• १९ असार २०८१, बुधबार

पीडा छ तर पोख्न सक्दैनौं : ज्येष्ठ नागरिक

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, बैशाख ९ गते । हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगमा रहेका ज्येष्ठ नगारिकले परिवारका सदस्यबाट हेला तथा यातनाको शिकार भएको भएपनि आफूहरु बोल्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको आयोजामा आज याँ भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले त्यस्तो बताउनुभयो । 

ज्येष्ठ नगारिकको अधिकार सम्बन्धमा स्थानीय सरकारका नीति योजना, कार्यक्रम र बजेट कायान्वयन अवस्थाबारे सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रममा रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सहभागी ज्येष्ठ नगारिकले आफ्नो गुनासो राख्नुभयो । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म भएको कार्यक्रममा  मानवअधिकार आयोगका अधिकृत कल्पना नेपालको नेतृत्वको टोलीले ज्येष्ठ नागरिकको विषयमा स्थलगत अध्ययन गरेको थियो ।

स्थलगत छलफलको क्रममा रघुगंगा गाउँपालिका–३ मौवाफाँट क्षेत्रमा ज्येष्ठ नागरिकले आफूलाई भएको पीडा, परिवारले गरेको व्यवहार सहन नसक्नेखालको भए पनि पुनः त्यही स्थानमा बस्नु पर्ने बाध्यता रहेको उहाँहरुको गुनासो छ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेद्र केसीले ज्येष्ठ नागरिकको सवालमा समाजमा जागरण गरिनु पर्ने बताउनुभयो । आफैमा परिवर्तन नभएसम्म कुनै पनि हालतमा बाबाआमाको सम्मान र उचित हेरचाहमा परिवार लाग्ने केसीको भनाई छ । 

जिल्ला न्यायाधीश तेजनारायण पौडेलले ज्येष्ठ नागरिकको पीडा परिवारसँगै जोडिएकाले बाहिर नआउने गरेको बताउनुभयो । न्यायाधीश पौडेलले परिवारसँगै बिबाद हुने भएकाले त्यस्ता समस्याहरु ज्येष्ठ नागरिकले नै बाहिर ल्याउन नचाहेको बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बेनी नगरपालिका क्षेत्रमा ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिएको बताउनुभयो । स्वास्थ्य परीक्षणका लागि उचित समन्वय गर्नुका साथै सम्मान एवम् मौसमअनुसार न्यानो कपडा वितरण गर्ने गरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगकी अधिकृत कल्पना नेपालले ज्येष्ठ नागरिकको उचित हेरचाहमा कमि आएको बताउनुभयो । अधिकृत नेपालले नेपालको संविधानको धारा १६ मा उल्लेख भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट ज्येष्ठ नगारिक बञ्चित भएको स्थलगत अध्ययनबाट देखिएको बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा, रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, मंगला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगाना, प्रहरी निरीक्षक सन्तोष पौडेल इन्सेक प्रतिनिधि अमृत बास्कुने, स्वास्थ्य कार्यालय, स्वास्थ्य बिमा बोर्ड, बेनी अस्पताल लगायतका सरोकारवाला निकायका प्रमुख प्रतिनिधि एवम् ज्येष्ठ नागरिकको उपस्थिति थियो ।