• २० जेठ २०८१, आइतबार

यार्चागुम्बा टिप्न विद्यार्थी लेकतिर

blog

लोकेन्द्र जोशी

दार्चुला, जेठ ३ गते । दार्चुला जिल्लाको उच्च हिमाली पाटनमा यार्चागुम्बा सङ्कलन कार्य सुरु भएको छ । अपि हिमाल गाउँपालिकाका अधिकांश विद्यालयका विद्यार्थी अभिभावकसँगै लेकतिर लागेका छन् । विद्यार्थी यार्चागुम्बा टिप्न लेकतिर लागेपछि विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । विद्यालय खुले पनि विद्यार्थी नआउने भएकाले बर्खे र हिउँदे बिदामा मिलान हुने गरेर विद्यालय बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक मदनराज जोशीले बताउनुभयो ।

विगतमा पालिकाले नै विद्यालय बन्द गर्ने गरेको भए पनि यो वर्षदेखि यार्चागुम्बा सङ्कलनका बेला विद्यालय बन्द गर्ने वा खुलाउने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिएको छ । “यार्चागुम्बा पाइने समयमा मात्रै विद्यालय बन्द गर्ने गरी विद्यालयले आफू अनुकूल निर्णय गरेका छन् । अधिकांश विद्यालय बन्द भइसकेका छन,” उहाँले भन्नुभयो, “बाँकी विद्यालय जेठ ४ सम्म बन्द गर्ने जानकारी प्राप्त भएको छ ।”

अपि हिमालका विद्यार्थी, शिक्षक र अभिभावक यो बेला यार्चागुम्बा टिप्न लेकतिर जाने भएकाले जेठ १५ सम्मका लागि विद्यालय बन्द गरिएको हो । अपि हिमालमा २४ वटा सामुदायिक विद्यालय रहेका छन् । सबै विद्यालय बन्द हुने बताइएको छ । अन्य स्थानीय तहका विद्यार्थीसमेत पढाइ छोडेर यार्चागुम्बा सङ्कलनका लागि लेकतिर जाने गरेका छन् । स्थानीय सर्वसाधारण तथा विद्यार्थी यार्चा सङ्कलन हुने पाटन उक्लिएपछि अधिकांश गाउँ सुनसान भएको स्थानीय बालकुमारी बोहोराले बताउनुभयो ।

अपि हिमालको लोलु, रोखापु, रिङ्देपानी, रौन्याड, सतगङ्गा, चाइमटेला, कालीढुङ्गालगायत पाटनमा यार्चागुम्बा सङ्कलन हुने गरेको छ । यार्चा टिप्न सुरु भएसँगै अपि हिमाल, ब्यास, दुहुँ, मार्मा, नौगाडलगायत क्षेत्रका बासिन्दा पाटनमा पुगेका छन् । हिमाली क्षेत्रका बासिन्दाले एक महिना सङ्कलन गरेको यार्चागुम्बा बिक्री गरेर वर्षभरिको खर्च जोहो गर्ने गरेका छन् । गाउँबाट बालबालिका र वृद्धवृद्धाबाहेक सबैले खाद्यान्न र बन्दोबस्तीका सामानसहित लेकमै बसेर यार्चा सङ्कलन गर्ने गर्छन् ।