• १२ साउन २०८१, शनिबार

अपाङ्गता भएकालाई सिपमूलक तालिम

blog

अमरगढी समाचारदाता

डडेलधुरा, जेठ ४ गते । अपाङ्गता भएका महिलालाई आत्मनिर्भरमुखी सिपमूलक तालिम प्रदान गरिएको छ । महिलालाई आयआर्जन तथा स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालयले यस किसिमको तालिम आयोजना गरेको सो कार्यालय प्रमुख कुलराज सोतीले जानकारी दिनुभयो । 

डडेलधुराका सात वटै पालिकाबाट २० जना अपाङ्गता भएका महिलालाई तालिम दिइएको उहाँले बताउनुभयो । सातदिने तालिममा पाँच दिन बाख्रापालन, आयआर्जन र दुई दिन नेतृत्व विकास तालिम दिइने छ । उक्त तालिममा आधुनिक खोर बनाउने तरिका, बाख्रापालन गर्न आवश्यक ज्ञान, सिप, बाख्रामा हुने रोग, सङ्क्रमण र उपचार पद्धतिबारे जानकारी गराइने छ । 

बाख्रापालन तालिमपछि उचित बजार व्यवस्थापन गर्न नेतृत्व विकाससम्बन्धी पनि तालिम दिइन लागेको उहाँको भनाइ छ । सहभागीलाई दुई बाख्रा खरिदका लागि अनुदानस्वरूप २०/२० हजार रुपियाँ उपलब्ध गरिने कार्यालय प्रमुख सोतीले बताउनुभयो । 

उक्त अनुदानको दुरुपयोग गरेमा सो रकम बराबर असुलउपर गरिने गरेर कागजपत्र बनाइने छ । तालिमको उद्घाटन गर्दै मन्त्रालयका सचिव चक्र पाण्डेयले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका र  खेलकुदका क्षेत्र प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक, महिला, बालबालिका, संस्कृति पक्षलाई समेट्न नसकेको बताउनुभयो ।