रवीन्द्र उप्रेती
बर्दिबास, माघ २९ गते । महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत मडाहा पुल नजिक बिहीबार अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना नाबालक र आठ जना महिला छन् ।
जिल्ला ट्राफिक कार्यालय बर्दिबासका निरीक्षक बाबुराम कार्कीका अनुसार कटारीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ४ ख ५७६ नम्बरको बस सडकदेखि करिब १० फिट तल खसेको हो । बसमा २७ जना यात्रु सवार रहेको जनाइएको छ ।
दुर्घटना लगत्तै घटनास्थल पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी बर्दिबास–१ स्थित शुभ स्वस्तिक अस्पताल पुर्याएको थियो । सामान्य चोट लागेका केही घाइते उपचारपछि घर फर्किएको निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
अस्पतालका व्यवस्थापक दीपेन्द्र ढकालका अनुसार घाइतेहरूको टाउको, हातखुट्टा र छातीमा चोट लागेको छ । घाइतेहरू अधिकांश कटारी, सर्लाही र धनुषाका रहेका छन् । गुडिरहेको अवस्थामा बसको स्टेरिङ अकस्मात् फेल हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।