• १९ असार २०८१, बुधबार

निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, वैशाख १० गते ।  आसन्न स्थानीय तह निर्वाचनका लागि सिन्धुली जिल्लामा बिहीबार नौवटै पालिकामा स्थानीय तह निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकाको सिन्धुलीमाढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य आठवटा पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुधौली नगरपालिकाको दुधौली, तीनपाटन गाउँपालिकाको चकमके, फिक्कल गाउँपालिकाको खाङसाङबेँसी, गोलन्जोर गाउँपालिकाको ग्वाल्टार, घ्याङलेख गाउँपालिकाको बस्तीपुर, सुनकोसी गाउँपालिकाको रामटार, मरिण गाउँपालिकाको कपिलाकोट र हरिहरपुरगढी गाउँपालिकाको झनझनेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । स्थानीय तह निर्वाचनको प्रक्रियाअन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । मुख्य निर्वाचन अधिकृत सापकोटाले निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति व्यवस्थापन भइसकेको र नौ जना कर्मचारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन प्रयोजनका लागि सिन्धुली जिल्लामा एक हजार ३३८ कर्मचारी खटिनेछन् ।”

नुवाकोट समाचारदाताका अनुसार स्थानीय तह निर्वाचनका लागि नुवाकोटको १२ वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विदुरमा एक कार्यक्रमबीच जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला अदालत नुवाकोटका न्यायाधीश उमेशप्रसाद लुइँटेल र प्रमुख जिल्ला अधिकारी नारायण रिसालले कार्यालय उद्घाटन गर्नुभएको थियो । लुइँटेलले कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थाको अनुगमन गर्ने बताउनुभयो ।

बनेपा समाचारदाताका अनुसार स्थानीय तहको निर्वाचनको तयारीका लागि काभ्रेको १३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि जिल्लाको धुलिखेलमा रहेको शिक्षा विकास तालिम केन्द्रपरिसरमा मुख्य तथा धुलिखेल नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले स्थानीय तहको निर्वाचनका लागि जिल्लाको सबै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले काभ्रे जिल्लामा १८९ मतदान स्थल, ३८१ वटा मतदान केन्द्र रहेको जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत भट्टराईले काभ्रेमा एक हजारभन्दा बढी मतदाता भएका ३७ वटा र ५०० भन्दा बढी एक हजारभन्दा कम मतदाता भएको ३४२ वटा मतदान केन्द्र रहेको बताउनुभयो । काभ्रेमा तीन लाख तीन हजार ५६० मतदाता रहेका छन् ।