• १७ असार २०८१, सोमबार

किवीले पराई देश विर्सायो मान्मबासीलाई

blog

दैलेखको भैरवी गाउँपालिका ७ मान्ममा आफ्नो बारीमा लगाएको किवीको बेर्ना गोडमेल गर्दै कृषक रत्नप्रसाद कडेल । तस्बिर : विशाल सुनार, दुल्लू

विशाल सुनार

दैलेख (दुल्लू) वैशाख, ८ गते ।  भैरवीगाउँपालिका–७ मान्म गाउँका बासिन्दा जीवनयापनको लागि गाउँ नै खाली गरेर मान्मबासी भारत जान्थे । भारतमै ६ महिना मजदुरी गरेर परिवारलाई जिउ ढाक्ने एकसरो कपडा र केही रकम ल्याएर गाउँ फर्किन्थे । त्यतिबेला गाउँ पुरुषविहिन हुन्थ्यो । न्वारन, व्रतबन्ध, विवाह, मलामी एवं सामाजिक काम महिलाले गर्नु पर्ने बाध्यता थियो । 

तीन बर्ष यता मान्मगाउँको दिनचार्य सँगै पहिचान समेत बदलिएको छ । दोलखाको नासो ल्याएको किवीको बोटले मान्मबासीलाई किवी खेतीतिर तानेको छ । जीवनयापनका लागि मुग्लान जाने मान्मबासी आजभोली गाउमै बसी आम्दानी गर्न थालेका छन् । गाउँमा आम्दानी हुन थालेपछि पुरुषले मुग्लान जान छोडेका हुन् । गाउँमै तरकारी र किवी खेतीबाट आम्दानी गर्न थालेका छन् । गहुँबारीले गराहराभरा भएपनि भन्ने जसो उत्पादन हुदैन थियो । जीवनयापनका लागि मान्म बासी मजदुरीका लागि मुग्लान जानु बाहेक अर्को विकल्प थिएन ।

चार बर्षअघि मान्म गाउँका विष्णुप्रसाद कँडेल किवीखेतीको तालिम लिन दोलखा पग्नु भयो । पाँच दिनको तालिम सकाएर किवीका ९ बोट सँगै लिएर गाउँ फर्किनु भयो । त्यही किवीको बोटबाट सुरु गरिएको किवी खेती आजभोली गाँउ भरि फैलिएको छ । गहुँबाली लगाउने ठाउँमा किवीखेती गर्न थालेका छन् । किवी खेतीले आम्दानी बढाउनुका साथै मुग्लान जाने मान्मबासीलाई गाउँमै बस्न बाध्यता बनाएको विष्णुप्रसाद कँडेलले बताउनुभयो ।

‘पहिले आम्दानी हुदैन भनेर गाउँका पुरुष देश जाने गर्थे  । किवीले राम्रो उत्पादन दिएर आम्दानी दिएपछि पराई देश विरानो बन्दै गएको छ’, उहाँले भन्नुभयो ।  मजदुरीका लागि पराईदेश जाने मात्र होइनन् किवी खेतीले राम्रो उत्पादन दिएपछि शिक्षक पेशा छोडेर सोही ठाउँका राजेश कँडेलले पनि किवी खेती सुरु गर्नुभएको छ । ‘शिक्षक पेशाभन्दा किवी खेती नै राम्रो लागेर मैले जागिर छोडेर फर्ममा किविको वेर्ना बनाएर आम्दानी गरेको छु । सबै किसान सँग भेटघाट हुन्छ,शिक्षक पेशा भन्दा मलाई कृषि पेशा नै राम्रो लागेको छ,’ उहाँले भन्नुभयो ।  

मान्मबासीका लागि नौलो फल बनेको किवी आजभोली आर्कषण मात्र नभएर आम्दानीको राम्रो स्रोत वन्न पुगेको छ । मान्म गाउँमा किवी नलगाएको घर भेट्टाउन अहिले मुस्किल पर्छ ।  एक जना किसानले बारीमा ५० देखि ६ सय किवीका विरुवा रोपेका छन् । गाँउका २२ घरधुरीहरुले करिव ३ सय रोपनी क्षेत्रफलमा किवी खेती सुरु गरेका छन् । किवी सँगै ओखर, एभोगाडो, कटुस, अलैचीका नर्सरी समेत राखेर व्यवसायमा होमिएका छन् । 

कृषि विकास कार्यालय दैलेखले दिएको जानकारी अनुसार संघीय सरकारको सशर्त  अनुदान कार्यक्रम अन्र्तगत दैलेखका ९ वटा स्थानीय तहका १३ वटा स्थानमा १८ हेक्टर क्षेत्रफलमा किवी खेतीलाई प्रवद्र्धन गरिएको छ । कृषि कार्यालय मार्फत थप अनुदानको कार्यक्रम समेत लागू गरिएको कृषि कार्यालय दैलेखका नरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।  

दैलेखको हावापानी किवी उत्पादनको लागि उपयुक्त मानिन्छ । बजारीकरणको लागि दैलेख बजार, सुर्खेत, नेपालगन्ज हुँदै भारतको लखनाउसम्म किवीको बजार छ । उपयूक्त हावापानी र बजारको सम्भावना भएको किवी खेती गर्ने किसानहरुलाई क्षमताअभिवृद्धिको तालिम सहित स्रोत साधन सम्पन्न गराउन सके आम्दानी र जीवनयापनका लागि थप सहयोग पुग्ने देखिन्छ ।