• २९ माघ २०८२, बिहिबार

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

blog

सोलुखुम्बु पुग्नुभएकी प्रधानमन्त्री सुशीला कार्की। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

सोलुखुम्बु,  माघ २९ गते । प्रधानमन्त्री सुशीला कार्कीले  हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताउनुभएको छ । 

हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आइपुग्नुभएका उहाँले सोलुसहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिनुभएको हो  ।

प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन । हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।”

प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको जनाउँदै उहाँले सम्बद्ध सबै निकायलाई आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिनुभयो । 

जिल्ला सुरक्षा समितिसँगको ‘ब्रिफिङ’मा प्रधानमन्त्री कार्कीले मतदाताले कुनै पनि किसिमको डर, दबाब वा प्रभावबिना मतदान गर्न सक्ने वातावरण सिर्जना गर्न विशेष निर्देशन दिनुभएको छ । हिमाली भेगका दुर्गम मतदान केन्द्रहरूमा सुरक्षामा कुनै सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न उहाँले निर्देशन दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डे केसीले प्रस्तुत गर्नुभएको अभिलेखीय सामग्रीमार्फत जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक अवस्था तथा पहुँचसम्बन्धी विवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री कार्कीले सबै मतदान केन्द्रहरूको विशेष अवलोकन गर्दै सुरक्षा, सामग्री ढुवानी र मतपत्र सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो । 

जिल्लामा १२३ मतदान स्थल छन् । यसमा सात वटा हिमाली क्षेत्रमा पर्ने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो । विशेष गरी हिमपात, मौसम परिवर्तन र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजनासमेत तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाका मतदाताको मताधिकार सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै सोलुखुम्बु जस्ता दुर्गम जिल्लामा पनि मतदाताले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताउनुभयो । रासस