शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पुरानो ब्यागमा
दायित्वका फाइलहरू बोकी
हरेक बिहान म– सिंहदरबार छिर्छु
म– यो देशको निजामती कर्मचारी ।
टेबलमा थुप्रिएका छन्– हजारौँ सपना
फाइल बनेर
निवेदन बनेर
कति त आँसु बनेर ।
म चाहन्छु– एउटै कलमको निबले
ती सबैमा खुसी भरिदिऊँ
तर मेरो कलम
कहिले व्यवस्थाले रोक्छ
कहिले राजनीतिको अदृश्य साङ्लोले बाँधिदिन्छ ।
फेरि बाहिर सुनिन्छ– भ्रष्ट कर्मचारी !
म
त्यही कर्मचारी हुँ
जसले विकट गाउँमा सिटामोलको बाकस बोक्दाबोक्दै
आफ्नै सन्तानको बिरामी अनुहार भुल्नु पर्छ ।
मन्त्री फेरिनेबित्तिकै
सपना फेरिने डरमा बाँच्नु पर्छ ।
राजनीतिको खेलमा
केवल चेसको गोटी जस्तै
सिधा र छड्के चालहरू चालिरहनु पर्छ ।
म हेरिरहेछु–
गाउँ पुग्ने विकासको बाटो
अझै पनि कसैको आदेश कुरेर बसिरहेछ ।