भाउपन्थी
प्रत्यक्षमा उसलाई नराम्रो भन्ने कोही निस्केन । डराएर हो वा श्रद्धाभिभूत भएर हो ? तर टोलछिमेकमा ऊसँग सम्पर्क गर्ने चाहना थोरैमा होइन धेरैमा देखियो । मानिसहरू ऊबाट तर्केर हिँड्न थाले । आँखामा आँखा जुधाएर कोही नबोल्ने भए । मित्रतापूर्वक पनि र शत्रुतापूर्वक पनि । यसरी ऊभित्र एक्लो हुनुको उच्चाट मौलाउँदै गयो । मानिसहरूप्रति उसमा एक किसिमको डरले जरा फैलाउन लाग्यो ।
उसले रासन किन्ने पसलेधरिले ऊप्रति कुनै किसिमको मैत्रीभाव देखाएन । कममा पनि रासन किन्दाखेरि हुने बोलचाल पनि बन्द छ । कारण के हो ? उसले सोध्न सकेन र पसलेले पनि कारण देखाएन । पसलेले मात्र यति गथ्र्यो, भनेजतिको सामान तौलेर वा झिकेर थपक्क झोलामा राखेर हस्तान्तरण गर्न थाल्यो ।
मानिसहरूमा एकाएक यो परिवर्तन कसरी आयो ? उसले ऐनामा अनुहार राम्ररी नियाल्यो । के ऊ बढी खुसी वा उदास देखिन्छ ? बढी खुसी देखिएमा पनि मानिसहरू ऊप्रति ईष्र्यालु हुन सक्छन् । उदास देखिएमा ? उदासीनता अहिले सर्वव्यापी भएको छ । त्यसैले उसको उदासीनताले खास अर्थ राख्दैन । ऐनामा उसले अनुहार कुच्च्याएर वा खुम्च्याएर हाँसो उत्पन्न गर्ने प्रयास ग¥यो । आफैँ हाँस्नु थियो, छेउछाउ कोही थिएन त्यसैले ।
तैपनि कुनै किसिमको भित्री उछाल उसले अनुभव गरेन । नैराश्यको सीमावारि ऊ उभिएको पो छ कि ? उसलाई शङ्का लाग्यो । शङ्का यस अर्थमा, यसरी ऊ आफूलाई जोगाइराखेको छ, चरम नैराश्य हुनदेखि । यो पनि थियो, ऊ लागू औषध सेवन गर्ने व्यक्ति थिएन । जस्तो कि समाचारमा आइरहेको छ– ड्रगिस्टहरू आत्महत्यातिर बढी प्रवृत्त छन् । ऊ यतातिर सोचिरहेको छैन । एक बारको जीवन अमूल्य हुन्छ । पटकपटक उही मानिसले पुनर्जन्म लिन्छ वा लिँँदेन– ऊ सोच्दैन । मानिसले हजार पटक जन्म लिए पनि यही एउटा जन्मलाई सार्थक तुल्याउन सकेन भने पटकपटक मानिस जुनीमा जन्मे पनि कुनै अर्थ राख्दैन ।
आत्महत्याबाट ऊ मुक्त छ । यति एउटा भित्री गुण उसमा शेष छ । त्यसले उसलाई आश्वस्त पनि तुल्याउँछ कि जीवनप्रति ऊ सकारात्मक छ भलै गरिबी र अभावमा बाँचे पनि तर हास्यास्पद यो भइरहेछ, ऊसँग मानिस किन तर्केर हिँडिरहेछन् ? सडकमा हिँड्ने अपरिचित भीडको विषयमा होइन, छरछिमेकमा हिमचिम गर्ने वा हाइह्यलोमा अभिवादन साटासाट गर्नेहरू पनि एकाएक छेउ लागेर ऊसँग मात्र होइन, कसैप्रति पनि उल्लासमय अभिवादन साटासाट गरेर हिँड्न रुचाएको देखिँदैन । यसैले उसको मनमा अलिकति भए पनि एउटा बिझाउँदो आशङ्का यो पैदा गरिदियो– मानिसहरू, तात्पर्यमा उसका छिमेकी र परिचितहरू ऊसँग मात्र तर्किने गरेका होइनन् कि ? समयको मार र बोझले सबै लत्रिएर हिँड्न बाध्य पो छन् कि ? अथवा एउटा उदासीन चरित्र मानिसहरूभित्र पनपिरहेको छ ?
