डा. अशोक पाण्डे
प्रेमरसमा कल्पनारत पल पल
आफूखुसी जिउन नचाहने सधैँ
किन कसो हो खुल्दुली राखिरहने
पापी हो वा धर्मात्मा
खुट्याउनै गाह्रो
मेरो ईष्यालु मन ।
धकेल्न सक्छ दुःखको गहिराइमा
चिप्ल्याउन सक्छ जानी जानी
निचोर्न खोज्छु मनलाई
निचोर्ने साधनको अभाव
कल्पाउँछ, तड्पाउँछ, सताउँछ मलाई
मेरो ईष्यालु मन ।
मन त मन, मनै रहोस् तर
बेस्वादमा उथलपुथलिन्छ
बेवारिसे भई ढल्मलिन्छ
उकुसमुकुसिन्छु म
बल्झिन्छ, अल्झिन्छ अदृश्य जालमा
मेरो ईष्यालु मन ।
कसैमाथिको विश्वास धरापिलो हुन्छ
कसैको माया सरापिँदो हुन्छ
आफू आफूमै नरहने गरी
मलाई मेरो हुन नदिई
कहालिन्छ, पछारिन्छ, चिच्याउँछ यसै
मेरो ईष्यालु मन ।