाघभैरव, खड्गसिद्धि, खोकनाको रुद्रायणी, काठमाडौँको नरदेवी, पचली भैरव, बोडेको नीलवाराही, भक्तपुरको नवदुर्गा, भद्रकाली, ललितपुरको हरिसिद्धि भवानी देवीको भव्य नाचसहितको बाह्रबर्से जात्रा मनाइन्छ । तन्त्र, यन्त्र, मन्त्र तिनै प्रकारका विधिले देवीको उपासना गरिन्छ ।
ठेचोको बाह्रबर्से नवदुर्गाको नाचसहितको जात्राको रात्रिकालीन तान्त्रिक पद्धति पनि गोप्य हुन्छ । कसैले हेर्न मिल्दैन । ठेचो नवदुर्गा नाचमा मालीबाहेक अन्यलाई प्रवेश निषेध छ तर सुनाकोठीको कुल्पी यज्ञ सम्पन्न भइसकेपछि मन्दिरसम्म ल्याउँदा सिंहिनी देवगणलाई ठेचोको न्हुच्छे गुठीका महर्जन समुदायका थकालीले बाटो देखाउँदै ल्याउने र त्यस दिन न्हुच्छे गुठीका थकाली पनि नवदुर्गा नाचमा सहभागी हुन पाउने व्यवस्था छ । हाल माली समुदायले सञ्चालन गर्ने नवदुर्गा नाच पहिले पहिले नवदुर्गा नाच न्हुच्छे गुठीका महर्जन समुदायका गुठियारले नै सञ्चालन गर्ने गर्थे ।
पहिले तान्त्रिक पद्धति अनुसार प्रत्येक बाह्रबर्से जात्रामा नरबलि दिने चलन थियो । लिच्छवि राजा अंशुवर्माभन्दा पहिलाका सूर्यवंशी राजा शिवदेवले चैत १२ गते वत्सलादेवीलाई प्रत्येक वर्ष नरबलि दिने चलन चलाएका थिए । त्यही बेला सर्वप्रथम नेपालमा नवदुर्गा पूजामा नरबलिको चलन चल्यो । नरबलि दिनुपर्दा सर्वगुण सम्पन्न ३२ लक्षणले युक्त भएको मानिस खोज्नुपर्ने चलन थियो । गुठीका सबै तान्त्रिक गुठियारले उपयुक्त पात्रको चयन गर्ने गर्थे । किंवदन्ती अनुसार त्यस्तो पात्र मन्दिरकै वरिपरि टुप्लुक्क आइपुग्ने गर्छ भनिन्छ । देवीले आफ्नो भोग आफैँ व्यवस्था गर्छिन् पनि भनिन्छ । अहिले पनि यो जात्राको पहिलो दिन राजा (राष्ट्र प्रमुख) लाई सुपारी दिन जाने चलन छ अर्थात् यी सबै पद्धति र विधिविधान राजालाई अवगत गराउने चलन थियो ।
‘नरबलिका लागि मन्दिरका वरिपरि टुप्लुक्क आइपुग्छ’ भन्ने मान्यतासम्बन्धी एउटा रोचक किंवदन्ती छ । किंवदन्ती अनुसार ठेचोका न्हुच्छे महर्जनकी असाध्यै राम्री छोरी थिइन् । सभ्य नेवार परिवार धर्मकर्म र पूजापाठ सबैमा निपुण थिइन् । उनी ३२ लक्षणयुक्त थिइन् । ती सुन्दरी युवतीले सभ्यता, कला, संस्कृति बुझेकी थिइन् । उनी खासमा असली नेवाः थिइन् । जात, धर्म, वर्ण, लिङ्गको, तेरोमेरो गर्ने साँघुरो, साम्प्रदायिक, नश्लीय, विभेदकारी चिन्तनभन्दा माथि उठिसकेकी ज्ञानी थिइन् । उनी सबै ६४ कलामा निपुण थिइन् । सबै धार्मिक, सांस्कृतिक क्रियाकलापमा सहभागिता जनाउने गर्थिन् । तिनै सुन्दरी युवतीको ललितपुर खोकनाका त्यस्तै ३२ लक्षणयुक्त पुरुषसँग प्रेम भएछ । उनी आफ्नो प्रेमलाई विवाहमा परिणत गराउन सफल भइन् ।
