• १९ असार २०८१, बुधबार

विस्थापित भए भरिया

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, वैशाख ९ गते । सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा सडकको पहँुच पुगेसँगै वर्षौंदेखि भारी बोकेर गुजारा चलाउँदै आएका भरिया पेसाबाट विस्थापित भएका छन् ।गाउँमा सडकको पहुँच पुगेसँगै भरियाले बोक्ने सामान सवारीसाधनले बोक्न थालेपछि भरिया पेसाबाट विस्थापित भएका हुन् । एक दशक अघिसम्म प्रशस्त मात्रामा भेटिने भरिया अहिले देख्नै मुस्किल पर्ने कमलामाई नगरपालिका–३ निवासी व्यापारी उत्तरबहादुर स्याङ्बा बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बीपी राजमार्ग बन्नुअघि मेरो पसलका लागि आवश्यक सामान दैनिक रूपमा चार÷पाँच जना भरियाले सदरमुकाम सिन्धुलीमाढीबाट बोकेर ल्याउँथे । अहिले बीपी राजमार्गको सोलभन्ज्याङदेखि मझुवासम्म सडक निर्माण भई यातायात सञ्चालन भएपछि भरियाले बोक्ने सामान गाडीले ढुवानी गर्दै आएको छ ।”

गाडीले सामान बोक्दा ढुवानी ज्याला पनि सस्तो पर्ने र सामान ढुवानी चाँडै हुने भएकाले भरिया पेसाबाट विस्थापित भएको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “नत्र चार÷पाँच जना भरियालाई मेरो पसलको सामान बोक्ने मासिक रोजगारीजस्तै थियो ।”

त्यस्तै, कमलामाई नगरपालिका–४ ढुङग्रेबासनिवासी सन्तोष दाहाल बीपी राजमार्ग निर्माण हुनुअघि सिन्धुलीमाढीबाट रामेछाप जिल्ला सामान ढुवानी गर्ने भरियाको थेगी नसक्नु चाप हुने स्मरण गर्नुहुन्छ । उहाँका अनुसार सिन्धुलीमाढीदेखि खुर्कोट हुँदै मन्थलीसम्म सडकै निर्माण भएको थिएन । रामेछापको अन्नपात, निर्माणसामग्री भरियामार्फत ढुवानी गरी सबै सिन्धुलीले थेगेको थियो ।

सुनकोसी गाउँपालिका–७ खुर्कोटनिवासी ३५ वर्षीय वीरबहादुर माझी सुनकोसीमा पक्की पुल बनेपछि अहिले बेरोजगार जीवन बिताइरहेको बताउनुहुन्छ । खुर्कोट–मन्थली सडकअन्तर्गत सुनकोसी नदीमा पक्की पुल बनेपछि आफूजस्तै सयौँ मजदुर यतिखेर फुर्सदिलो जीवन बिताइरहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “सुनकोसी नदीमा पक्की पुल नबन्दा झोलुङ्गेपुलबाट वारिको सामान पारि पु¥याउँदा भरियाको कमाइ पनि राम्रै थियो । दैनिक हजार रुपियाँभन्दा माथि नै कमाइ हुन्थ्यो । 

वारिको सामान पारि पु-याउन भरियाबीच हारालुछ हुन्थ्यो ।” पुल बनेर आवतजावत गर्न सजिलो भए पनि अरू पेसा गर्न पुँजी नभएका भरियाको रोजगारी भने खोसिएको उहाँको गुनासो छ । 

विगतमा बीपी राजमार्ग हुँदै तराईबाट रामेछाप लैजान ट्रकमा ल्याएको खाद्यान्न खुर्कोटमा झोलुङ्गेपुल नजिकैको बगरमा झारेपछि सुनकोसी नदीपारि पु¥याउन मजदुरबीच तँछाडमछाड नै हुने गथ्र्याे । 

खाद्यान्न, निर्माण सामग्रीलगायतका सामान सुनकोसीपारि पु-याउँदा मजदुरले प्रतिबोरा तीसदेखि चालीस रुपियाँसम्म पाउँथे । विद्यालय छुट्टी भएको समयमा विद्यार्थीसमेत भारी बोकेर पैसा कमाउँथे । 

त्यसो त स्थानीय तहमा जनप्रतिनिधि आएसँगै अधिकांश ग्रामीण बस्तीमा हिउँदको समयमा सञ्चालन हुने कच्ची मोटरबाटो निर्माण भएको छ । ती सडकमा यातायातका साधन वर्षात्को मौसममा चार महिना सञ्चालन नभए पनि हिउँदमा राम्रोसँग सञ्चालन हुने कमलामाई नगरपालिका–३ का वडाध्यक्ष खड्गप्रसाद चौलागाईं बताउनुहुन्छ ।

सडक विभागले विशेष प्राथमिकतामा राखेर करिब १८ करोड रुपियाँको लागतमा सुनकोसी नदीमा पक्की पुल साढे चार वर्ष लगाएर निर्माण गरेको हो । पुल निर्माणसँगै हिमाली जिल्ला दोलखाको तराईका जिल्लासँग सिधा सम्पर्क जोडिएको छ ।