मानिसहरू ऊप्रति मात्र होइन, सम्पूर्णप्रति कुनै भय वा वितृष्णाले थिचिएर प्रतिक्रियाविहीन भएर आत्महहीन सोचतिर लाग्न थालेका छन् । गहिरो विश्लेषणमा उसले यस्तो पायो । विश्लेषण भन्नु पनि ऊ कुनै समाजशास्त्री होइन र पनि दैनिक जीवनको व्यवहार र मानिसहरूको सम्पर्कबाट उसले यो स्थापना विकास ग¥यो । केहीबेर यो स्थापनाले उसलाई अलिक हौस्यायो । यसरी हौस्यायो मानौँ सबैतिरको ऊ सटिक विश्लेषण गर्ने द्रष्टा हो । द्रष्टा त ऊ हुँदै हो, साथै भोक्ता पनि । द्रष्टा पनि र भोक्ता हुनुले पनि के उसमा मानिससँग स्वाभाविक बोलीव्यवहार गर्ने साहस ल्यायो त ? होइन भन्ने उसलाई लाग्यो । मानिसहरूप्रति अभैm पनि सशङ्कित हुन सकिन्छ । उसलाई देखेर मात्र होइन, उसले तिनलाई देख्छ भनेर पनि अर्थात् एकअर्कासित बोलचाल संवाद गर्नुपर्छ भनेर पनि सबैबाट सबै तर्केर हिँड्ने गरेजस्तो समय छ भन्ने संशयमा प¥यो ऊ ।
यो के एउटा हर्षोल्लासपूर्ण समयको अन्त्य थियो ? हुन सक्छ । मानिसहरूमा गहिरो खिन्नता भित्रसम्म थियो, खिल पल्टिने गरी । यो उसले अनुभूत ग¥यो । वास्तवमा ऊ पनि यही अँध्यारो समयको मारमा परेको व्यक्ति थियो । खिन्नता उसमा पनि छ र ऊ पनि मानिसहरूप्रति सशङ्कित छ, यो समयप्रति खिन्न पनि । मानिसहरू एकअर्काप्रति घृणाको व्यवहार गरिरहेका छैनन्, त्यही बिसेकको विषय थियो । ऊ यो मान्दथ्यो, मानिस अभैm पनि चुकेको छैन तर हिजो मात्रै एउटा खबर यस्तो आयो– अब युद्ध सुरु हुँदैछ जसलाई कसैले रोक्न सक्ने होइन, किनभने यो युद्धले युद्ध रोक्ने कुनै शक्ति पनि शेष राख्ने छैन । गजबको समाचार थियो त्यो । कहाँबाट कहाँ पु¥याउने समाचार ! एकदम अन्धकार गर्तमा फालेर गायब पार्ने युद्धको समाचार । ऊ यस कारण पनि खिन्न हुन सकेन, मानिसहरू यति विवेकशून्य भइसकेका छैनन् होला भन्ने विश्वासको एउटा झिल्को अभैm ऊ बोकेर हिँडिरहेको छ । तैपनि त्यो झिल्को कतिसम्म कायम रहने हो त्यो ऊ स्वयंलाई थाहा छैन । मात्र ऊ यति अनुभव गरिरहेछ, मानिसहरू ऊबाट तर्केर हिँडिरहेछन् । भलाकुसारीको आदानप्रदान हुने शब्दहरूमा आस्था र विश्वास बाँकी नरहेजस्तो । यो कसरी सम्भव छ ? उसलाई घर पुग्नु छ । अहिले ऊ बाटोमै छ र निराश पनि । बाटो ऊ सधैँ हिँडिरहने बाटो नै हो । परिचित छिमेकीहरू भेटिए तर मौन र खिन्न । अभिवादनको सवालै भएन । सधैँ हिँडिरहेको बाटो भए पनि आज एकाएक उसलाई लाग्यो– बाटोको अन्त्य छैन । हुन त बाटाहरू एक ठाउँ पुगेपछि फेरि अर्को यात्राको आरम्भ गर्न तत्पर हुने गर्छन् । उसलाई यात्रामा पनि विश्वास रहेन । मात्र कति भयो भने, फटाफट घर पुगूँ र लम्पसार परेर ओछ्यानमा पल्टूँ ।
कसैसँग नबोलूँ । थकाइ थियो उसमा । थकित ऊ हुने गर्दैनथ्यो तर आज लखतरान पर्ने गरी थकित छ र थकाइबाट अब बौराउन सकिन्न भन्ने लागिरह्यो तर घर पुग्नु थियो, नपुगी हुँदैनथ्यो, बीचबाटोबाटै ऊ भाग्न सक्दैनथ्यो किनभने घरमा उसको प्रतीक्षामा बसेका परिवारजनहरू थिए । उनीहरू उसबाट शुभ वचनको अपेक्षा राख्थे, नैराश्यको होइन । यो सोचले उसमा तत्कालका लागि केही परिवर्तन ल्याइदियो ।
परिवारजनमा जोजो थिए तिनमा उसले केही न केही उत्साहको सञ्चार गनुपर्ने दैनिक दायित्व थियो जुन उसले आफ्नो निराशावादी आवरणलाई त्यागेर पूरा गर्नुपथ्र्यो । एउटा बाध्यता हो त्यो तर त्यसले उनीहरूमा केही न केही उज्यालो छथ्र्यो । लोडसेडिङमा परेको जीवनप्रति फ्याट्टै उज्यालो आइदिएझै । घरमा पनि भय व्याप्त हुन सक्थ्यो । घरका सबै अनिष्टकारी समाचारहरूप्रति सचेत थिए । यस्तोमा उज्यालो छर्न उसले गर्न के सक्थ्यो र ? यति मात्र गर्न सक्थ्यो– घरभित्र प्रवेश गर्दा उज्यालो अनुहार लगाएर दुई शब्द यस्तो बोलोस् जसले परिवारजनलाई अँचेटेर बसेको भित्री नैराश्यको दुष्प्रभावलाई थोरै भए पनि खुकुलो पारिदेओस् ।
ऊ घरभित्र छिरेपछि उसको पछिपछि स्कुलबाट फर्केर ऊसँग दगुर्दै घरभित्र प्रवेश गरी । उसकी छोरीले मानौँ युद्ध भरिएको झोला फाल्दै उसलाई एकाएक भयभीत पार्ने प्रश्न सोधी– ‘बाबा अब हामी लुक्न कहाँ जाने ?’ उसले जुन अनुहारलाई हँसिलो पार्ने प्रयत्नसाथ घरभित्र पसेको थियो त्यो उत्निखेरै बाटो हराएर अत्तालिएको अनुहारमा परिणत भयो । उसले छोरीलाई भयमिश्रित आश्चर्यले हेर्दै आफैँलाई प्रश्न ग¥यो– ‘के युद्ध सुरु भइसक्यो ?’