• १२ साउन २०८१, शनिबार

सीमा क्षेत्र दार्चुलामा माेटरेबल पुल निर्माण तीव्र

blog

दार्चुलामा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेबल पुल । तस्बिर सौजन्य: सुरेन्द्र आर्य

गोकर्ण दयाल 

बैतडी, जेठ ३ गते । पश्चिमी नाका बैतडीको झुलाघाट र दार्चुलामा निर्माण हुने भनिएको मोटरेबल पुलमध्ये दार्चुलातर्फको पुल निर्माणले तीव्रता पाए पनि झुलाघाटमा भने कुनै सुरसार देखिएको छैन । दार्चुलातर्फको  मोटरेबल पुलमा स्टिल ब्रिज राख्ने काम सुरु भएको छ । 

दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम क्षेत्र जोड्न एक सय १० मिटर लम्बाइको मोटरेबल पुलको काम धमाधम भइरहेको छ । 

भारतीय कम्पनी पी एण्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले पुल निर्माण गरिरहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले जानकारी दिनुभयो । पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपैयाँको उहाँले बताउनुभयो । दार्चुलातर्फको पुल निर्माणले तीव्रता पाएपछि नेपाल भारत दुवै देशका स्थानीय खुसी भएका छन् । 

झुलाघाटमा निराशा 

झुलाघाट मोटरेबल पुलको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) समेत सार्वजनिक नहुँदा यहाँका नागरिक निराश बनेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैतडीको झुलाघाट र डडेलधुराको शीर्षमा मोटरेबल पुल निर्माण गरेर दुई देशबिच यातायात जोड्ने घोषणा गर्नुभएको थियो । 

घोषणापछि भारतीय प्राविधिक टोलीले झुलाघाट मोटरेबल पुलको सम्भाव्यताका लागि स्थलगत निरीक्षणसमेत गरेको थियो । प्राविधिक टोलीले झुलाघाटमा ५१० मिटर लामो मोटरेवल पुल बन्ने जानकारी दिएको थियो । 

झुलाघाटमा मोटरेबल पुल बन्ने कुराले नेपाल–भारत दुवै देशका नागरिक खुसी भए पनि पुलको काम अघि बढ्ने कुनै सुरसार नहुँदा निराश हुनुपरेको झुलाघाटका स्थानीय जयसिंह भाटले बताउनुभयो । 

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, झुलाघाट मोटरेवल पुल र भारतपारी जोलजीवी –टनकपुर जोड्ने सडक निर्माणको कामले गति लिन नसक्दा नेपाल–भारत दुवै देशका नागरिकले सास्ती भोग्नुपरिरहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ पञ्चेश्वर परियोजनाका कारणले नेपाल–भारत जोड्ने झुलाघाट मोटरेबल पुल  र भारतको जोलजिवीदेखि टनकपुरसम्मको १०६ किलोमिटर सडक अघि बढ्न सकेको छैन । दुवै देशका सरकारले घोषणा मात्रै गर्ने तर काम अघि बढाउन सकेको छैन । अब  पञ्चेश्वर ड्याम पनि बन्नुपर्छ भन्ने माग उठेको छ ।”