• १२ साउन २०८१, शनिबार

मदन-आश्रितका समकालीनलाई सम्मान

blog

मदन.आश्रित समकालिन नेताहरुलाई सम्मानित गर्नुहुँदै एमाले सचिव लेखराज भट्ट ।

गोरखापत्र अनलाइन

धनगढी, जेठ ३ गते । कैलालीमा पहिलो पटक नेकपा (एमाले) का ज्येष्ठ पार्टी सदस्यहरुलाई सम्मान गरिएको छ । ३१ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा एमाले कैलाली जिल्ला कमिटीले २८५ जना पुराना एमालेका नेता कार्यकर्तालाई सम्मानित गरेको हो।

उहाँहरुमध्ये अधिकांश मदन भण्डारी र जीवराज आश्रितसँगै राजनीतिमा होमिएका नेता कार्यकर्ता रहेको बताइएको छ । एमाले कैलालीका जिल्ला अध्यक्ष यज्ञ ढुङ्गानाले मदन भण्डारी र जीवराज आश्रितका समकालीनलाई सम्मान गरिएको बताउनुभयो । यस्तो काम आगामी दिनमा पनि गरिने उहाँको भनाइ छ ।  

एमाले केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले मदन भण्डारी र जीवराज आश्रितका विचार र नीतिलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । पार्टी बलियो बनाउनु आजको पहिलो दायित्व रहेको उहाँको भनाइ छ ।  

पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश ठगुन्नाले कैलालीमा पहिलो पटक नयाँ र नौलो शैलीले मदन आश्रित स्मृति दिवस मनाइएको बताउनुभयो । 

एमालेको नेता कार्यकर्ताहरूकै कारण पार्टी बलियो र लोकप्रिय रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । 

आज सम्मानित हुने मदन आश्रितका समकालीनहरूले पार्टीले आफूहरूलाई सम्झिएको भन्दै खुसी व्यक्त गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) मा सक्रिय रहेका तत्कालीन मदन भण्डारीका मित्र कुमार निरौलाले आफू पुनः एमालेमा सक्रिय हुने बताउनुभयो ।  

२०३० सालदेखि १० बर्ष मदन भण्डारीसँगका पलहरू स्मरण गरेको उहाँले स्मरण गर्नुभयो । विचारले नेकपा एस निकै सानो भएको हुँदा आफूले त्यो पार्टी छाडेको उहाँको भनाइ छ । 

केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिशंकर योगीले २०३६ सालको आन्दोलन स्मरण गर्नुभयो । मनमोहन अधिकारीले भिमदत्त पन्तको श्रीमती पार्वती पन्तलाई भेट्नु भएको, आफ्नो घरमा बसेको र भेट्न नपाएको विषय उहाँले सुनाउनुभयो । 

केन्द्रीय सल्लाहकार सदस्य महेश्वर पाठकले कैलालीमा एमालेको पुरानो गौरवमय इतिहास रहेको बताउनुभयो । मदन भण्डारी अहिलेसम्म रहेको भए यस्तो गुटबन्दी नआउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

केन्द्रीय अनुशासन आयोगका सदस्य दीपक देवकोटाले एमाले बलियो बनाउन सबै नेता कार्यकर्ताहरू सक्रिय हुन आवश्यक रहेको बताउनुभयो । पहिलो पटक  कैलाली जिल्ला कमिटीले गरेको कामले एमालेका पुराना नेता कार्यकर्ताहरू पनि उत्साहित भएको उहाँले चर्चा गर्नुभयो ।