उनले जात्राको सबै भव्यता आफ्ना श्रीमान्लाई बताइन् । सम्पूर्ण नेवाः सभ्यताको दृष्टान्त सुनाइन् । उनको श्रीमान्लाई यस्तो गज्जब चालचलन रीतिरिवाज हेर्ने चाहना भयो । गोप्य रूपले उनी ससुराली गए । ठेचोका मठमन्दिर, चैत्य, पोखरी सबै भ्रमण गरे । आफ्नो धर्म संस्कृति सभ्यता एकता प्रेम र श्रद्धा देखेर उनी आश्चर्यचकित भए । मस्त भए मनोविज्ञानको मदहोस अवस्थामा पुगे । त्यसपछि के भयो उनलाई थाहा भएन ।
न्हुच्छे गुठियारले जात्रा अवलोकनमा आएका खोकनाका उनै पुरुषको बलि चढाए । बलि चढाइसकेपछि बलि दिइएको व्यक्ति आफ्नै ज्वाइँ भएको गुठियारले थाहा पाएछन् । आफ्नै हातबाट आफ्नै ज्वाइँको बलि चढाएछन् । साह्रै अपसोच पनि भएछ । ती ३२ लक्षण भएकी छोरीले श्राप दिइछन् । गुठियारकी छोरीले दिएको श्रापपछि नाचबाट न्हुच्छेहरू पछि हटे । श्राप दिएर उनी सती गइन् । त्यसपछि तन्त्रविद्यामा निपुण माली समुदायलाई यो नाच हस्तान्तरण गरियो भन्ने भनाइ छ ।
घुम्ने हो कि ठेचो ?
भनिन्छ, त्यसपछि बाह्रबर्से जात्रामा सिंहिनी देवगणलाई न्हुच्छे गुठीका थकालीले बाटो देखाउने चलन चल्यो । बाटो देखाउँदा सिंहिनीलाई आफ्नो गुठीमा प्रवेश गराउन सके नवदुर्गा नाच न्हुच्छे गुठियारले नै सञ्चालन गर्न पाउने किंवदन्ती पनि छ । स्थानीय समाजसेवी दिलभक्त महर्जनका अनुसार नेपालको इतिहासको जीवित पहिचान भएको कलासंस्कृति र सभ्यताले भरिएको लिच्छविकालीन सहर नै ठेचो हो । वास्तवमा ठेचो सानो तर सबै कला संस्कृति र इतिहास समेटेको पूर्ण सहर हो । भित्री रूपमा वास्तुदिशा र पञ्चतìव मिलेको दिव्य गाउँ हो । प्रेमीप्रेमिका अथवा श्रीमान् श्रीमतीबिचको प्रेमको उत्कृष्ट नमुना ठेचो हो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन भन्नुहुन्छ, “ठेचोलाई नेपालको सबै संस्कृतिको समन्वय भएको नेवाः सभ्यताको केन्द्र बनाउनु पर्छ ।”
किंवदन्ती जस्तो मानव बलि अचेल चाहिँ हुँदैन । तान्त्रिक पद्धतिको संरक्षण चाहिँ कुनै न कुनै रूपमा गर्नु पर्छ । यहाँको वर्तमान जीवनमा इतिहास झल्किन्छ । यहाँका दुवै लाक्षीलाई कलात्मक बनाइनु पर्छ । संस्कृतिलाई पर्यटकीयकरण गर्नु पर्छ । बाह्रबर्से जात्रा हेर्न आउने पर्यटकलाई राति ९ बजेअगाडि नै आफ्नो वासस्थानमा पठाउने व्यवस्था गर्नु पर्छ । अन्तर्राष्ट्रियस्तरको सरसफाइ र सुरक्षाको सुनिश्चितता हुनु पर्छ । समाजलाई अतिथ्यतासम्बन्धी अभिमुखीकरण गर्नु पर्छ । धेरै व्यापारीकरणभन्दा नेपालको इतिहासको अध्ययन केन्द्रका रूपमा अथवा पाशुपत नेवाः सभ्यताको अनुसन्धान केन्द्रकै रूपमा विकास गर्नु राम्रो हुन्छ ।